रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय नाका घोषणा

राजेश चाम्लिङ राई

 

काठमाडौँ, भदौ १५ गते । नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रिय नाकाको रूपमा प्रयोग हुने भएको छ । दुई देशका अधिकारीहरूले बुधबारदेखि अन्तर्राष्ट्रिय नाकाको रूपमा यो नाकालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । दुवै देशका अधिकारीहरूले यस नाकालाई विकसित गरेर अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताउनुभयो ।
अन्तर्राष्ट्रिय नाकाको रूपमा रूपान्तरण भएपछि यस नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् । दुई देशबीच मुख्य नाकाका रूपमा प्रयोग हुँदै आएको तातोपानी २०७२ सालको भूकम्पपछि बन्द रहेको अवस्थामा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्ने सहमति भएको हो ।
चीनको स्वशासित क्षेत्रको तिब्बतसँग जोडिएको यो नाका तातोपानी बन्द भएपछि पहिलो विकल्पको रूपमा प्रयोग हुँदै आएको थियो । ल्हासामा दुवै देशका अधिकारीहरूले संयुक्त विशेष कार्यक्रम गरेर नाकालाई अन्तर्राष्ट्रिय बनाउने सुखद घोषणा गर्नुभएको जनाइएको छ । महावाणिज्यदूत कार्कीका अनुसार नाका सञ्चालनका लागि चीनतर्फको सम्पूर्ण पूर्वाधार तयार भइसकेको छ । नेपालतर्फ पनि पूर्वाधार निर्माणको थप काम भइरहेको छ । ‘अन्तर्राष्ट्रिय स्तरको बनाइएपछि दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने छ,’ ल्हासामा रहनुभएका कार्कीले इमेलमार्फत जानकारी दिँदै भन्नुभयो, ‘नेपालले चीनको दीर्घकालीन योजना वन बेल्ट वन रोड (ओबोर) मा हस्ताक्षर समेत गरिसकेको छ । यो नाका अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालन भएपछि दुवै देशको सम्पर्क सञ्जाल एवम् व्यापार, पर्यटन र लगानी प्रवद्र्धन हुनेछ । ’
चिनियाँ अधिकारीले पनि यसलाई जोड दिँदै नाकालाई थप सुविधा सम्पन्न बनाउने बताउनुभएको छ । ‘यस नाकालाई अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण गरेबाट दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिवृद्धि हुनेछ,’ ल्हासामा आयोजित कार्यक्रममा तिब्बत सरकारका सहायक अध्यक्ष लु मेईले राख्नुभएको धारणा उद्धृत गर्दै कार्कीले भन्नुभयो, ‘यसबाट चीनको ओबोर कार्यान्वयन गर्दै नेपालको विकासमा समेत सहयोग पुग्ने छ । ’ rasuwagadhi naka
यो नाका भविष्यमा चीनलाई दक्षिण एसियासँग जोड्ने महत्वपूर्ण प्रवेशमार्ग हुने दुवै देशका अधिकारीहरूको विश्वास छ । दुवै देशले यसै नाकामार्फत दुई देशलाई रेलमार्गसँग जोड्ने पहलसमेत गरिरहेको छ । नेपालका तर्फबाट यही मार्ग हुँदै नवलपरासीबाट भारतलाई जोड्ने ठूलो सडकमार्ग निर्माण गर्ने पहल भइरहेको छ । केही वर्षअघिसम्म सीमा क्षेत्रमा रहेका वासिन्दाहरूबीच सामान्य व्यापार आदान प्रदानको काममा मात्र प्रयोग हुँदै आएको यो नाका २०७१ मङ्सिर १५ देखि द्विपक्षीय नाकाको रूपमा सञ्चालन हुँदै आएको थियो ।
उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिकहरू वैधानिक राहदानी र भिसा लिएर एक अर्काका मुलुकमा आवतजावत गर्नसक्ने अवस्था थियो । दुवै देशले तीन महिनाअघि मात्र जुन महिनामा यसलाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्तरोन्नति गर्नेबारे कूटनीतिक पत्र आदानप्रदान भएको थियो ।
एक हजार २३६ किलोमिटर सीमा जोडिएको नेपाल र चीनबीच ठूलो व्यापारिक नाका भने तातोपानी मात्र थियो । नेपालको उत्तरी छिमेकी चीनसँगको सम्बन्ध विस्तारित हुँदै जाँदा व्यापारिक प्रयोजनका लागि सञ्चालनमा ल्याउन सकिने करिब एक दर्जन नाकाहरू चाँडै खुला गरिने सहमति भएको छ । यद्यपि हाल दुई देशबीच रसुवागढी मात्र प्रयोगमा आएको छ । अन्य केही नाकाहरूमार्फत निकै सानो मात्रामा मात्र व्यापार हुने गरेको छ । दुई देशबीच वार्षिक अर्बौं रुपियाँको व्यापार हुने गरेको छ । तर, बलियो पूर्वाधारसहितको स्थल मार्ग नहुँदा तेस्रो मुलुक हुँदै सामान आपूर्ति गर्नुपर्ने बाध्यता छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना