अब्बल अर्गानिक स्याउतिर किसान

चन्द्रप्रकाश शर्मा

 

बाग्लुङ, भदौ ९ गते । वर्षौंदेखि आयआर्जनको माध्यम बनाएर सयौँ रोपनी क्षेत्रफलमा स्याउ खेती गरेका ढोरपाटनका किसान ‘गुनासोरहित’ स्याउ उत्पादनमा लागेका छन् । स्याउ खेतीबारे कृषिविज्ञलाई गुनासो राख्दा ढोरपाटन क्षेत्र स्याउ खेतीका लागि उपयुक्त नभएको प्रतिक्रिया पछि किसानहरू कृषिविज्ञसँग गुनासो राख्न छाडेर अब्बल स्याउ उत्पादनमा लागेका हुन् ।
यहाँ उत्पादित स्याउ अर्गानिक भएकाले स्वास्थ्यका लागि राम्रो हुने भन्दै उत्पादनमा अझ बढी सक्रिय भएका हुन् । बढी पानी पर्ने, सोलार रेडियसन कम भएकाले ढोरपाटनमा स्याउ राम्रो नहुने कृषि विज्ञहरूको भनाइ भए पनि स्वास्थ्यका लागि भने यहाँ उत्पादित स्याउ राम्रो हुने भनाइ रहेको छ । Apple jumla
ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ मा पर्ने ढोरपाटन क्षत्रमा पुर्खाैंदेखि सयौँ घरपरिवारले स्याउ खेती गर्दै आइरहेका थिए । केही वर्षअघिसम्म जिल्ला कृषि विकास कार्यालय बाग्लुङले स्याउ उत्पादक किसान लक्षित कार्यक्रम ल्याए पनि त्यहाँको वातावरण स्याउ उत्पादन अनुकूलित नभएको कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको थियो ।
ढोरपाटन क्षेत्रमा बर्सेनि लाखौँ रुपियाँको स्याउ उत्पादन हुने गरेको छ । यहाँका स्याउ केही अमिलो र दानामा दाग लागेको हुने भए पनि बजारमा राम्रै खपत हुने गरेको किसानहरू बताउँछन् । स्याउ खेतीका बारेमा कृषिविज्ञहरूले उपयुक्त वातावरण नभएको भन्दै बेवास्ता गर्दै आएको स्थानीय किसान रामबहादुर विकले बताउनुभयो । यहाँ धेरैका घरमा स्याउका बोटहरू रहेका छन्, सबैले व्यावसायिक रूपमै स्याउ बिक्री गर्छन्, तर कृषि कार्यालयले यहाँ वातावरण अनुकूलित छैन भन्ने गरेका कारण हामीले कृषि कार्यालयमा गुनासो राख्नै छाडेका छौँ, उहाँले भन्नुभयो ।
कृषिविज्ञहरूले ढोरपाटनको वातावरण स्याउ खेतीका लागि सुहाउँदो नभएको भने पनि स्थानीय किसानहरू स्याउ खेतीबाट विस्थापित भएका छैनन् । यहाँ सबैका घरमा बगानका बगान स्याउका रूखहरू छन्, वातावरण अनुकूल छैन भन्दैमा सबैले रूख काट्नेवाला छैनन्, स्थानीय शिवराज कँडेलले बताउनुभयो । अर्गानिक स्याउ भएकाले स्वास्थ्यका लागि समेत यहाँको स्याउ फाइदाजनक हुने उहाँको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालय बाग्लुङले ढोरपाटन क्षेत्रमा स्याउ खेती किसान लक्षित कार्यक्रम सञ्चालनमा नल्याएको जनाएको छ । स्याउ राम्रो हुनका लागि साउन भदौमा पानी कम पर्ने, सोलार रेडियसन बढी भएको ठाउँ उपयुक्त हुने भए पनि ढोरपाटनमा त्यो दुवै नभएको जिल्ला कृषि विकास कार्यालय बाग्लुङका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताउनुभयो । स्याउमा दाना लागेपछि पानी पर्नु स्याउका लागि घातक हुन्छ । ढोरपाटनमा बढी मात्रामा पानी पर्ने र सोलार रेडियसन (तापक्रम) कम भएकाले स्याउको विकास हुन पाउँदैन त्यसैले दानामा खाटा देखिने, राम्रो रङ देखिँदैन, उहाँले भन्नुभयो । स्थानीय किसान भने सरकारले बजारसम्म पहुँच पु¥याइदिए स्याउबाटै आम्दानी गर्न सकिने बताउँछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना