सङ्कीर्ण मर्ममा महासङ्घ

bashant prkashवसन्तप्रकाश उपाध्याय

 


थुप्रै वर्ष भयो– नेपाली पत्रकारबीच ‘महासङ्घीय’ अवधारणामा चुनाव हुन छाडेको । पत्रकार महासङ्घको चुनावी प्रक्रिया शुरु हुनासाथ त्यहाँ दलीय पद्धति देखापर्छ । सदस्यता वितरणमा जसले सक्छ, त्यहाँ आ–आफ्ना निकटलाई सदस्य बनाउँछन् । विभिन्न राजनीतिक पार्टी आबद्ध पत्रकारको भ्रातृ सङ्गठनले त्यसपछि, ‘सभासद’ बनाउने राजनीति गर्छन् । मतदाता छान्दैमा कार्यकर्ता खोजिने भएपछि निर्वाचनको परिणाम पहिल्यै पत्तो हुन्छ र यसपटक पनि त्यस्तै रह्यो ।
पत्रकार महासङ्घको २५औँ महाधिवेशनमा अहिलेको परिणाम अपेक्षित नै हो । युनियन र सेन्टर मिलेपछि विना रुखको चौतारी परिकल्पनामा थिएन । सक्दो सबैले ‘मत’ जित्न व्यावसायिकताको नारा उरालेका हुन् । अपितु, नेपाली पत्रकारको ‘मन’ जित्न त्यति सजिलो थिएन । अहिले देखिएको परिणाम आउने आँकलन र आभास सबैलाई थियो । एकपटक यो पङ्क्तिकार पनि महासङ्घको सचिव पदको प्रत्यासी भएको थियो र यसक्रममा करिब २७ जिल्लाका पार्षद प्रतिनिधिसँग वैयक्तिक तवरमा भेटघाट गरी मत–अपेक्षा जाहेर गरिएको थियो । व्यावसायिक पत्रकारिताको शर्तमा प्रस्तुत गरेका कुराकानी र एजेन्डामा भेटका बखत कोही पनि नाई–नास्ती गर्दैनथ्ये तर जब चुनाव आउँथ्यो, तब झापातिरबाट गाडी चढेर हिँडेका पार्षद प्रतिनिधि कोशी ब्यारेज नतर्दै चौतारी या युनियन भइसक्दा रहेछन् । उता नेपालगञ्जलतिरबाट बुटवलहुँदै आएका पार्षद प्रतिनिधि तिनाउ तरेपछि राजनीतिक पार्टीको झण्डा आवरणमा कट्टर प्रतिनिधि बनेर देखापर्दा रहेछन् ।
वास्तवमा दशकौँदेखि महासङ्घको मञ्चभित्रको यस राजनीति र यसको उहापोह बुझेको हुँदा मेरा लागि यो सर्वथा नौलो परिणाम होइन तर महासङ्घको निर्वाचन परिणामले धेरै अघिदेखि हामीबीच विद्यमान बेइमानी–विडम्बनाको पगरीलाई हटाउने काम गरेको छ । सरसर्ती हेर्दा त्यस्तो लाग्दैन । खासगरी नेपाली राजनीतिमा दल र यसका नेताप्रति आमधारणा ‘हेय’ खालको छ । एकप्रकारले राजनीतिक दलसँगै नेता र पेसागत तवरमा पत्रकारलाई पनि अलि ‘अराजक’ र ‘बेइमानी’ मानिन्छ । राजनीति र पत्रकारिताबीच बेइमानी–गठजोडमा यसपटकको परिणाम कति इमानदार रूपमा आउँला ? सर्वत्र चासो र चिन्ता थियो । कैयौँ मान्छे गठबन्धन र मित्रमिलापमा जे–जस्ता समीकरण र सङ्ख्या भए पनि नतिजा अन्ततः एकअर्काको प्रतिकूल हुने बताइरहेका हुन्थ्ये ।
यसपटकको चुनावअघि दुई कार्यकाल
‘मित्रमिलान’ गरेका चौतारी र सेन्टरबीच पारपाचुके हुनुसँगै युनियनले नेतृत्वको ‘स्वयम्वर–माला’ सेन्टरलाई लगाएको थियो । राजनीतिक वृत्तमा काँग्रेस–दोस्तीसँग झस्किरहने माओवादी मनोवृत्ति जस्तै सेन्टर नेतृत्व युनियनसँग शुरुमा त्यति आश्वस्त थिएन । प्रायशः युनियनभित्र ‘बागी–वर्चस्व’ र नेतृत्व चयनमा ठेकेदारी प्रथा देखेको र सुनेको कारण सेन्टर नेतृत्व आत्तिनु स्वाभाविक थियो । हरेक बैठकमा सेन्टरका ‘नेता’ साथी भनिराख्थ्येः ‘कतै हामीलाई धोका त हुँदैन नि ?’
सेन्टरका साथीले जे–जस्ता शङ्का र आशङ्का देखाए पनि पत्रकार बद्री सिग्देल नेतृत्वमा रहेको युनियन विगतको दुई हारको शृङ्खला–समीक्षा गर्दै पृथक् रणनीतिमा उभिएको थियो यसपटक । हारभित्र अन्यकोभन्दा आफ्नैहरूको ‘प्रहार’ को निचोडमा युनियनले ‘सख्त–सोच’ बनायो । दुई अवधि चौतारीसँग गठबन्धन गर्दा पाएको ‘धोका’ भन्दा नवीन ‘ढोका’ पूजामा युनियनले सेन्टरलाई राजी गरायो यसपटक । अनि युनियनले आफ्ना कित्ताका उम्मेदवारसँगै गठजोडमा उभिएका सेन्टरका उम्मेदवारलाई तलमाथि नगरी शतप्रतिशत साथ दिन ठाडो निर्देशनसहित अनुगमनको परिपाटीसमेत बसाल्यो ।
वास्तवमा प्रतिबद्ध दृष्टिकोणमा कलम चलाउने पत्रकार आचार, विचार र संस्कारले नै ‘प्रतिबद्ध’ भएको प्रमाणित गर्नुपर्ने अवस्था यस निर्वाचन क्रममा थियो । पत्रकार अवसरवादको खोजीमा हुन्छन् भन्ने मर्म र मान्यतालाई ‘झुठो’ तुल्याउने अवसर हामीबीच देखापरेको थियो । राजनीतिक चेतनाले भरिए पनि पत्रकारले ‘स्कुप’ पाउनासाथ गति र मति त्याग्छन् भन्ने सर्वथा आलोच्य दृष्टिकोणलाई हटाउन सहकार्यको परिणाम सकारात्मक बनाउनुपर्ने अवस्था थियो । यही यथार्थबोध गरेर यसपटक नेपाली पत्रकारले आफ्नो स्वभिमान, सिद्धान्त र संयमलाई प्रतिबद्ध रूपमा जाहेर गरे ।
करिब अढाई दशक लामो पार्षददेखि सभासदको यात्रामा यसपटक व्यवस्थित, मर्यादित र अनुशासित अधिवेशन देख्न पाइयो । बस्ने खानेको व्यवस्थादेखि मत माग्ने र खसाल्ने क्रममा समेत पत्रकारले ‘अराजकता’ प्रदर्शित गरेनन् । तडकभडकभन्दा यसपटक विचार विमर्शको बहस देखाप¥यो । विगतमा ‘बन्द–सत्र’ हो कि ‘गन्ध सत्र’ हो ? पत्तो हुँदैनथ्यो । यसपटक मतदातादेखि उम्मेदवारसम्म ‘मैमत्त’ र मदिरामत्त’ देखिएनन् ।
नारा, पर्चा, पम्प्लेट अनि फ्लेक्स र एसएमएसमा ‘व्यावसायिक पत्रकारिता’ को प्रसङ््ग खुब तेज देखियो । व्यावसायिक पत्रकारिताको प्रतिबद्धतामा उम्मेदवारको भनाइ जतिसुकै ‘प्रिय’ भए पनि ‘गराइ’ चाहिँ विरोधाभाषी नै थियो । एकाध उम्मेदवारबाहेक सबै पार्टीका हेडक्वार्टर र हेडमास्टरहरूको आज्ञा–अह्रोटमा ‘क्लास’ लिन मैदानमा झरेका थिए । एकसेएक प्रकाशन गृहमा काम गरेका र नाम चलेका पत्रकार भए पनि उनीहरूसँग व्यावसायिक आत्मविश्वास कहीँ–कतै थिएन र देखिएन । केही टेलिभिजन, रेडियोका लोकप्रिय समाचारवाचक एवम् चर्चित कार्यक्रम प्रस्तोता समेत पार्टीका लाचार प्यादा–प्युसाझैँ बनेर प्रस्तुत भएका थिए ।
एक प्रकारले होइन, अब हरेक प्रकारले पत्रकार महासङ्घ विविध पार्टी पत्रकारको ‘क्लब’ बन्दैछ । पार्टी पत्रकारको ‘क्लब’ बनाउने परिस्थिति निर्माण गर्न को–को जिम्मेवार रहे ? अब त्यसको खोजी गरिनुपर्छ, विगतमा यस्तो थिएन पत्रकार महासङ्घ । पत्रकारबीच विचारको विविधता थियो । नेतृत्वमा जो–जो पुग्थे, उनीहरूले आफ्नोभन्दा बाहेकको विचारलाई ‘निषेध’ गर्दैनथ्ये तर केही वर्षयता आएपछि महासङ्घलाई ‘मठाधीश–मर्म’ ले हिँडाइयो ।
यो दुर्भाग्य हो । नेपाल पत्रकार महासङ्घबाहेक धेरै पेसा र प्रवृत्तिका धेरै महासङ्घ छन् । जहाँ सदस्यता प्राप्तिको कडा नीति नियम र विधि–विधान छ । कालो कोट लगाएको भरमा बार एसोसियसनले सदस्यता दिँदैन । वरिष्ठताको पगरी पाउन त्यहाँ ठूलै योगदान पु¥याउनुपर्छ । सेता एप्रोन लगाउँदैमा मेडिकल काउन्सिलले आजीवन सदस्यको पगरी थोपर्दैन । दुर्भाग्य पछिल्लो समयमा आएर त हामीले दुई थान फोटो बोकेर सिनामङ्गल पुगेकै भरमा सदस्यता मात्र दिएनौँ । अझ कतिपयलाई ‘माननीय–सभासद’ को कोटामा उभ्याउँछौँ ।
थुप्रै छन् यस्ता– कुरा । महासङ्घलाई मर्यादित बनाउनेभन्दा ‘कब्जा’ गर्ने मनोदशाले धेरै कुरा बिगा¥यो । महासङ्घ नेतृत्वमा पुगेपछि त्यहाँ आमश्रमजीवी पत्रकारको पक्षमा आवाज बुलन्द बनाउनेतिर धेरै कम लागे । महासङ्घ पुगेपछि पार्टी सन्निकटको छाता ओढ्ने र रिटायर्ड भएपछि एनजीओ खोल्ने र दाता मिलाउने ‘दुष्कर्म’ मौलायो । महासङ्घ आए–आफ्नो, गए–साहुको शैलीले चलाइएकै कारण यसको साख गिर्दै गएको हो ।
जेहोस् विगतका यिनै कमी–कमजोरी र
‘कुडाकर्कट’ प्रवृत्तिको अब अन्त्य हुनु जरुरी छ । अतिवादी दृष्टिकोणले ‘खति’ उन्मुख भइरहेका कारणले गर्दा वर्तमानको ‘मित्रमिलाप–समीकरणले’ जित पाएको हो । संयोगले कुशे–औँसीका दिनमा महासङ्घको शुद्धताका खातिर साथीसँगै पार्टी समाएका हुन् पत्रकारले । परिणाम जे देखिएको छ– त्यो केवल दाङका गोविन्द र विपुलको मात्र खुसी होइन । अब इलामका सोमनाथ र पाँचथरका लवमाथि पनि न्यायिक हुनुपर्छ महासङ्घ । जितसँग थपिने दायित्वबोध जबसम्म नेतृत्वले गर्दैन, त्यो परिणाम फेरि एकाङ्गी र एकसरो हुन्छ । जो–जो, जहाँ जसरी पुगे– त्यसको शिलान्यास केवल सर्वहितायका लागि भएको हो । घुमिफिरी फेरि दिन बित्नेछन् । विगतको आत्मसमीक्षा जब गर्दैन मान्छेले, त्यसले ‘आगत’ मा सर्वस्वीकार्य परिणाम दिलाउन सक्दैन ।

 प्रकाशित मिति: २०७४/५/९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना