‘भ्रमण पुराना समझदारी कार्यान्वयन गर्न केन्द्रित हुनेछ’

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमण (भदौ ७–११ गते) को क्रममा यतिबेला नयाँदिल्लीमा हुनुहुन्छ । छिमेकी मुलुक भारतसित द्विपक्षीय सम्बन्धका अनेक आयाम अबिरल रूपमा आदिकालदेखि नै गतिशील छन् । यदाकदा आउने कतिपय समस्या उच्च राजनीतिक तहबाटै निरूपण हुँदै जाने ऐतिहासिक परम्परा छ । बाढीको प्रकोप तथा सीमामा डुबानको समस्या ताजै रहेको सन्दर्भमा प्रधानमन्त्री देउवाको यो भ्रमणले त्यस्ता कतिपय मामिलाको दीर्घकालीन समाधानको उच्च अपेक्षा राखेको छ । प्रधानमन्त्रीको नयाँदिल्ली भ्रमण सफल बनाउन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले निकै मिहिनेत गरिरहनुभएको छ । द्विपक्षीय सम्बन्धका विविध आयाम, अवसर र चुनौतीलगायतका परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई मुख्य विषयवस्तु बनाउँदै राजदूत उपाध्यायसँग गोरखापत्रका प्रमुख समाचारदाता जुनारबाबु बस्नेतले लिनुभएको अन्तर्वार्ता :Dip-Kumar-upadhyaya


प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीय भ्रमण अहिले नयाँदिल्लीमा हुनुहुन्छ । यो भ्रमणका तयारीका लागि यहाँले धेरै मिहिनेत गर्नुभएको छ । नेपाल–भारत सम्बन्धको कुन चरणमा यो भ्रमण हुँदै छ ? सविस्तार गरिदिनुहुन्छ कि ?
यो भ्रमणको तयारी दुवैतर्फबाट भएको छ । व्यक्तिगत रूपमा कसै एकजनाले तयारी गर्ने होइन । देशको प्रधानमन्त्रीको राजकीय भ्रमणको सफलताका लागि सबैले प्रयास गर्नुपर्छ, गर्नुभएको छ । यो प्रयास सराहनीय छ । नेपाल र भारतबीच हुने उच्च तहको यस प्रकारको भ्रमणले आपसी सम्बन्धलाई बलियो बनाउँछ । दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउने छ । नेपाल र भारत सदीयौँदेखि दुई असल छिमेकी मुुलुक हुन् । पारस्परिक सहयोगात्मक सम्बन्ध छ । यस्ता भ्रमणले पारस्परिक सम्बन्धका नयाँ आयाम पनि थप्ने छ ।

नेपाल र भारतबीचको सम्बन्धका आयाम के कस्ता रहेको छन् ? यो भ्रमणले ती आयामलाई के कसरी नयाँ दिशा दिने छ ?
नेपाल र भारतबीचको सम्बन्धका व्यापक आयाम रहेका छन् । हाम्रा सम्बन्धमा भूगोलको महŒव छ । इतिहासको आफ्नै विशिष्टता छ । इतिहासको लामो परम्परा छ । आपसमा मिल्दो संस्कृति छ । धर्म र परम्पराले दुवै देशका जनतालाई जोडेको छ । अतः हाम्रा सम्बन्ध भूगोल, इतिहास, संस्कृति, सभ्यता, धर्म र परम्पराले निर्देशित गरेको छ । हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा यो चौथो राजकीय भ्रमण भएकोले विगतका समझदारी, तिनको कार्यान्वयन गतिलाई तीव्रता दिन बल पुग्ने छ । विगतका समझदारी र तिनको कार्यान्वयनले नेपालको आर्थिक, सामाजिक विकासमा ठूलो गति दिन सक्ने छ । यतिमात्र होइन, नेपालमा दिगो शान्ति, स्थिरता र आर्थिक समृद्धिको बाटोमा यो भ्रमणले नयाँ आयाम थप्ने छ ।

मूलतः यो भ्रमणका प्रमुख कार्यसूची के कस्ता रहेका छन् ? नयाँ विषयवस्तुभन्दा पुरानै समझदारीलगायतका विषय मात्रै यो भ्रमण केन्द्रित हुने कुरा आइरहेको छ । यथार्थ के भइरहेको छ ?
नेपाल र भारतबीच विगतमा धेरै समझदारी भएका छन् । सूची धेरै लामो हुन सक्छन् तर तिनको कार्यान्वयनका अवस्था धेरै जसोको विचारणीय छ । त्यसैले हामीले समझदारीका सङ्ख्या मात्र बढाउनेतिर यो भ्रमणले प्रयास गर्ने छैन । समझदारीका सङ्ख्या बढाउने र कार्यान्वयन नगर्ने हो भने राम्रो पनि देखिएको छैन र देखिँदैन पनि तर पनि केही समझदारी यो पटक पनि हुनेछन् । तयारी भएको छ । यद्यपि, मूलभूत रूपमा यो भ्रमण पुराना समझदारी कार्यान्वन गर्न केन्द्रित हुँदै छ । यसो भनेर भ्रमण त्यतिमा मात्र सीमित हुने पक्कै होइन । जनस्तरमा प्रष्ट देखिने गरी लाभ पुग्ने केही पूर्वाधारका योजना अगाडि बढाउने बारेमा राजनीतिको उच्च नेतृत्व तहमा सकारात्मक सोच र वातावरण बनेको छ । त्यो मैले देखेको छु । त्यस्तो सोच र वातावरण यो भ्रमणको महŒवपूर्ण आयाम हुने छ ।

नेपालमा रोजगारी विस्तारका लागि लगानी महŒवपूर्ण पाटो हो । बाह्य लगानी आउन सक्ने वातावरण कसरी विकास गर्न सकिएला ? लगानी विस्तारका लागि के कसरी अगाडि बढ्नुपर्छ ? यो भ्रमणले त्यसतर्फ केही नयाँ काम थालनी गर्ने छ ?
हाम्रा प्रधानमन्त्रीको यो भ्रमण नेपालमा आएको नयाँ परिवर्तनको सन्दर्भमा भएको छ । नेपाल लामो समय विद्युत् अभावमा बस्यो र अहिले पनि भारतबाट केही बिजुली लग्नुपरिरहेको छ तर अवस्थामा सुधार आउँदै छ । नेपाल अहिले विद्युत्भार कटौती (लोडसेडिङ) मुक्त भएको छ । चाँडै नेपालको आन्तरिक बिजुली उत्पादन पर्याप्त हुन्छ । एक÷डेढ वर्षमा ऊर्जा प्रचुर हुन्छ । लगानी गर्न आउनेलाई ऊर्जाको पर्याप्तता महŒवपूर्ण पक्ष हो । ऊर्जा पर्याप्त हुँदा लगानीको वातावरण राम्रो बन्छ, बन्दै छ । बिजुलीमात्र होइन, हामीले औद्योगिक क्षेत्रको विस्तार गर्दैछौँ । औद्योगिक क्षेत्रले लगानीकर्तालाई आकर्षित गर्छ । सुरक्षाको अवस्थामा पनि सुधार भएको छ । त्यसैले उद्योग व्यवसायका लागि आवश्यक पर्ने बिजुली, जमिन, सुरक्षाको पूर्ण प्रत्याभूति दिने वातावरण बनेको छ । लगानी प्रवद्र्धनका लागि केही ऐन, नियम पनि संशोधन हुँदैछ । यो अवस्थामा भएको प्रधानमन्त्रीको भारत भ्रमणले यहाँका निजी क्षेत्रलाई नेपालमा लगानी विस्तार गर्न सहयोग पुग्ने छ । विश्वास बढाउने छ ।

यो भ्रमणमा नयाँ विषय केही नहुने पनि कुरा उठिरहेको देखिएको छ । कतिपयले आशङ्का पनि व्यक्त गरिरहेका छन् । खासमा के कस्तो हो ?
प्रधानमन्त्रीले नयाँदिल्ली आउनु अगाडि अन्तिम समयसम्म पनि सबै पक्षसित व्यापक परामर्श गर्नुभएको छ, तयारी गर्नुभएको छ । यस्ता भ्रमणले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर पारिस्परिक लाभका क्षेत्रको खोजी गर्ने पनि हो । कसैले आशङ्का गर्नु पर्दैन । राष्ट्रलाई अहित हुने कुनै विवादास्पद काम कुरा यो भ्रमणमा हुने छैन ।

नेपाल–भारतबीच अविश्वास रहेको पनि कुरा उठिरहन्छ । विगतको सीमा नाकाबन्दीका कुरा पनि उठिरहन्छ ? अविश्वास निराकरण गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र उचाइमा पु¥याउन के कस्ता प्रयास हुने छन् ?
नेपाल र भारतबीच समाधान नै नहुने कुनै पनि समस्या छैनन् । हाम्रो यति बढी संलग्नता छ कि बेला–बेलामा समस्या आउने गर्छन् । समस्या आउनेमात्र होइन, तिनको निराकरण पनि हुने गरेको छ । विगतबाट पाठ सिकेर हामीले दुवै राष्ट्र र जनतालाई फाइदा पुग्ने हिसाबले काम गर्नुपर्छ । त्यस्ता काम समयसीमा नै तोक्नुपर्छ । समस्या पहिचान गरी तिनको समाधानको प्रक्रिया पनि आरम्भ भइसकेको छ । यो राम्रो पक्ष हो । यही अवस्थामा प्रधानमन्त्रीको भ्रमण भएको छ । उच्च तहका द्विपक्षीय भ्रमणले यी आयामलाई थप बल पु¥याउने छ ।

नेपाल संविधान कार्यान्वयनको चरणमा लगातारको निर्वाचन अभियानमा छ । नयाँ संविधान (२०७२) प्रति भारतका केही गुनासा छन् भन्ने गरिन्छ । यसमा नयाँदिल्लीको धारणा खासमा के कस्तो हो ? स्पष्ट गरिदिनु हुन्छ ?
प्रजातन्त्रको सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । निर्वाचनको माध्यमबाट नै कमी कमजोरी स्वतःस्फुत सुधारिँदै जाने भएकोले मित्र राष्ट्र भारत सरकारको कुनै पनि निर्वाचनमा विमति रहेन, हुन पनि सक्दैन । नेपालमा स्थायी शान्ति र आर्थिक समृद्धि नै भारतको मूल चाहना हो । आफ्नो देशको राजनीतिक व्यवस्थापन हामी आफैँले गर्ने हो ।

भर्खरै नेपालको तराई–मधेश क्षेत्र बाढी र डुबानको चपेटमा प¥यो । त्यसक्रममा भारत सरकारले सिमानमा भारतको तर्फबाट बनाएका बाँध पनि डुबानको प्रमुख कारणका रूपमा लिइयो, लिइँदै छ । यो समस्या समाधानका लागि प्रधानमन्त्रीको यो भ्रमण के कस्ता उपाय अवलम्बन गरिने छ ?
नेपालको तराई–मधेश र खासगरी भारतको बिहार र उत्तर प्रदेशमा प्रत्येक वर्ष बाढीले जनधनको व्यापक क्षति हुने गरेको छ । नेपालबाट आउने नदीहरूको समुचित सुप्रवद्र्धन गर्न नसकेर दुवै देशलाई नदी अभिशाप भएको छ । उपलब्ध प्रविधि प्रयोग गरी संयुक्त प्रयासले समुचित प्रबन्ध गर्न सकेमा हाम्रा नदी दुवै देशका जनताका लागि वरदान बन्नेछ । यसका लागि इच्चा शक्ति देखाउने समय आएको छ ।
सार्वभौम देशको सहमति बेगर पानीको प्राकृतिक बहावलाई अवरोध हुने गरी सीमामा कुनै संरचना बनाउन हुँदैन थियो । यसको दीर्घकालीन समाधानमा सैद्धान्तिक निर्णयमात्र होइन, कार्यान्वयनमा जाने बारेमा उच्च तहको ध्यानाकर्षण भएको अनुभव गरेको छु ।

नेपाल–भारतबीच व्यापार घाटा बर्सेनि बढेर गएको छ । व्यापार घाटा न्यूनीकरण गर्न के कस्ता कदमको जरुरी पर्छ ? अलि विस्तारमा भनिदिनुहुन्छ कि ?
नेपालमा उत्पादित सम्पूर्ण माल वस्तु भारतीय बजारमा निर्वाध प्रवेशका लागि एकीकृत जाँच, चौकी र सुखा बन्दरगाह रक्सौल र वीरगन्जमा बनेर तयार हुँदैछ । विराटनगर, भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरमा थप पूर्वाधार बनाउने योजना छ । त्यहाँ पूर्वाधार बन्न केही वर्ष लाग्छ । पूर्वाधार तयार नहुँदासम्म नेपाली उत्पादन निर्वाध प्रवेशका लागि पहल भइरहेको छ । यो भ्रमणले त्यसमा थप पहल गर्ने छ ।
कहिले अदुवा, छाला, जुटजस्ता कृषिजन्य वस्तुका पनि अवरोध हुने र पछि हट्ने प्रक्रिया जारी नै छ । यस्ता बेला–बेलामा आउने समस्याले नेपाली वस्तुलाई भारतीय बजारमा पु¥याउन समस्या भएको देखिएको छ । नेपालको व्यापार बढाउन यो अवरोध नै हो । यसलाई सधैँका लागि निराकरण गर्ने हाम्रो प्रस्ताव छ । जलविद्युत्, पर्यटनका क्षेत्रमा भइरहेको सुधारले पनि व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।

व्यापार घाटा न्यूनीकरण गर्न नेपालको प्रमुख प्राथमिकता के कस्ता रहेका छन् ? सारमा केही थप्नुहुन्छ कि ?
नेपालको सन्दर्भमा निर्यातजन्य औद्योगीकरण जरुरी छ । लगानी प्रवद्र्धन पनि त्यसै क्षेत्रमा हुनुपर्छ । यो नेपालको प्रयास पनि हो । निर्यातयोग्य वस्तु व्यवसाय हाम्रा प्राथमिकतामा पर्छ । अरूले गरेरमात्रै पनि हुँदैन । प्रयास हाम्रै चाहिन्छ । सडक विस्तारले निर्यात व्यापारलाई सहज बनाउँछ । सडकसँगै रेल यातायातको विस्तारले व्यापारमा सहजीकरण ल्याउँछ, अवरोध हटाउँछ । अतः सडक, रेल, हवाई यातायातको समुचित विस्तारले पनि व्यापार प्रवद्र्धन गरी मौजुदा व्यापार घाटा न्यून गर्न सहयोग हुनेछ । त्यस दिशातर्फ पनि यो भ्रमण महŒवपूर्ण हुने छ ।

 

 

 प्रकाशित मिति: २०७४/५/८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना