लोकतान्त्रिक चरित्रको अपेक्षा

puskar raj prasaiपुष्करराज प्रसाई

 

 

कानुनी शब्दकोषअनुसार अवसरवाद भन्नाले हरेक उपयुक्त मौकाबाट लाभ लिनुपर्छ भन्ने राजनीतिको एक सिद्धान्त हो । त्यसैगरी अवसरवादी भन्नाले आफ्नो सिद्धान्ततर्फ विचार नगरी वा बेवास्ता गरी लाभको उपयुक्त मौका छोप्ने व्यक्ति अथवा अवसरवादलाई मान्ने व्यक्ति हो भनिन्छ । अहिले यस्तै व्यक्तिको हाम्रो समाजमा वर्चस्व रहेको र ती सफल पनि देखिन्छन् । राजनीतिक परिस्थितिमा परिवर्तन आउँदा पार्टी परिवर्तन गर्नु, ध्रुवीकरण हुनु त स्वाभाविक नै हो तर नेपालमा पार्टी परिवर्तन र धु्रवीकरण गर्न परिस्थितिमा कुनै परिवर्तन आइरहनु पर्दैन, केवल मनभिन्नता भए पुग्छ मतभिन्नता या कुनै राजनीतिक एजेन्डा चाहिँदैन ।
व्यक्ति विषेशप्रतिको मनभिन्नता नै पार्टी परित्यागको आधार बन्छ र केही लेनदेन अर्थात् पदको मोलमोलाइ नै अर्काै पार्टी प्रवेशको लागि पर्याप्त आधार मानिन्छ । यो चरित्र चाहे सरकार परिवर्तन होस् या पार्टी धु्रवीकरण, दुवैमा जबरजस्त लागू हुँदै आएको छ । सत्तामा नरहँदा चर्का–चर्का विरोध गर्ने तर जब सत्तामा आरोहण हुइन्छ तब लम्पसार परी राष्ट्रियतामाथि घात गर्ने प्रवृत्ति यदाकदा देखिन्छ । सरकारको विरोध र समर्थन गर्ने आधार कुनै राष्ट्रिय राजनीतिक मुद्दा नभई पदको मोलमोलाइ नै निर्णायक भएको देखिएकै हो । यसको नाङ्गो रूप यसपालिको स्थानीय तहको निर्वाचनमा झनै उदाङ्गियो । बिलकुल विपरीत ध्रुवका राजनीतिक दलहरूले आपसमा मिली निर्वाचनमा साझा उम्मेदवार बनाई जनताका अगाडि मत माग्ने गरियो । हामी सबैलाई जानकारी भएकै कुरा हो कि हरेक दलहरूले मुलुकको विकास समृद्धि र राष्टियताप्रति अलग–अलग विचार दृष्टिकोण बनाएका हुन्छन् । यसैको आधारमा आ–आफ्ना समूह निर्माण भएर तत्तत् दलमा आबद्ध भई त्यसै लक्ष्य प्राप्तिको दिशामा सबैै सम्बद्ध जनसमुदाय लागिरहेका हुन्छन् र सोही विश्वास आस्थाको आधारमा जनताको अगाडि मत मागिन्छ । सोही मतको परिणामलाई नै दलकोे परीक्षण मानिन्छ । यही नै लोकतन्त्रको सुन्दर गहना हो र निर्वाचनको सार हो । यसै प्रक्रियाले दलहरू जनताबाट अनुमोदित हुँदै गएको मानिन्छ ।
हाम्रो संविधानले परिकल्पना गरेअनुसार राज्यका विभिन्न संरचना र तहमा जनताको समान सहभागितालाई सहज पार्नु र लोकतान्त्रिक संस्थालाई जनताप्रति प्रत्यक्ष उत्तरदायी बनाउनु लोकतन्त्रको प्रमुख उद्देश्य हो । प्राचीन एथेन्सबाट शुरु भएको प्रजातन्त्रलाई अब्राहम लिङ्कन ले जनताद्वारा जनताका लागि सञ्चालन गरिने जनताको शासन प्रणाली भनेर प्रजातन्त्रको व्याख्या गरेका थिए । वास्तवमा प्रजातन्त्र भने पनि लोकतन्त्र भने पनि यो विचार दर्शन मूल्य र मान्यता अनुरूपको व्यवहारमा मात्र फस्टाउने पद्धति हो ।
विचार दर्शन र मूल्यमान्यता छ भनेर मात्र हुँदैन । त्यस अनुरूपको व्यवहार चाहिन्छ । कस्तो व्यवाहार बसाउने भन्ने निर्दिष्टताका लागि मूल्यमान्यता, दर्शन चहिन्छ । यी दुई पक्षको अभ्यास र अन्तरक्रियामा लोकतन्त्र परिमार्जित हुँदै जान्छ । लोकतन्त्र एउटा आदर्श र एउटा वास्तविकता हो तर आधारभूत मूल्यमान्यता आदर्श अनरूपको अभ्यास हुन नसक्दा वर्तमान राजनीति चरम अवसरवाद उन्मुख देखिन थालेको छ ।
लोकतन्त्र कस्तो हुनुपर्छ ? वा यसको अभ्यासमा के कस्ता आधारभूत चरित्र रहनुपर्छ भन्ने सिद्धान्त र आग्रह नै लोकतन्त्रका आधारभूत मूल्यमान्यता हुन् । यी मूल्य मान्यताको अतिक्रमण भएमा वा ती चरित्र नभएमा त्यो शासकीय पद्धति वास्तवमा लोकतन्त्र बन्न सक्तैन र त्यो मनोगत रूपमा लोकतन्त्र भनेर व्याख्या गरिने विषय मात्र बन्ने गर्छ । यस्तो मनोगत व्याख्याको लोकतन्त्र चाहेका होइनौँ हामीले त वास्तविक जीवनमा रूपान्तरित लोकतान्त्रिक पद्धति बसाल्न चाहेका हौँ । हाम्रो वर्तमान संविधानले पनि यस्तै मूल्य मान्यतालाई संस्थागत गर्नै घोषणा गरेको छ तर वर्तमान स्थानीय तहको निर्वाचनमा विपरीत विचार मान्यताबीचको चुनावी तालमेल र साझा उम्मेदवारको दृश्यले मुलुकका विकास र समृद्धिका सवालमा दलबीचको पहिचान समान बनाई दिएको छ ।
पार्टिले छानिदिएको व्यक्तिलाई नै जबरजस्ती आफ्नो प्रतिनिधिको रूपमा स्वीकार्नुपर्ने बाध्यता जनतामा आइपरेको छ । यसले दलको वैचारिक नीतिका दायरामा बाधिएकालाई अब दलीय सङ्कुचनभित्र बसी रहनु नपर्ने गरी बाटो खुला गरिदिएको छ र विगतदेखि रहिआएको वैचारिक पक्ष अब समाप्त भएको सन्देश दिएको छ । जसरी पनि र जे गरेर भय पनि पद, प्रतिष्ठा प्राप्त गर्नु नै पार्टिको वैचारिक पक्ष भएको छ । यसका लागि अब पर्याप्त पुँजी खर्च गर्न सक्ने कार्यकर्ता जम्मा गरी पार्टि बनाउने र जे गरेर र जसरी पनि पद, प्रतिष्ठा प्राप्त गर्न सक्नु नै अबका पार्टिको विचार दर्शन कार्यनीति भएको छ । अहिलेको निष्ठाको राजनीति नै यही हो भन्ने देखाइएको छ । गठबन्धन आफ्नो दलको, विचार मान्यता स्थापित गराउनका लागि चाहिँ भएको देखिएन । ती गठबन्धनले आफ्ना राजनीतिक विचार मान्यता स्थापित गराउन सकेको भए पनि त्यसले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको अभ्यासलाई नै टेवा पु¥याउने थियो तर दुर्भाग्यवश त्यस्तो देखिएन । राजनीतिक मान्यताको हत्या गरी व्यक्ति जिताउने र हराउने राजनीतिक संस्कार विपरीतको खेल खेलियो । यसका पछाडि समाजका हरेक व्यक्तिमा कुनै पदविना समाजमा आफ्नो अस्थित्व कायम राख्न सकिँदैन भन्ने सोच र चिन्तनले काम गरेको देखिएको छ । उनीहरू वैचारिक सैद्धान्तिक आदर्शअनुरूप जीवन पद्धति बनाउनेभन्दा तत्काल पुँजी र शक्ति आर्जन गर्नमा नै गौरव ठानिरहेका बुझ्न सकिन्छ ।
हरेक कार्यकर्ताले पार्टीमा जे देख्छन् त्यो बोल्न सक्ने, ऐना बन्न सकिरहेका छैनन्, नेताले जे गर्छन् त्यो आँखा चिम्लेर स्वीकार्छन् । यसको विकल्प खोज्नु भनेको राजनीतिक जीवन नै सफाया गराउनु सरह हुनेछ, तसर्थ सिर्जनात्मक क्षमताको हत्या गराइएको छ । यस हिसाबले दलभित्रका कार्यकर्ताको स्वतन्त्रता अनि विवेकको हत्या नै गरिएको छ भन्दा अत्युक्ति नहोला । कोठामा तस्बिर राख्नु र मस्तिष्कमा संस्कार राख्नु फरक–फरक कुरा हुन भन्ने तथ्यकोे हेक्का नेताले राखेका पाइँदैन । विधिको शासन हुनुपर्नेमा शासकको विधिमा देश चलाउन खोजिएको छ । राज्य संयन्त्रको भागबण्डाको संस्कृति अन्त्य गरी योग्य दक्ष व्यक्तिलाई उपयुक्त मौका र जिम्मेवारी दिनुपर्छ । विधिको शासन कार्यन्वयन गरिनुपर्छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ ।

प्रकाशित मिति: २०७४/५/९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना