बाघको सङ्ख्या वृद्धिः खुशी कि बिस्मात !

लक्ष्मीप्रसाद पंगेनी

 

 

नेपालमा पाटे बाघको सङ्ख्या क्रमिकरूपमा बढ्दै जाँदा बाघ संरक्षणकर्मीलाई निकै हर्षित एवं उत्साहित बनाएको छ । वि.सं.२०६५ को बाघ गणनाअनुसार मुलुकभर बाघको सङ्ख्या १२५ थियो भने वि.सं.२०७० मा गरिएको बाघ गणनाले बाघको सङ्ख्या १९८ देखाएको थियो । यस वर्ष बाघ गणना आगामी कात्तिकबाट गरिने भएकोले अहिले नै यसको सङ्ख्या ठ्याक्कै भन्न नसकिए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघको सङ्ख्यामा वृद्धि भई २१० भन्दा बढी हुन सक्ने अनुमान गरेको छ ।
यसरी बाघको सङ्ख्यामा भएको क्रमिक वृद्धिले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर वृद्धि गर्ने भनी सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा आयोजित विश्वका राष्ट्रप्रमुखको सम्मेलनमा नेपालले गरेको प्रतिबद्धतासमेत पूरा हुने आधार तय भएको छ । हाल नेपाल, भारत, भुटान, बङ्गलादेश, चीन, इन्डोनेसिया, लाओस, रुस, भियातनाम, उत्तर कोरिया, मलेसिया, थाइल्याण्ड, म्यान्मार, कम्बोडिया गरी विश्वका १४ देशमा मात्र बाघ संरक्षण भइरहेको छ भने विश्वमा करिब ३८ सयको सङ्ख्यामा बाघ रहेको बताइन्छ ।
सन् १९०० मा विश्वभर करिब एक लाखको सङ्ख्यामा रहेको बाघ एक शताब्दीको अन्तरालमा ९७ प्रतिशत घटेको पाइएपछि बाघको संरक्षणमा चासो बढ्न थालेको हो । कुनै समय पश्चिममा टर्की, उत्तरमा साइबेरिया देखि दक्षिणमा बालीसम्मको भूभागमा शीर्ष सिकारीको रूपमा राज गरेको यो जनावर अहिले पूर्वी र दक्षिणी एसियाका १४ देशमा मात्र सीमित हुन पुगेको छ । यदि यही अवस्था रहे आगामी १० वर्ष भित्रमा विश्वबाट बाघ लोप भएर जाने भनी बाघ विशेषज्ञ तथा वन्यजन्तुविद्ले चेतावनी दिएपछि सन् २०१० को रुस सम्मेलनमा बाघ पाइने १३ वटा देशले सन् २०२२ सम्ममा आआफ्नो देशमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जाहेर गरेका हुन् । सोही प्रतिबद्धता अनुरूप नेपालले पनि सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउन थप ६५०० वर्ग कि.मी.क्षेत्रलाई बाघको बासस्थानको रूपमा संरक्षण गर्ने, चोरीशिकार तथा अवैध व्यापार नियन्त्रण गर्ने, स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा बाघको संरक्षण र संरक्षणपश्चात् समुदायलाई पनि प्रतिफल दिनसक्ने
पञ्चवर्षीय बाघ संरक्षण कार्ययोजना (२०१६–२०२०) जस्ता महìवाकांक्षी लक्ष्य र कार्यक्रमका साथ काम गरिरहेको अवस्था छ ।
विश्वमा पाइने नौ प्रजातिका बाघमध्ये बाली, क्यास्पेली, जाभाली र दक्षिण चिनियाँ प्रजातिका बाघहरू लोप भइसकेका छन् भने हाल हिन्द चिनियाँ बाघ, सुमात्रेली बाघ, साइबेरियाली बाघ, बङ्गाली बाघ र मलायन बाघ गरी पाँच प्रजातिका बाघ मात्र अस्तित्वमा रहेका छन् । नेपालमा पाइने बाघलाई पाटे बाघ अर्थात् बङ्गाली बाघ भनिन्छ । ‘जङ्गलको राजा’ को नामले परिचित बाघ बिरालो परिवारको सबैभन्दा ठूलो, शक्तिशाली एवं हिंस्रक स्तनधारी तथा मांसाहारी प्रजाति हो । यसको करिब ३.३ मिटर लामो शरीर, ३०० किलोग्राम तौल र चार इन्चसम्मका लामा तीखा कुकुरदाँत हुन्छ । यसको लामो नङ्ग्रासहितको पञ्जा पनि ठूलो र बलियो हुन्छ । सेतो वा गाढा सुन्तला रङको भुत्लाले ढाकेको शरीरमा हुने काला पाटाले यसलाई थप आकर्षक बनाउँछ । प्रत्येक बाघको शरीरमा हुने पाटा र पञ्जाका डोब फरकफरक हुने गर्छन् जसको माध्यमबाट बाघबीचको फरक छुट्टाइन्छ र बाघको गणना पनि गरिन्छ । लजालु र भलादमी स्वभावको बाघ प्रायः आफ्नै क्षेत्रमा एक्लो जीवन व्यतित गर्छ र रात्रिको समयमा मात्र आहाराको खोजीमा निस्कन्छ । ठूलो र गह्रौँ शरीर भए पनि चुस्त र लचकदार हुने हुँदा यो लामो दुरीसम्म सजिलै उफ्रन सक्छ । वन्यजन्तुविद्का अनुसार जङ्गली अवस्थामा रहेका बाघ १० देखि १५ वर्षसम्म बाँच्ने गर्छन् भने खोरमा थुनेर पालिएका बाघ २० वर्षसम्म पनि जीवित रहने गर्छन् । बाघले आफ्नो आहाराका रूपमा बँदेल, बाह्रसिङ्गा, मृग, अर्नालगायतका जङ्गली जनावरलाई प्रमुख रूपमा लिने गर्छ ।
संसारबाटै लोप हुने अवस्थामा पुगेको बाघका लागि नेपाली भूमि पछिल्लो समयमा सुरक्षित र उर्वरभूमि हुँदै गर्दा आहाराको खोजीमा बाघ संरक्षित क्षेत्रबाट मानव बस्तीमा प्रवेश गर्दा स्थानीय समुदायमा भने त्रासको वातावरण सिर्जना भएको छ । बाघको सङ्ख्यामा भएको वृद्धिले एकातिर खुसियाली ल्याएको छ भने अर्कोतिर निकुन्ज, मध्यवर्ती तथा संरक्षित क्षेत्र आसपास बसोवास गर्ने स्थानीयलाई प्रतिकूल प्रभाव पारेको तथ्यलाई पनि नकार्न सकिँदैन । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७२÷०७३ मा विभिन्न निकुन्ज, मध्यवर्ती तथा आरक्षित क्षेत्रमा ४८ जना मानिस विभिन्न वन्यजन्तुको आक्रमणमा परेका र त्यस मध्ये १५ जनाको मृत्यु भएको छ । सो घटनामा बाघको आक्रमणले मात्र तीन जनाको मृत्यु र एक जना घाइते भएको तथ्याङ्क छ । त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ को मङ्सिर महिनायता चार महिनाको अवधिमा नवलपरासीमा मात्रै बाघको आक्रमणबाट छ जनाको मृत्यु भइसकेको छ । ती सबै सामुदायिक वनमा घाँस दाउरा गर्न जाँदा बाघको शिकार बन्न पुगेका हुन् ।
भाले बाघलाई विचरण गर्न कम्तीमा ४० वर्गकिलोमिटर क्षेत्रफल तथा पोथी बाघलाई कम्तीमा १५ वर्ग किलोमिटर क्षेत्रफल आवश्यक पर्ने, बाघलाई विशेष खालको आहारा तथा विचरण गर्ने क्षेत्र बढी चाहिने भएकाले सीमित संरक्षित क्षेत्रमा बाघको सङ्ख्या धेरै भएकोले आहाराको खोजीमा मानववस्तीतर्फ बाघ प्रवेश गरेको वन्यजन्तुविद बताउँछन् ।
विकासको नाममा हुने वनक्षेत्र अतिक्रमण र फँडानीले पनि बाघको बासस्थान घट्दो क्रममा छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र पनि ठूलो वनक्षेत्र पर्ने गरी पूर्वपश्चिम रेलमार्गको रेखाङ्कन गरिएकोले संरक्षणकर्मी चिन्तित बनेका छन् । कुनै पनि विकास दिगो र संरक्षणमुखी हुनुपर्ने, आजको विकासले भोलि झन् ठूलो क्षति नहोस् भन्नेतर्फ सबैको ध्यान जान पर्ने तथा वन्यजन्तु र मानिसका बीच द्वन्द्वको अवस्था निम्तिन नदिने वातावरण सिर्जना गर्न सक्नुपर्नेमा उनीहरूको जोड रहेको छ ।
बाघको सङ्ख्या बढ्दै जाँदा बासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षण, मानव–बाघ द्वन्द्वजस्ता चुनौती थपिएका छन् । बाँके राष्ट्रिय निकुन्जमा बाघको घनत्व निकै कम छ । बासस्थान सुधार (विशेष गरी सुख्खा क्षेत्रमा पानीको व्यवस्था) गरेर त्यहाँ बाघको आहारा प्रजाति र बाघको सङ्ख्या बढाउन सकिने सम्भावना छ । बर्दिया र शुक्लाफाँटाको बाघको घनत्व पनि चितवन राष्ट्रिय निकुन्जको जति नै पुग्न लागेको हुँदा बर्दिया र शुक्लाफाँटाले चितवनको भन्दा बढी घनत्वमा बाघ थेग्न सक्छ कि सक्दैन भनेर अध्ययन गरिनु पर्छ । त्यस्तै तराई भू–परिधि क्षेत्रसँगै मध्यवर्ती क्षेत्र तथा अन्तरनिकुञ्ज र अन्तरदेशीय बाघ कोरीडोर (जैविकमार्ग) विस्तार गर्दै बाघको संरक्षण तथा प्राकृतिक बासस्थान व्यवस्थापन गर्नु जरुरी छ । बाघको सङ्ख्या वृद्धिले ल्याएको खुसियाली दिगो राख्न, मानव–वन्यजन्तु द्वन्द्व कम गर्न, बढ्दो बाघको सङ्ख्याले भविष्यमा राष्ट्रिय निकुन्ज तथा संरक्षित क्षेत्र वरपर हुने बाघको आक्रमणका घटनाको न्यूनीकरण गर्न तथा स्थानीयमा बाघ संरक्षणप्रति सकारात्मक धारणाको विकास गराउनतर्फ समयमै सबैको ध्यान जान पर्ने देखिन्छ ।

  प्रकाशित मिति: २०७४/५/१०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना