गुआम द्वीपको सुरक्षामा अमेरिकी तयारी

Ram prashad Acharyaरामप्रसाद आचार्य

 

उत्तर कोरियाविरुद्ध लक्षित गर्दै अमेरिका र दक्षिण कोरियाले दसदिने संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यो अभ्यासलाई उत्तर कोरियाली नेतृत्वले आफूविरुद्धको युद्धको तयारी भनेको छ । अमेरिका र उत्तर कोरियाबीच चर्को वाकयुद्ध जारी रहेका बेला गरिएको यो संयुक्त सैन्य अभ्यासलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले प्रशान्त महासागरस्थित अमेरिकी द्वीप गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरेको घोषणा गरेपछि क्रुद्ध हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुआममा आक्रमण गरे उत्तर कोरियाले इतिहासकै ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ । दुई नेताबीच वाकयुद्ध चर्केका बेला चिनियाँ राष्ट्रपति सि जिनपिङले युद्धको मानसिकता त्याग गरी वार्ताद्वारा समस्याको निकास निकाल्न र कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त गर्न दुवैलाई आग्रह गर्नुभएको छ । दुईवटा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि हौसिएको उत्तर कोरियाले गुआममा आक्रमण गर्ने चेतावनी किन दियो ? के छ गुआमको रहस्य ? सबैका लागि चासोको विषय बनेको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अगस्त महिनामा गुआममा आक्रमण गर्ने सैन्य तयारी भएको समाचार सार्वजनिक गरेपछि यस विषयले विश्वव्यापी चर्चा पाएको छ । प्रशान्त महासागरमा रहेको यो द्वीप अमेरिकी नौसेनाको केन्द्रका रूपमा विकास गरिएको छ । स्पेनमा कार्यरत पोर्चुगलका खोजकर्ता फर्डिनेन्ड मजेलनले सन् १५२५ मा यो द्वीप पत्ता लगाएका थिए । उनले पत्ता लगाएको ४० वर्षपछि सन् १५६५ मा स्पेनले उक्त द्वीप आफ्नो भएको दाबी ग¥यो । सन् १८९८ मा अमेरिका र स्पेनबीच युद्ध भयो । यो युद्धमा अमेरिकाले स्पेनलाई हरायो र पेरिस सन्धिअन्तर्गत गुआममाथि अमेरिकाले अधिपत्य जमायो ।
दोस्रो विश्वयुद्धमा जापानले सन् १९४१ मा प्रशान्त महासागरमा रहेको अमेरिकी नौसैनिक अखडा पर्ल हार्वरमा आक्रमण गरेपछि केही समय गुआम जापानको अधीनमा गयो । सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले आणविक आक्रमण गरेपछि जापानले अमेरिकासमक्ष आत्मसमर्पण ग¥यो र दोस्रो विश्वयुद्ध समाप्त भयो । यो युद्ध समाप्तिसँगसँगैै गुआममा पुनः अमेरिकाको नियन्त्रण कायम भयो । सन् १९५० मा आधिकारिक रूपमा यो भूमि अमेरिकी क्षेत्रका रूपमा आयो जुन अहिले पनि अमेरिकाको डिपार्टमेन्ट अफ नेभीअन्तर्गत रहेको छ । सन् १९५० मा अमेरिकी संसद्ले ‘अर्गानिक एक्ट अफ गुआम’ कानुन पारित गरेपछि त्यहाँ बसोबास गर्ने मानिसले अमेरिकी नागरिकता पाए । त्यहाँ जन्मने बालबालिकाले जन्मसिद्ध अमेरिकी नागरिकता पाउँछन् तर पनि त्यहाँका नागरिकले अहिलेसम्म अमेरिकी राष्ट्रपति चुनावमा भोट हाल्न पाएका छैनन् । सन् १९७० मा गुआमले पहिलोपटक गभर्नर चुनेको थियो । सन् १९७२ यता अमेरिकी संसद्मा गुआमका एकजना प्रतिनिधि रहने गरेका छन् तर पनि उनले भोट दिन पाउँदैनन् ।
मूलतः अमेरिकाले गुआमलाई रणनीतिक हिसाबले नौसैनिक आधार शिविर बनाएको छ । अमेरिकी हवाई सेनाको एन्डरसन एअरफोर्स बेस यो द्वीपको उत्तरपूर्वमा रहेको छ । त्यहाँ रहेको एअरफोर्स बेसमा बी ५२ बमवर्षक र लडाकु विमान तैनाथ छन् । साथै त्यहाँ परमाणु शक्तियुक्त युद्धपोत तैनाथ गरिएको छ । करिब सात हजार अमेरिकी सैनिक आफ्नो परिवारका साथ त्यहाँ बसोबास गरेका छन् । ५४४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गुआमको जनसङ्ख्या एक लाख ६२ हजार ७४२ छ । यसको राजधानी हागान्ता हो । चार हजार वर्षदेखि बसोबास रहेको यो द्वीपको पर्यटकीय क्षेत्र ट्युमोन अन्यत्रै आकर्षक छ, जहाँ बर्सेनि हजारौँ पर्यटक घुम्न जाने गर्छन् । गुआम उत्तर कोरियाको नजिक रहेको अमेरिकी इलाका हो । उत्तर कोरियाबाट गुआमको दूरी तीन हजार ४२७ किलोमिटर रहेको छ, जुन हवाई र गुआमबीचको आधा दूरी हो । गुआम र हवाईबीचको दूरी छ हजार ३७३ किलोमिटर छ ।
गुआम बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिसहित प्राकृतिक विधितायुक्त द्वीप हो । त्यहाँ ४० प्रतिशत जनसङ्ख्या चमोरो जातिको छ, जुन त्यहाँका स्थायी आदिवासी हुन् । यसको अतिरिक्त त्यहाँको जनसङ्ख्याको २४ प्रतिशत फिलिपिनोको छ भने १८ प्रतिशत जनसङ्ख्या विभिन्न देशका नागरिकको बसोबासबाट बनेको छ । त्यहाँ ७ प्रतिशत नागरिक गोरो वर्णका नागरिकले ओगटेका छन् भने १० प्रतिशत आप्रवासी छन् । त्यहाँको आधिकारिक भाषा अङ्गे्रजी र चमोरो हो । गुआम पहिलो अमेरिकी क्षेत्र हो, जहाँ समलिङ्गी विवाहलाई वैध मानिएको छ । सन् २०१५ को जुन ५ मा गुआमलाई पहिलो अमेरिकी क्षेत्र बनाइयो र जहाँ समलिङ्गी विवाहलाई वैधानिकता दिइयो । गुआममा घोषणा भएको १५ दिनपछि नै अमेरिकाको सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अमेरिकाभरि मान्यता दियो ।
विविधतायुक्त यो द्वीपमा मिलेर बसेका विभिन्न समुदायका बासिन्दाहरू अहिले अशान्त र आक्रान्त छन् । उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरेपछि उनीहरू त्रसित भएका हुन् । तर, अमेरिकी सरकारले त्यहाँ उत्तर कोरियाले कुनै हालतमा आक्रमण गर्न नसक्ने भन्दै उपयुुक्त सुरक्षा प्रबन्ध मिलाइएको दाबी गरेको छ । उत्तर कोरियाबाट क्षेप्यास्त्र आक्रमण भए त्यसलाई जसरी पनि विफल पारिने भन्दै राष्ट्रपति ट्रम्पले ढुक्क भएर बस्न गुआमवासीलाई आश्वासन दिनुभएको छ ।
सामरिक र रणनीतिक हिसाबले अत्यन्तै महŒवपूर्ण यो द्वीपमा आक्रमण गर्ने धम्की उत्तर कोरियाले यसअघि पनि दिँदै आएको हो तर आक्रमण गर्ने हिम्मत गरेको छैन । यदि यो द्वीपमा उत्तर कोरियाले आक्रमण ग¥यो भने अमेरिकाले तत्काल प्रत्याक्रमण गर्ने निश्चित छ । यथास्थितिमा अमेरिकी प्रत्याक्रमणसामु उत्तर कोरिया टिक्न सक्ने अवस्था देखिँदैन । उत्तर कोरियाले अमेरिकासँग वाकयुद्ध गरे पनि सैन्ययुद्ध गर्न गाह्रो छ । अमेरिकासँग निहुँ खोजेर सैन्ययुद्धमा जानु भनेको उत्तर कोरियाले अकल्पनीय क्षति भोग्नु हो । सन् १९५०–५३ को कोरियाली युद्धमा तहसनहस भएको कोरियाले फेरि युद्धको बाटोमा जानु भनेको त्यसयता अहिलेसम्म गरेको विकास र प्रगतिलाई फेरि सहसनहस पार्नु मात्र हो । यस्तो बेला युद्ध होइन वार्ताद्वारा नै समस्याको निकास खोज्नुपर्छ । युद्ध समस्याको समाधान होइन विनासको कारणमात्र बन्नेछ ।
विश्व समुदायको आग्रहलाई बेवास्ता गर्दै दुई दुईटा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरी अमेरिकी सुरक्षालाई समेत चुनौती दिएको उत्तर कोरिया पछिल्ला दिनमा झन् एक्लिँदै छ । उसलाई सहयोग गर्दै आएका छिमेकी चीन र रुससमेत विपक्षमा उभिएपछि उत्तर कोरिया अफ्यारोमा परेको छ । उत्तर कोरियाली राष्ट्रपति किमले प्रशान्त महासागरस्थित गुआममा आक्रमण तयारी गरेको समाचार बाहिर आएपछि अमेरिका निकै क्रुद्ध बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आणविक आक्रमणको धम्की नदिन र आफ्नो आणविक कार्यक्रम तत्काल बन्द गर्न उत्तर कोरियाली नेतृत्वलाई पुनः चेतावनी दिनुभएको छ । उहाँले अब पनि उत्तर कोरिया आणविक कार्यक्रम र धम्की बन्द नगरे सैन्य कारबाही गर्ने सङ्केत गर्नुभएको छ । अमेरिकाले आवश्यक ठानेमा कुनै पनि बेला उत्तर कोरियामाथि आक्रमण गर्नसक्ने तयारी गरेको छ । अहिले अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरे उत्तर कोरिया एक्लो हुनेछ । उसको पक्षमा न चीन न रुसले सहयोग गर्ने अवस्था छ ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा प्रस्ताव पारित गर्दै उत्तर कोरियामाथि थप नाकाबन्दी गर्ने निर्णय गरेको छ । अमेरिकाले ल्याएको यो प्रस्तावलाई चीन र रुसले पनि समर्थन गरेका छन् । अब अमेरिकाले चाहेमा उत्तर कोरियामाथि सैन्य कारबाही गर्न यो प्रस्ताव पारितसँगसँगै बाटो खुलेको छ । यस्तो अवस्थामा विश्वकै सबैभन्दा शक्तिशाली अमेरिकासित एउटा सानो मुलुक उत्तर कोरियाले निहुँ खोज्नु, युद्ध गर्न खोज्नु भनेको आफैँ विनाश हुने काममात्र हो । यो विनाशको बाटोमा नलाग्नु नै उत्तर कोरियाको हितमा हुनेछ ।
अहिले छिमेकी दक्षिण कोरिया र जापान दुवै मुलुक उत्तर कोरियाको धम्कीका कारण शान्ति र सुरक्षाको खोजीमा छन् । आर्थिक समृद्धिले शिखर चुमे पनि यी मुलुकको सुरक्षा र शान्ति कमजोर छ । यो नै दुवै मुलुकका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ । छिमेकी उत्तर कोरियासितको बिग्रँदो सम्बन्ध नै असुरक्षाको प्रमुख कारण बनेको छ । उत्तर कोरियाले आणविक युद्धसम्मको तयारी गरेको छ, जसले गर्दा आणविक युद्ध हुन सक्ने खतरा बढेका छ । दक्षिण कोरिया र जापानको सुरक्षामा अमेरिकी सहयोग महŒवपूर्ण छ । दक्षिण कोरियामा १९औँ राष्ट्रपतिका रूपमा मुन जाय इनको आगमन भएको छ । उहाँले उत्तर कोरियासित शान्तिवार्ताको प्रस्ताव राखी कोरिया प्रायद्विपमा बढ्दो तनाव घटाउने प्रयास त गर्नुभयो तर उहाँको वार्ता प्रस्ताव उत्तर कोरियाले अस्वीकार गरिदियो । उत्तर कोरियाको पछिल्लो आक्रामक व्यवहारले कोरिया प्रायद्वीप थप अशान्त बनेको हो ।

 

 प्रकाशित मिति: २०७४/५/८

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना