हिस्टेरिया–सहायताको चीत्कार



ओम बानियाँ

 

हिस्टोरिया ग्रीक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । आजभन्दा दुई हजार वर्ष अगाडि हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अङ्ग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षांैसम्म यो समस्यालाई यसै प्रकारले हेरियो । तर अनुसन्धानले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको र यो समस्या तनावसँग सम्बन्धित भएको देखाए । तनाव नभई हिस्टेरिया हुँदैन, तनावको प्रकार चाहिँजस्तो पनि हुन सक्छ । जस्तैः पढाइ लेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामना पूर्ति नहँुदाको तनाव, इज्जतप्रतिष्ठाको तनाव आदि । यौनसम्बन्धी समस्याले पनि तनाव उत्पन्न गर्न सक्छ । नेपालजस्तो समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।
हिस्टेरियाका लक्षण ः
हिस्टेरियामा विभिन्न लक्षण देखा पर्न सक्छन् । जस्तैः बेहोस् हुने । अदृश्य शक्तिले छोप्ने । हात खुट्टा झम्झमाउने र लाटो हुने । घाटीमा डल्लो अड्केको महसुस हुने । वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हात र खुट्टा नचल्ने । आवाज बन्द हुने । आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देवी देउताको रूप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षण विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीबीच फरक हुन सक्छन् ।
हिस्टेरियाका कारण ः
जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महìव दिएको देखिन्छ । तर यो बुझाइ गलत हो । त्यो किनभने हिस्टेरिया अनेक कारणको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।
साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्या सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । यस क्रममा मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपाय पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणले हुन सक्छ ।
महिलालाई किन बढी ?
महिलाले पुरुष जसरी आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ । यो समस्या किशोरीमा किशोरमा भन्दा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन् । पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्यालाई नडराइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ ।
हिस्टेरियाको अर्को रूप
शारदा माविका कक्षा दशमा पढ्ने नौ जना विद्यार्थी एक्कासि हल्लिने, चिच्च्याउने, काम्ने, उफ्रने, चिर्थोने, मनपरी बोल्ने, कोकोहोलो मचाउने तथा बेहोस हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भयो । उक्त विद्यालयकी शिक्षिकाअनुसार कक्षा दशमा अध्ययनरत छात्रा सृष्टि (नाम परिवर्तन) लाई बिहान दोस्रो घण्टीमा (गणितको कक्षामा) अचानक यस्तो लक्षण देखिएपछि क्रमशः नौ जना छात्राहरूमा सो लक्षण देखिएको थियो । दिदीलाई के भयो भनेर आत्तिदै हेर्न आएकी उनकी बहिनी कृष्टि (नाम परिवर्तन) मा पनि एकाएक यो लक्षण देखिएपछि विद्यालयमा एक प्रकारको तमासा नै भएको थियो ।
यही कारण गर्दा उक्त विद्यालय २ दिनका लागि बन्द भयो । दुई दिन समान्य देखिएकी सृष्टि तेस्रो दिन विद्यालय जाने बेलामा पुनः त्यसरी नै एक्कासि हल्लिने, चिच्याउने, काम्ने, उफ्रने, चिर्थोने, मनपरी बोल्ने तथा कोकोहोलो मचाउन थालिन् । दिदीसँगै बहिनी कृष्टिमा पनि यस्तै लक्षण देखियो । शिक्षिकाकाअनुसार आफ्ना छोरीमा यस्ता लक्षण देखिएपछि सृष्टिका बाआमा झारफुकतिर लागेका छन् । ठाउँ, ठाउँमा जति झारफुक गरे पनि बेलाबेलामा उनीहरूमा यस्ता लक्षण भने देखिइरहेका छन् । गाउँका कतिपय बूढापाका तथा जान्नेसुन्नेले यो रोग विवाहपछि ठीक हुन्छ भन्ने सुझाव दिएपछि अहिले सृष्टिका बाआमा तथा आफन्त सृष्टिका विवाह गर्न केटो खोज्दै छन् । तर सृष्टि भने विवाह गर्न तयार छैनन् । उनलाई पढ्न मन छ । पढेलेखेर आफ्नै खुट्टा उभिने उनको सपना छ ।
मास हिस्टेरिया के हो ः
हिस्टेरियाको लक्षण कुनै समुदाय, परिवार, गाउँ स्कुल, कलेज तथा अन्य ठाउँमा एकै पटक धेरै जनामा देखिन्छ भने त्यो मास हिस्टेरिया हो । केलाउँदै जाने हो भने सो समूहमा एक यस्तो व्यक्ति भेटिन्छ, जो कुनै तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया हुने प्रथम व्यक्ति हुन्छ । उसलाई हिस्टेरिया भएपछि अन्यमा पनि हिस्टेरिया हुन थालेको भेटिन्छ । यसरी पछि हिस्टेरिया हुनेहरू या त प्रथम व्यक्तिसँग भावनात्मक सम्बन्ध भएकाहरू हुन्छन् या उनीहरू त्रासको कारणले सो अवस्थामा पुगेका हुन्छन् ।
विद्यालय तथा छात्रावासजस्ता समूहगत रूपमा किशोर किशोरी रहने स्थानमा बेलाबेलामा मास हिस्टेरिया भेटिन्छ ।
समाजको दायित्व ः
कुनै व्यक्तिलाई हिस्टेरियाको लक्षण देखा प¥यो र अरूलाई पनि त्यस्तै किसिमका लक्षण देखा परेमा सर्वप्रथम त त्यस संस्था अथवा ठाउँको प्रमुख व्यक्तिले धैर्यतापूर्वक महìवपूर्ण भूमिका निभाउनुपर्छ । जस्तो कि विद्यालयमा यस किसिमको समस्या देखिने बित्तिकै प्रिन्सिपलले अत्यन्त संयमित भई पटक पटक यसबारेमा तथ्य सूचना प्रवाह गरिरहनुपर्छ । विद्यालय प्रशासनको गलत सूचनाले समस्या जटिल भई समाधानमा विभिन्न व्यवधान आउन सक्छ । यो रोग वा अन्य के कारणले बेहोस भयो भनी पत्ता लगाउन स्वास्थ्यकर्मीको सहायता लिनुपर्छ । मानसिक स्वास्थ्यमा तालिमप्राप्त स्वास्थ्यकर्मीले समेत हिस्टेरिया भए नभएको पत्ता लगाउन सहयोग गर्न सक्छन् ।
अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षण देखिएको खण्डमा विवाहले हिस्टेरिया ठीक गर्छ भन्ने गलत धारणा कायमै छ । विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ तर कतिपयलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ । कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उघ्र भएर आउँछ । त्यसैले हामीसबैले बुझ्नुपर्ने कुरा के हो भने विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठीक हुन्छ । त्यसैले हिस्टेरियाको उपचार आवश्यक छ ।
हिस्टेरियाको उपचारः
हिस्टेरिया होस् वा मास हिस्टेरिया होस्, यो पूर्णतया मनको खेल हो, अवचेतन मनको खेल हो । अर्का शब्दमा भन्ने हो भने यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । वास्तवमा यो रोग ‘म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसहरूले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ । ’
तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन, जसले हिस्टेरियालाई ठीक पारोस् तर औषधिको प्रयोगले हिस्टेरियाका केही लक्षणलाई क्षणिक रूपमा शान्त पार्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षण फेरि बल्झिने हुन्छ । निदानका लागि तनावको पहिचान आवश्यक छ । तर तनावको पहिचान गर्न त्यति सजिलो हुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिद्वारा पहिचान तथा निदान सम्भव छ । त्यसैले यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्छ ।

 प्रकाशित मिति: २०७४/५/१०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना