वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म

बासुदेव पौडेल, पोखरा, भदौ १३ गते । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका अवस्थामा २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो ।

नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी बढेका अवस्थामा पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल(वात्स्यायन)ले तयार गरेको संवैधानिक राजतन्त्र भएको घोडाको लाश बोकेर तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला हिँडेको कार्टुन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा नै चासो र चर्चाको विषय बन्यो ।

तत्कालीन अवस्थासम्म संवैधानिक राजतन्त्रको पक्षमा रहेको नेपाली काँग्रेसलाई व्यंग्य गर्न वात्स्यायनले तयार गरेको त्यो कार्टुनलाई दरबारले पूर्णतः नकारात्मक रुपमा लियो ।

“सो कार्टुनलाई संवैधानिक राजतन्त्रको खुलेआम विरोध हो भन्दै शृं्खलाबद्ध विरोध आउन थाले,” कार्टुनका निर्माता वात्स्यायनले भन्नुभयो, “तत्कालीन अवस्थामा विभिन्न सञ्चार माध्यममा त्यसको विरोध भयो, मलाई फाँसी दिनुपर्छ भन्ने सम्मका लेख आए ।”

कलाकारिताका क्षेत्रमा निरन्तर क्रियाशील वात्स्यायनलाई मदन पुरस्कार गुठीले २०७३ सालको जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समसामयिक विषय र विसंगतिलाई कार्टुन चित्रमा संक्षिप्त र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोगका माध्यमबाट समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेको भन्दै गुठीले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।

विसं २०४५ मा जगदम्बा रानीको निधनपछि उनको सम्झनामा जगदम्बा श्री पुरस्कार स्थापना भएको थियो । उक्त पुरस्कारको राशि रु दुर्ई लाख रहेको छ । विसं १९९९ चैत ५ गते कास्कीको आर्वामा पिता हरिवंश बराल र माता कलावती बरालबाट जन्मेका दुर्गा बरालको साहित्यिक नाम वात्स्यायन हो ।

उहाँको राशीको नाम डुबराज बराल रहेको भए पनि विद्यालयमा भर्ना हुँदा अभिभावक तथा शिक्षकले दुर्गा बराल राखे पनि अन्ततः वात्स्यायनका नामले नै उहाँ परिचित हुनुहुन्छ ।

कार्टुनका माध्यमबाट ब्याङ्ग्यात्मक पाराले तत्कालीन पञ्चायती व्यवस्था विरुद्धमा ब्यङग्य गर्ने भएका कारण केही मात्रामा नै भए पनि आफ्नो सुरक्षाका लागि वात्स्यायन नाम राखेको उहाँको भनाइ छ ।

पोखरास्थित राष्ट्रिय बहुउद्देश्यीय विद्यालयबाट २०१८ सालमा एसएलसी उत्तीर्ण बनेका वात्स्यायन २०१९ सालमा पृथ्वीनारायण क्याम्पसमा आइएस्सी भर्ना हुनुभयो ।

एक वर्ष पढिसकेपछि क्याम्पसले आइएस्सी सञ्चालनको अनुमति प्राप्त नगरेका उक्त समय त्यतिकै बित्यो । त्यसपछि २०२० सालमा चित्रकला पढ्नका लागि काठमाडौँं जानुभएका उहाँले घरेलु शिल्पकला केन्द्र त्रिपुरेश्वरमा डिजाइन विषयको तालिम लिनुभयो ।

“मलाई खासमा चित्रकलामा नै रुचि थियो, घरेलु शिल्पकलामा दिइने तालिम फर्निचर तथा कपडामा बुट्टा भर्ने किसिमको रहेछ,” उहाँले भन्नुभयो, “तीन महिना तालीम लिएपछि छाडेर ललितकला अध्ययन गर्न छात्रवृत्तिका लागि प्रयास गरेँ ।”

काठमाडौंँमा बस्दा क्षेत्रपाटी, टेंबहाल जस्ता विभिन्न ठाउँमा डेरा सरेको अनुभव सुनाउँदै उहाँले २०२२ सालदेखि जनक शिक्षा सामग्री केन्द्रमा नासुस्तरको जागिर खाएको बताउनुभयो ।

उक्त समयमा नै प्राइभेटबाट आइए उत्तीर्ण गरेका वात्स्यायनलाई २०२५ सालमा जापनामा गएर ग्राफिक्स आटर््स विषयक तालिम लिने अवसर मिल्यो । आफ्नो थप प्रगतिको सम्भावना नदेखेपछि २०२८ सालमा जनक शिक्षाको जागिर छोडेका वात्स्यायनले पोखरा फर्केपछि २०३१ सालमा व्यावसायकि कलाको उद्देश्यका साथ इगल आइआर्ट स्टुडियो खोल्नुभयो ।
उक्त समयमा पोखरामा विदेशी पर्यटकको आगमन बढ्दै गएका कारण सिर्जित कलाको राम्रै बिक्री हुनेगरेको उहाँको अनुभव छ ।

२०३२ सालमा पृथ्वीनारायण क्याम्पसमा शिक्षा शास्त्रतर्फ कला विषय अध्यापन गर्ने अवसर पाउनु भएका उहाँले २०५६ सालसम्म उक्त कलेजमा अध्यापन गर्नुभयो । २०५२ सालदेखि कान्तिपुरमा कार्टुनिष्टका रुपमा साइनो जोडेका वात्स्यायन २०५६ पछि भने करिब डेढवर्ष पूर्णकालीन कार्टुनिष्टका रुपमा काम गर्दै हालसम्म पनि क्रियाशील हुनुहुन्छ

जनक शिक्षामा काम गर्दादेखि नै पत्रकारसँग भेटघाट बढेको बताउने वात्स्यानलाई कार्टुनिष्ट बनाउनका लागि सर्वप्रथम तत्कालीन ‘नयाँ सन्देश’ पत्रिकाका रमेशनाथ पाण्डेले आग्रह गर्नुभएको थियो ।

“आफूलाई खर्च चलाउन पनि सजिलो हुने ठानी पाण्डेको आग्रहलाई स्वीकार गरी कार्टुन तयार गर्न थालेँ,” – उहाँले भन्नुभयो । नयाँ सन्देशमा दुई÷तीनवर्ष काम गरेका वात्स्यायनका कार्टुन त्यसपछि प्राङ्गण, राष्ट्रपुकार, सुरुचि, समीक्षा, गोरखापत्र जस्ता विभिन्न पत्रपत्रिकामा छापिन थाले ।

२०७३ सालको जगदम्बाश्री पुरस्कार प्राप्त गरेका वात्स्यायनले यस अघि २०६४÷०६५ को राष्ट्रिय प्रतिभा पुरस्कार, २०७३ मा कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार, सन् २००३ मा बिपी पत्रकारिता पुरस्कार, गोपालदास पत्रकारिता पुरस्कार जस्ता दर्जनाँै पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएको छ भने नेपाल पत्रकार महासङ्घबाट प्रेस स्वतन्त्रा सेनानी सम्मानसमेत प्राप्त गरिसक्नुभएको छ ।

श्रीमती पार्वती बराल तीन छोरा र एक छोरीका अभिभावक वात्स्यायन हाल ७५ वर्ष उमेर पुगे पनि निरन्तर आफ्नो साधनामा क्रियाशील हुनुहुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना