वैदिक संहिता र विज्ञान

kamal rijalकमल रिजाल

 

वैदिक संहिता हाम्रा अमूल्य निधि हुन् । यिनीहरू ज्ञानका जति ठूला खानी मानिएका छन् । विज्ञानका दृष्टिले पनि त्यति नै ठूला भण्डारका रूपमा रहेका छन् । खगोल पनि यसैमा छ । भूगोल पनि यसैमा छ । अनि अखिल विश्व– ब्रह्माण्डमा जीवन र जगत््सित सम्बन्धित जे जति गतिविधि भएका छन्, सबै यसैमा अटेका छन् । रुसी साहित्यकार लियो टालसटायले एक स्थानमा भनेका छन्– ‘वेदमन्त्रमा यति गहिरो विचार प्रकट भएको पाइन्छ कि जसले अहिले पनि हामीलाई प्रभावित गरिरहेका छन् । ’ कल्याण वेद–कथाङ्क (पृष्ठ २६७) त्यस्तै फ्रान्सिसी लेखक भोल्तेयर (सन् १६९४–१७७८) ले भनेका छन्– ‘वेद एउटा यस्तो सर्वाधिक मूल्यवान् उपहार हो, जसको निमित्त पाश्चात्य जगत् सदैव पूर्वप्रति ऋणी रहेको छ । ’ ‘पूर्वीय सभ्यता’ नेपाली अनुवाद प्रा.डा. गोविन्दराज भट्टराई, (पृष्ठ ४१)’ त्यसैगरी अमेरिकी लेखक राल्फ वाल्डो इमर्सन (सन् १८०३–१९८२) भनेका छन्– ‘वेदहरूले मलाई पछ्याइरहन्छन् । तिनमा मैले अनन्त अनुकम्पा, अगम्य शक्ति र अवच्छिन्न शान्ति प्राप्त गरेको छु । ’
(ऐ. ऐ. पृष्ठ ६१) अझ अर्का अमेरिकी लेखक तथा दार्शनिक हेनरी ड्याभिट थोरो
(सन् १८१७ – १८६२) का अनुसार भन्ने हो भने त वेदको एउटै ऋचा पनि म्यास्याचुसेट्स राज्यभन्दा ठूलो छ रहेको पाइन्छ (ऐ. ऐ. पृष्ठ ६३) ।
वस्तुतः वैदिक संहितामा विज्ञान र प्रविधिको क्षेत्रमा जे जति उल्लेख भेटिन्छन् आधुनिक विज्ञान र वैज्ञानिक अहिले पनि त्यसैको सेरोफेरोमा घुमिरहेका पाइन्छन् । अझ कतिपय प्रकरणमा त आधुनिक विज्ञानलाई उनीहरूको छेउछाउसम्म पुग्न पनि अझ कति कुनुपर्ने हो यसै भन्न सकिन्न । कैलाशवासी महादेव निकै ठूला वैदिक देवता हुन् । वैदिक संहिताहरूका निकै मन्त्रले विभिन्न नाममा उनको उपासना गरेका छन् । तिनै महादेव यस्ता शल्यचिकित्सक पनि हुन्, जसले त्यतिबेलै अर्का वैदिक देवता गणेशका शिरप्रत्यारोपण गरिसकेका छन् जतिबेला आधुनिक विज्ञान प्रकृतिको कुन गर्भमा थियो भन्ने अनुमानसम्म पनि लगाउन सकिन्न । महादेवपछि शिर प्रत्यारोपण गर्ने दोस्रो वैदिक देवतामा अश्विनिकुमारहरू पर्छन्, जसले अथर्वा ऋषिका छोरा महर्षि दध्यङको टाउको काटी घोडाको टाउको जोडिदिएका थिए । यी त सामान्य दृष्टान्त मात्र हुन्, खोजीपसे उनीहरूले गरेका यस्ता कामका दर्जनौँ उदाहरण पाउन सकिन्छ ।
मूलतः यी अश्विनिकुमार भनेका त्यस्ता वैदिक वैज्ञानिक हुन्, जो कुशल शल्यचिकित्सकका साथै अति सहयोगी र परम उपकारीका भूमिका निर्वाह गर्ने
कामसमेत गर्दै आएका छन् । उनीहरूले समुद्रमा डुबेर मर्नै लागेका भुज्यु ऋषिलाई बचाएका पनि छन् । शत्रुको घेरामा परेका राजा पैदुलाई शत्रुविजय गर्न सक्ने गराएका पनि छन् । असुरहरूले अँध्यारो कुवामा फ्याँकिदिएका ऋषि अत्रिको उद्धार गरेका पनि छन् । वृद्ध च्यवन ऋषिलाई जवान बनाउने काम गरेका पनि छन् । ऋषिपुत्री घोषालाई पति र कण्वऋषिलाई पत्नी उपलब्ध गराउन पनि पुगेका छन् । अनि तिनै कण्वको मोतिया विन्दुको शल्यक्रिया गर्न पुगेका पनि देखिन्छन् । कैयौँ रोगीहरूलाई निरोगी बनाएका पनि छन् र हात खुट्टा भाँचिएर अपाङ्गता भएका कैयौँलाई सबलाङ्ग बनाउने कामसमेत गरेका पनि छन् ।
ऋग्वेद संहिताका प्रथम र दशम मण्डल विज्ञान र प्रविधिको दृष्टिले बढी महìवपूर्ण देखिएका छन् । यद्यपि यिनलाई केही पश्चिमी शोधकर्ताले अन्यको तुलनामा अर्वाचीन मानेका छन् । उनीहरूका अनुसार यी दुवै मण्डलका पूरै वा केही मन्त्र पछि थपिएका हुन् । (कल्याण वेद– कथाङ्क पृष्ठ १७८) तर प्रायः सबै पूर्वीय वैज्ञानिकले तिनलाई वेदप्रति वैमनस्यता बढाउने पूर्वाग्रहबाहेक केही हुनै सक्दैनन् भनेका छन् । उनीहरूका अनुसार वेद नित्य ईश्वरीय ज्ञान भएकाले यसमा कसैले पनि थपघट गर्लान् वा गर्न सक्लान् भन्ने कल्पनासम्म पनि गर्न सकिन्न । (डा. विवेक आर्य वेदौंको जाने
(पृष्ठ २८) ऋग्वेद प्रथम मण्डलमा १९१ वटा सूक्त र मधुच्छन्दा वैश्वामित्र आदि दर्जनौँ ऋषिहरूद्वारा देखिएका १९७६ वटा मन्त्रहरू छन् ।
विद्वान्हरूका अनुसार ऋग्वेद मण्डल एकको पहिलोदेखि चारौसम्मका सूक्तका मन्त्रहरू र सूक्त २२ को १३ औ मन्त्रद्वारा क्रमशः अग्नि, वायु, आकाश, जल, तथा पृथ्वी तìव तथा तिनका अधिष्ठात्री देवताहरूको उसपासना भएका छन् । यसबाट उनीहरूले प्रकृतितर्फ नफर्की वा प्राकृतिक सन्तुलन नमिलाइ जीवनको उद्देश्य पूरा हुन सक्दैन भन्ने सन्देश त यसै पनि दिएकै छन् साथसाथै ग्रन्थको शुरुमै सृष्टिको मूलाधार मानिएको पञ्चतत्व अर्थात् पञ्चमहाभूतलाई नमन गर्नसमेत पुगेका छन् । यसबाहेक अन्य विभिन्न सूक्तमा ऋषिहरूले अन्तरीक्ष र सागरमा प्रशस्त धन छ भनेका पनि छन् । पृथ्वीमा प्रशस्त खानीको भण्डार रहेको कुरा गरेका पनि छन् । त्यस्तै उनीहरूले पानीमा अग्निक र विजुलीको झिल्का देखेका पनि छन् । पानीमै औषधीको गुण पाएका पनि छन् । त्यसैगरी उनीहरू कतै बादल ठोक्किँदा विजुली चम्कन्छ भन्न पुगेका छन् भने कतै अन्तरीक्ष र पानीमा पनि समानरूपले हिँड्न सक्ने यान तथा डुङ्गाको कुरा गर्न पुगेका देखिन्छन् ।
यी त भए प्रथम मण्डलका कुरा । दशौं मण्डल पनि यो भन्दा कम्ती महìवको छैन । यस मण्डलमा पनि १९१ वटै सूक्त छन् भने मन्त्रसङ्ख्यामा त्रित आप्त्य, त्रिशिरा त्वाष्ट्र, यम यमी आदि दर्जनौँ ऋषिद्वारा देखिएका १७५० वटा रहेका छन् । यसको १२९ औँ सूक्तलाई नासदीय सूक्त भनिन्छ । यसका छैटौँ मन्त्रमा ऋषि प्रजापति परमेष्ठिले त्यतिबेला जे भनेका थिए हाल आधुनिक वैज्ञानिक त्यही भनिरहेका छन् । त्यस्तै यसै मण्डलको १९० औँ सूक्तको तेस्रो मन्त्रमा उल्लेख भएअनुसार सूर्य, चन्द्र, पृथ्वी आदि समग्र संसारलाई न कसैले बनाएको हो ।
निःसन्देह हाम्रा वैदिक संहिता भनेका यस्ता अनमोल ग्रन्थ हुन्, जसले ज्ञान र विज्ञानको धरातललाई पिँधैसम्म पुगेर उद्वोधन गराउने प्रयास गरेको छ । कृषि, वाणिज्य तथा गोरक्षाको कुरा पनि गरेका छन् । गीत सङ्गीत तथा नाट्य विधाको प्रसङ्ग उठाएका पनि छन् । राष्ट्र तथा राष्ट्रियताको कुरा पनि गरेका छन् । राष्ट्रिय एकता तथा पुनर्जागरणको कुरा पनि गरेका छन् । राजनीति पनि यसैमा छ । कूटनीति पनि यसैमा छ । शास्त्र विज्ञान पनि छ । शस्त्र तथा अस्त्र विज्ञान पनि छ । जल तथा मौसम विज्ञान पनि छ । योग तथा नियोग विज्ञान पनि छ । वन तथा वनस्पति विज्ञान पनि छ । ध्वनि तथा धनुर्विज्ञान पनि छ । अध्यात्म तथा आयुर्विज्ञान पनि छ । आहार तथा विहार विज्ञान पनि छ । अणु तथा परमाणु विज्ञान पनि छ । भूमि तथा भौतिक विज्ञान पनि छ र गृह तथा वास्तु विज्ञान पनि छ । समग्रमा भन्नुपर्दा संसारमा धर्म, अर्थ, काम र मोक्ष चारै किसिमको पुरुषार्थ सिद्ध गरी मानव मात्रलाई परम आनन्दको मार्ग प्रदर्शन गर्ने कुनै ग्रन्थ छन् भने वैदिक संहिता नै रहेका छन् ।

 प्रकाशित मिति: २०७४/५/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना