दल दर्ता गर्न आयोगमा ९५ वटा निवेदन

काठमाडौँ, भदौ १२ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । व्यवस्थापिका–संसद्भित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । 

मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबारसम्म निवेदन दिन आयोगले समय तोकेको थियो । आइतबार मात्रै ३१ राजनीतिक दलले निवेदन दिएका छन् । दलले आयोगमा बुझाएका कागजातको छानबिन गरी संविधान, ऐन र कानुनअनुसार भए दल दर्ता गरिने जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले निवेदनका लागि आएका कागजातको भदौ २५ गतेभित्र छानबिन पूरा गरी आयोगमा पेस गर्न निर्देशन दिनुभएको छ । आयोगमा दल दर्ताका लागि व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ७९औँ नम्बरमा निवेदन दिएको छ भने कुमार खड्का अध्यक्ष रहेको अखण्ड पार्टी नेपालले ९५औँ नम्बरमा निवेदन दर्ता गराएको छ । आयोगमा दल दर्ताका लागि पहिलो नम्बरमा बिजुलीप्रसाद तिम्सिना अध्यक्ष रहेको ग्रिन पार्टी नेपालले निवेदन दिएको छ । संसद्मा रहेका सबै दलले निवेदन दिएको जानकारी प्रवक्ता शर्माले दिनुभयो ।
प्रवक्ता शर्माका अनुसार व्यवस्थापिका–संसद्मा क्रियाशील रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक), उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर जबरा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति पार्टी नेपाल लगायतले दल दर्ताका लागि आइतबार निवेदन दिएका छन् ।
स्थानीय तह निर्वाचनमा सहभागी नभएका दलले पनि प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिनका लागि सहभागिता जनाएका छन् । नेपालको संविधानको धारा २७१ अनुसार २०७४ असार मसान्तसम्म आयोगमा दल दर्ता भएका दलले मात्रै निवेदन दिन पाउनेछन् ।
स्थानीय तह निर्वाचनका लागि ८० वटा राजनीतिक दलले निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिएकामा ६३ दलले निर्वाचनमा भाग लिएका थिए । आयोगले दिएको जानकारीअनुसार ६३ वटा दलमध्ये पहिलो र दोस्रो चरणको निर्वाचनमा १४ वटा दलले मात्रै सिट जितेका छन् ।
आयोगमा पाँचवटा समूहले निर्वाचन चिह्न पाउनका लागि समेत निवेदन दिएको जानकारी कानुन शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले दिनुभयो । पूर्वमन्त्री प्रेमबहादुर सिंहले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्नमा चुनावमा जाने जानकारी दिनुभयो । यस्तै सीपी मैनाली महासचिव रहेको नेकपा (माले)ले अन्य दलसँग मिलेर चुनावमा जाने जनाएको छ ।
राजपाको सहभागिता खुसीको विषय
काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निर्वाचनमा सहभागी हुनु काँग्रेस र निर्वाचन आयोगका लागि पनि खुसीको विषय भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “काँगे्रेस सरकारमा रहेको दल हो र यो सबै दलले संविधानलाई स्वीकार गरून् भन्ने चाहन्छ । राजपाले दल दर्ता गराएर निर्वाचनमा जानु काँगे्रेस र आयोगका लागि पनि खुसीको विषय हो । ” काँगे्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७९औँ नम्बरमा दल दर्ता गराएको छ ।
दल दर्ताका लागि आयोग पुग्नुभएका कार्यवाहक सभापति निधिले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयुक्तसँगको भेटपछि भन्नुभयो, “निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु भनेको संविधान स्वीकार्नु हो, दलहरूमा संविधानप्रतिको आफ्नो धारणा छँदैछ तर प्रक्रियालाई स्वीकार गर्नु ठूलो कुरा हो । ” उहाँले लोकतन्त्र, सङ्घीयता, समावेशी, धर्मनिरपेक्ष र मिश्रित निर्वाचन प्रणालीमा आधारित संविधान कार्यान्वयन गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो ।
राजनीतिक अड्चनलाई सम्बोधन र समाधान गर्न सक्रियता लिएको काँग्रेसले प्रदेश नम्बर २ को निर्वाचनमा उत्साहपूर्वक भाग लिने र यसै कारण सबैभन्दा बढी मत ल्याएर विजयी हुने दाबी पनि उहाँले गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds