युवालाई किन विदेश पलायन हुन दिने ?

तिलकबहादुर कुमाल

 

 

हालै विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । सन् २००२ अगस्त १२ देखि संयुक्त राष्ट्र सङ्घको आयोजनामा यो दिवस मनाउने गरिएको छ । बाल र वृद्धावस्थाको तुलनामा युवावस्थामा स्मृति, चिन्तन, तर्क, व्याख्या, विश्लेषण र समालोचना आदि पक्षको तीव्र विकास र परिपक्वतातर्फ उन्मुख हुने गर्छ । मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक एवं जनसङ्ख्याको सर्वाधिक सक्रिय, ऊर्जावान एवं गतिशील समूह भएकोले युवाको सङ्ख्यात्मक र गुणात्मक विकास र दक्षताबाट विकसित देश निर्माण गर्न सकिन्छ भन्नेमा दुई मत नहोला ।
युवा अवस्थालाई विभिन्न मुलुकले विभिन्न तरिकाले परिभाषित गरेको पाइन्छ । अधिकांश मुलुकमा १५ देखि ३५ वर्षको उमेर समूहलाई युवा मानिएको पाइन्छ भने संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कजस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । नेपालमा राजनीतिक पार्टी र सामाजिक सङ्घ संस्थाले आआफ्नो अनुकूलतामा युवालाई परिभाषित गरेको पाइन्छ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्ष उमेर समूह निर्धारण गरेको छ । नेपालको जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको रहेको छ ।
देशका जनशक्ति, पविर्तनका संवाहक र उत्प्रेरक युवा जमात हुन् यो यथार्थ हो । युवालाई दक्ष र आत्मनिर्भर बनाउन राज्यको योजना र भूमिका के हुने भन्ने प्रश्न गहन छ । राष्ट्रप्रति युवाको दायित्व के हुने ? संसारका मुलुकले युवाको अन्तरनिहित प्रतिभालाई पहिचान गरी प्रस्फुटन गराई सीप, प्रविधि र व्यवसायमूलक शिक्षा नीति लागू गरेकै कारण विकसित मुलुक बन्नसके । नेपाल जलस्रोत, संस्कृति र प्रकृतिका अनुपम सम्पदाको भण्डार भइकन पनि किन पछाडि प¥यौँ ? हो युवामा इच्छाशक्ति, साहस र अवसरको कमी भएकै हो भने सोको अभाव परिपूर्ति गरी अवसर सिर्जना गर्ने राज्यको दायित्व हो । देशको विकास निर्माणमा युवाको परिचालन गर्न, गराउन राज्यबाट समुचित पहलकदमी प्रभावकारी हुन नसकेको यथार्थलाई नकार्न सकिँदैन । सीपमूलक, प्राविधिक, वैज्ञानिक शिक्षा प्रणाली अवलम्बन नभएकै कारण किताबी र सैद्धान्तिक ज्ञानको किरामात्र भएर देश सुहाउँदो शिक्षा पाप्त हुँदैन र व्यावहारिक र व्यावसायिक शिक्षा प्रणालीबाट मात्र सिर्जनशील र उद्यमी युवा उत्पादन हुन्छन् भन्ने पाठ सिकेका छौँ ।
स्वदेशमा स्वरोजगार र आत्मनिर्भर हुन नसक्नु मुलुकको वर्तमान र भविष्यको दुर्भाग्यपूर्ण विषय हो । बेरोजगारी र गरिबीको चपेटामा वैदेशिक रोजगारीमा पलायन भएका दक्ष, अर्धदक्ष, अदक्ष तथा शिक्षित युवालाई स्वदेशमा फर्काएर विदेशको प्रविधि, सीप शैलीलाई नेपालको विकासमा उपयोग गर्नुपर्छ । यो असम्भव कार्य होइन केवल राज्य र युवाको इच्छाशक्ति र योजनाको सफल कार्यान्वयनको मात्र खाँचो छ । स्वदेशमा कामको अवसर र वातावरण नहुनु, उद्यम वा व्यवसाय सञ्चालनमा जोखिम र कठिनाइको भय भई लगानी गर्नसमेत पाटा र बाटाको अभावमा बाध्य भएर विभिन्न बहानामा लाखौँ युवा विदेशिदा गाउँ बस्तीमा भइपरी, मलामी, मर्दापर्दा र मलिलो भूमि बाँझिएको अवस्था कटु यथार्थ हो । यतिमात्र होइन विदेशिएको युवा सकुशल स्वदेश फिर्ने नफिर्ने कुनै टुङ्गो छैन दैनिक विमानस्थलमा लाश भित्रिने क्रम बढ्दो छ ।
दिगो विकासका निम्ति कृषिको आधुनिकीकरण, पशुपालन, प्राकृतिक सम्पदा र कच्चा पदार्थको संरक्षण र सदुपयोग, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रचार र विकास गरी पर्यटन व्यवसायको स्थापना, विकास र विस्तार गर्ने र खानी उत्खनन र अनुसन्धान एवं जडीबुटी सङ्कलन र प्रशोधन उद्यम र व्यवसाय सञ्चालन देशको भूगोल, जलविद्युत्को उत्पादन एवं सिँचाइको पर्याप्तता, स्थानीय परिवेशमा उपलब्ध कच्चा पदार्थ र युवाको सीपको मूल्याङ्कन गरि उद्योग र कलकारखानाको स्थापना र स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन सके युवा शक्तिले विदेशिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेथियो ।
मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने प्रक्रिया अन्तिम चरणमा छ । युवालाई सक्षम, स्वस्थ, अनुशासित र गतिशील बनाउन खेलकुदलाई व्यवस्थित र सामाजिकीकरण गर्दै उचित साधनस्रोतबाट अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धी र सक्षम बनाउने र वृत्ति विकासमा योजनागत नीतिको कार्यान्वयन सम्बन्धित निकायले गर्नु उत्तम हुन्छ । साथै लागूऔषध र दूव्र्यसनबाट मुक्त समाजका लागि मुलुकमा स्थिर सरकार, सुशासन र रोजगारको क्षेत्रमा राज्यलगायत राजनीतिक दल नेता र समाजको सक्रिय योगदान तीव्र विकास हुनेमा शङ्का छैन ।

प्रकाशित मिति: २०७४/५/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना