एक महिनादेखि भन्सारमै मालवाहक कन्टेनर

हेमनाथ खतिवडा

 

रसुवा, भदौ १६ गते । रसुवागढी भन्सारमा केरुङबाट आएका मालबाहक कन्टेनर एक महिनादेखि अलपत्र परेका छन् । भर्खरै घोषित अन्तर्राष्ट्रिय नाकामा कारोबार मूल्य तोक्ने विषयमा कर्मचारी र व्यापारीबीच समझदारी हुन नसकेपछि झण्डै हजार गाडी अलपत्र परेका हुन् ।
सरकारले चालु आवका लागि गतवर्षको तुलनामा राजस्व लक्ष्य वृद्धि गरेपछि भन्सार दरमा पनि वृद्धि गरिएको थियो । हाल व्यापारी र भन्सार कर्मचारीबीच दररेटमा भएको फेर बदलमा कुरा नमिलेपछि दसैं तिहारजस्ता चाडबाडका लागि व्यापारीले ल्याएका सामान नाकामा अलपत्र परेका छन् । रोकिएका वस्तुमा तयारी पोसाक, कम्प्युटर पार्टस्, फर्निचर, ब्याग, कस्मेटिक, विद्युत्का सामान रहेका छन् ।
व्यापारीले भन्सार तिरेर सामान नछुटाएकोले केही गाडी बाँकी रहेका र केही कन्टेनर भन्सार तिरेर भित्रिने क्रममा रहेको भन्सार कर्मचारीको भनाइ रहेको छ । केही स्याउ बोकेका बाहेक धेरै कन्टेनर नेपाल–चीन सिमाना रसुवागढी वारिपारि तथा केरुङ र रसुवागढी भन्सारको यार्डमा थन्किएको धुन्चेका व्यापारी सञ्जीव आमात्यले बताउनुभयो । व्यापार गरेर खाने वातावरण नै छैन । सामान लिन जाँदाको दरमा सामान लिएर आउँदा एक्कासि वृद्धि हुन्छ । kerung
व्यापारीले घोषणा गरेको मूल्य र गुणस्तरको आधारमा सामग्रीको मूल्याङ्कन गर्ने कानुनी व्यवस्था छ तर व्यापारीबाट नै सामानको मूल्य घोषणा गर्न ढिलाइ भएकोले कहिलेकाहीँ ढिलाइ हुने गरेको भन्सार प्रमुख केदार पनेरु बताउनुहुन्छ । गत महिना चिनियाँ एजेन्टसँगको विवाद मिलाउन नसकेर केही समय कारोबार बन्द भयो । अहिले कन्टेनर भित्रिने क्रममा छन् । भन्सार पुस्तिकामा तोकिएको अनुसार मूल्याङ्कन हुन्छ ।
गत आवमा दुई अर्ब ९२ करोड असुली भएकोमा चालु आवमा तीन अर्ब ३६ करोड लक्ष्य रहेको र आंशिक असर परे पनि काम भइरहेको प्रमुख भन्सार अधिकृत पनेरुले दावी गर्नुभयो ।
एक गाडी सामानको २५÷२५ लाख भन्सार तिर्नुपर्ने हुन्छ व्यापारी र भन्सार टिमका बीच समझदारी हुनसकेन– व्यापारी नवराज तिम्सिनाले भन्नुभयो ।
साविकको भन्दा एक्कासि मूल्य सूची बढेपछि समस्या आएको व्यापारीको गुनासो छ । पहिले जसरी मालबाहक गाडीहरू आउन छाडेको एक महिना सात दिन भयो नाकाबाट नेपाल केरुङ चीन व्यापार सङ्घका सचिव मुकुन्द पौडेलले भन्नुभयो, भन्सार महसुलका कारण व्यापार गरेर खान नसक्ने अवस्था भयो । यसरी गाडी रोकिएपछि कसरी किस्ता तिर्ने भन्ने प्रश्न गर्दै सामान खन्याएर फर्कन पनि मिलेन रसुवागढी नाकामा समस्या सिर्जना गरेर बदनाम गराउन खोजेको आरोप लगाउनुभयो ।
सिन्धुपाल्चोकको जुरे पहिरोपछि ०७१ म्ङ्सिर १५ गते यो नाका औपचारिक रूपमा खुल्ला भएकोमा ०७२ वैशाख १२ को विनाशकारी भूकम्प पछिको पहिरो र भारतको नाकाबन्दीको समयमा चीनबाट इन्धन आयात भएको थियो । यो नाका राजधानीबाट केरुङ १४८ किमी टाढा छ । रसुवागढी नाका हुँदै केरुङबाट सिगात्से ५४८ किमी  टाढा छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना