शेयर बजारमा घट्दो उत्साह

sarojसरोज अधिकारी

 

अघिल्ला वर्षमा शेयर बजारमा बढोत्तरी आउने समयमा यसपटक भने बजारमा खासै उत्साह छैन । नेप्सेमा सूचीकृत संस्थाको आर्थिक वर्ष ०७३–७४ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक भइसकेको अवस्था र कुन कम्पनीले लगानीकर्तालाई कति प्रतिफल दिने भन्न कुराको निक्र्यौल पनि हुने चरणमा समेत बजारमा खासै उत्साह नदेखिनुले लगानीकर्तालाई आश्चर्यमा पारेको छ । नेप्सेमा दैनिक सामान्य उतारचढाव देखिएको भए पनि कारोबार न्यून बन्दै गएको छ । बजार सुस्ताएको वर्तमान परिस्थिति शेयर खरिदका लागि उपयुक्त समय भएको तर्क कतिपय विश्लेषकले दिने गरेको देखिन्छ । नेप्से परिसूचकाङ्क एक हजार ८८१ को उच्च बिन्दुमा रहेका बेलामा पनि बजार अझै माथि जान्छ भन्ने अनि केही घट्नेबित्तिकै खरिदको समय हो भन्ने तर्क नआएको होइन तर शेयर बजारमा लगानी गर्नेहरूले समग्र बजार कता जान्छ भन्ने कुरालाई भन्दा पनि आफूले कुन कम्पनी खरिद गर्न चाहेको हो, अनि त्यसको भविष्य कस्तो हुनेछ भन्ने कुराको आँकलन गर्नु उपयुक्त हुन्छ । नेप्सेमा भएका समूहगत शेयरको कारोबारमा पनि आगामी दिनमा सरकारको कस्ता नीतिले कुन समयको शेयरमा कस्तो प्रभाव पार्छ भन्ने कुरा महŒवपूर्ण हुने देखिन्छ । शेयर बजारको अबको दिशा कता भन्नेभन्दा पनि सरकारी नीतिले कुन समूहको शेयर अझ त्यसमा कुन शेयरमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरामा बलियो अध्ययनमा लगानीकर्ताले विश्वास गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो । भूकम्प, भारतीय नाकाबन्दी, नेपाल राष्ट्र बैङ्क र बीमा समितिका शेयर बजारलाई प्रभावित पार्ने नीति र हालै आएको बाढीले शेयर बजारलाई विभिन्न समयमा प्रभाव पारेकै हो । यसैले बजारलाई प्रभाव पार्ने परिस्थिति तथा नीति कस्तो आउन सक्छ भन्ने सम्भावनालाई हेर्नुभन्दा आएको नीतिले कुन क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने कुरा महŒवपूर्ण हुन्छ । अहिले लगानीकर्ताले अध्ययन गर्ने भनेको बीमा कम्पनीले चुक्ता पुँजी बढाउँदा आफ्नो लगानीको शेयर कति मात्रामा बढ्छ र बजारमा त्यसको मूल्य कति कायम भएका फाइदा हुन्छ भन्ने नै हो । त्यसैगरी बीमा कम्पनीको व्यापार कसरी बढ्दैछ भन्ने पनि महŒवपूर्ण हुने देखिन्छ । बैङ्क तथा वित्तीय संस्था शेयर खरिदमा भने आगामी दिनमा धेरैले नगद लाभांश मात्र दिन सक्ने भए पनि संस्थाको निक्षेप, कर्जा, समग्र व्यापार र नाफामा भएको बढोत्तरी, बढ्दो सञ्चिती कोष र घट्दो खराब कर्जा हेरर खरिद गर्दा घाटा हुने सम्भावना न्यून हुन्छ ।
शेयर खरिद गर्ने उपयुक्त समय हो भन्ने तर्कमा केही सत्यता देखिए पनि ऋणमा रकम ल्याएर बजारमा शेयर खरिद गर्दा फाइदा हुने अवस्था छ त ? प्रश्न अझै कठिन छ । बैङ्क तथा वित्तीय संस्थामा तरलताको अवस्था सामान्य भइसक्दा पनि ऋण लगानीका लागि ब्याजदर अझै चर्को छ । हालै मात्र कैलाश विकास बैङ्कले शेयर कर्जा १२ प्रतिशतमा दिने भन्ने कुरा बाहिर आएकोले अब ऋण सस्तो भयो बजारमा लगानी बढ्ने भयो भन्ने आँकलन गर्नु गलत हुन सक्छ । मेगा बैङ्कको ६५ प्रतिशत हकप्रदका लागि लगानीकर्ताका लागि ठूलो मात्रामा रकम आवश्यक पर्छ । अझ साना रकमको हकप्रदको सङ्ख्या त कति हो कति । बीमा क्षेत्रका दश जीवन बीमाले स्वीकृति पाइसकेको र आईएमई जीवन बीमाले कारोबार नै शुरु गरिसकेको परिस्थितिमा आगामी दिनमा दश जीवन बीमा कम्पनीको झण्डै छ अर्बको प्राथमिक शेयर आउने निश्चित छ । त्यसको अतिरिक्त हाल पाइप लाइनमा रहेका लघुवित्त, जलविद्युतलगायतका प्राथमिक शेयरका लागि समेत थुप्रै पैसा चाहिने निश्चित छ । यस्तो परिस्थितिमा दोस्रो बजारमा शेयरको मूल्यमा एकाएक बढोत्तरी आउँछ भनेर खरिद गरिहाल्नु गलत निर्णय हुन सक्छ । बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर अझै उच्च रहनुले पनि दोस्रो बजारमा शेयर खरिदको आकर्षण बढन अवरोध सिर्जना गरेको देखिन्छ । बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजी पु¥याउने क्रममा बोनस शेयर तथा हकप्रद दिने निश्चित छ तर आफूले हाल गरेको लगानीबाट प्राप्त शेयरमा सङ्ख्या थपिनु मात्र नाफा होइन । बैङ्क तथा वित्तीय संस्थाले दिने प्रतिफलको अनुपातभन्दा बजारमूल्य तल झर्दाको अवस्थामा लगानीकर्ताले खासै नाफा लिन सक्ने अवस्था नहुन सक्छ ।
शेयर बजारमाथि जानका लागि अनलाइन ट्रेडिङको कार्य अघि बढाउनुपर्ने, ब्याजदरमा कमी आउनुपर्ने जस्ता प्रमुख कुरा हुन नसकिरहेको वर्तमान अवस्थामा बजार एकाएक माथि जान्छ भन्ने अनुमान गलत नै साबित हुने देखिन्छ । त्यसैगरी हालै मात्र मुलुकको तराईमा देखिएको बाढीको प्रभावले समग्र अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव पनि बजारले झेल्नुपर्ने देखिन्छ । आगामी दिनमा बैङ्क तथा वित्तीय संस्थाको तराईको शाखाले प्रदान गरेको कर्जा असुली सुस्त हुने निश्चित छ, त्यसले आर्थिक वर्ष ०७४–७५ को पहिलो त्रैमासको प्रगतिमा असर देखाउने निश्चित छ । चालु आर्थिक वर्षमा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजी पु¥याइ सक्ने भएकोले अब नगद लाभांश मात्र दिन सक्ने आँकलनले पनि बजारलाई माथि जान बाधा पु¥याएको छ तर सबै बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजीको सीमाभित्र बाधिएर रहने अवस्थामा देखिँदैनन्, त्यस्ता केही बैङ्क तथा वित्तीय संस्थाले भने बोनस शेयर पनि दिन सक्ने भएकोले शेयर खरिद गर्दा चालु आर्थिक वर्षको नाफाबाट समेत बोनस शेयर र उच्च मात्रामा नगद लाभांश दिन सक्ने संस्थाको खोजी लगानीकर्ताले गर्नुपर्ने हुन्छ । लगानीकर्ताले चर्को ब्याजको ऋण नभएर आफूसँग बचतको रकम शेयरमा लगानी गर्ने हो भने उपयुक्त अवसरको खोजी गर्न सकिन्छ तर बचतको रकम लगानी गर्ने सम्भावना थुप्रै भएको बेला दोस्रो बजारमाथि जाने सम्भावना कम भएकोले लामो समयको सोच राखेर मात्र बजारमा लगानी गर्नुपर्ने हुन सक्छ । ०७३ साल साउन महिनाको उच्च बिन्दुबाट झर्न थालेको बजार अझै सो बिन्दु पार गर्न सकेको छैन । यस्तो परिस्थितिमा बजार अझै आगामी चैत्र–वैशाखसम्म नयाँ उचाइमा पुग्ने सम्भावना न्यून नै देखिन्छ । शेयर बजार भनेको नै लोभ र डरको बजार हो । तसर्थ, हाल डरलाई जित्दै लामो समयका लागि दोस्रो बजारमा लगानी गर्न सक्नेले राम्रो लाभ लिन सक्ने अवसर भने सिर्जना भएको छ ।

 

प्रकाशित मिति: २०७४/५/१४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना