सुदूरपश्चिमका चार विमानस्थल कालोपत्रे हुने

भवानी ऐर

कैलाली, भदौ १० गते । सुदूरपश्चिममा रहेका आठ विमानस्थलमध्ये धनगढीबाहेक अहिले सबै बन्द अवस्थामा छन् । बन्द विमानस्थल सञ्चालनमा ल्याउन सरकारले यस वर्ष तीन र अर्को वर्ष एउटा गरी चारओटा विमानस्थल कालोपत्रे गर्ने तयारी गरेको छ । कालोपत्रे हुनेमा बैतडीमा रहेको पाटन विमानस्थल, डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल यसै आर्थिक वर्षमा कालोपत्रे हुने भएका हुन् । त्यस्तै बझाङको चैनपुर पनि कालोपत्रेकोे कार्यक्रममा परेको छ । geeta airport

नागरिक उड्डयन प्राधिकरणका अनुसार यस वर्षको माघभित्र दिपायल विमानस्थल, चैतभित्र साँफेबगर विमानस्थल र आगामी असारभित्र पाटन विमानस्थलको निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । गतवर्ष फागुनमा पाँच करोड ७४ लाखमा ठेक्का सम्झौता भएको दिपायल विमानस्थलको २५ प्रतिशत काम पूरा भइसकेको निर्माणकर्ता सपना गल्वा जेभीले जनाएको छ ।
विमानस्थलको पानी निकासको नाली निर्माणको काम सम्पन्न भएर माटो भर्ने काम भइरहेको कम्पनीले जानकारी दिएको छ । पाँच सय मिटरको कालोपत्रेको काम माघ भित्रै पूरा हुने योजनाका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बालकृष्ण रेग्मीले बताउनुभयो । फागुन मसान्तभित्रै अछामको साँफेबगर विमानस्थल कालोपत्रे हुनेछ । साँफेबगर विमानस्थलको अहिलेसम्म ३० प्रतिशत निर्माण काम सकिएको छ । साँझेबगर विमानस्थलको ‘सवबेश’को काम सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नाली पनि निर्माण भइरहेको र कालोपत्रेमा चाहिने गिट्टी कुट्ने काम पनि भइरहेको साँफेबगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले बताउनुभयो । साँफेबगर विमानस्थल डोटीको भन्दा ५० मिटर बढी अर्थात् साढे पाँच सय मिटर कालोपत्रे हुनेछ । गतवर्षको चैतमा अमर कन्स्ट्रक्सनले करिब ११ करोडमा साँफेबगर विमानस्थल निर्माणको ठेक्का पाएको थियो ।
बैतडीको पाटन विमानस्थल चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ । ५८० मिटर लम्बाइको कालोपत्रेको ठेक्का गलवा साङ्ग्रिला जगदम्बाले पाएको छ । त्यहाँ पनि माटो भरानको काम भइरहेको छ । विमानस्थल भएर खानेपानीको लाइन लगिएको र त्यसलाई सार्न ढिलाइ भएकाले पाटन विमानस्थल कालोपत्रेको काम भने झण्डै १० प्रतिशत मात्रै भएको विमानस्थल निर्माण योजना प्रमुख तथा प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले बताउनुभयो । यसै वर्षको बजेटमा बझाङको चैनपुर विमानस्थल पनि कालोपत्रे हुने कार्यक्रममा परेको छ । प्राधिकरणले त्यसको निर्माणका लागि चार करोड रकम विनियोजन गरेको छ तर दार्चुलाको गोकुलेश्वरमा रहेको विमानस्थल भने भारतको सीमा नजिक र जहाज उत्रिने बेला पुल परेकाले कालोपत्रेको योजनामा नपर्ने भएको छ । प्राधिकरणको अध्ययन टोलीले दार्चुला र बैतडी छुट्याउने चमेलीया नदीमाथि बनेको पुलले जहाज अवतरण र उडान भर्न असहज हुने भएकाले दार्चुलामा रहेको गोकुलेश्वर विमानस्थललाई जोखिमयुक्त विमानस्थलको श्रेणीमा राखेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना