सिरुघारी बगरमा कागती खेती

विराटनगर, भदौ १७ गते । मोरङकोे बूढीगङ्गा गाउँपालिका–६ कोयलपुरस्थित गछिया खोला किनार यतिबेला कागतीघारीमा रूपान्तरण भएको छ । दुई वर्ष अगाडिसम्म सिरुघारी मात्रै देखिने खोला किनारमा अहिले लटरम्मै कागती फलेको छ । गाउँकै सरस्वती उच्च माविको स्वामित्वमा रहेको खोला किनारको जमिन संरक्षण र उपयोगमा स्थानीयहरू एकजुट भएपछि सिरुघारी कागती बारीमा परिणत भएर हराभरा भएको हो ।
आसपासका १८ जना स्थानीयवासीको हात र साथ मिलेपछि सिरुघारी एकाएक कागती बारीमा परिणत भएसँगै आयआर्जनको बाटो खुलेकोमा उनीहरू खुसी छन् । श्रृष्टि कृषक समूहमा आबद्ध १८ जना स्थानीयको संयुक्त पहलमा खेती सुरु भएको थियो । विद्यालयलाई वार्षिक १५ हजार बुझाउने गरी बाह्र वर्षका लागि कृषक समूहले जमिन लिजमा लिएर कागती खेती सुरु गरेको स्थानीय बोधनारायण सिक्दार बताउनुहुन्छ ।
विद्यालयमा पढाइ सुधार गर्ने आम्दानीको खोजी भइरहेका बेला विकल्पमा बाँझो जमिन सदुपयोग गर्ने जुक्ति स्थानीयहरूले नै निकालेका थिए । स्थानीय सुदर्शन चौधरीका अनुसार विद्यालयको जमिनलाई आम्दानीको स्रोतका रूपमा विकास गरेर अङ्ग्रेजी माध्यमको पढाइ गराउने योजना अनुसार उक्त जमिन आफूहरूले लिजमा लिएको दाबी गर्नुहुन्छ । जङ्गल र झाडीमा परिणत भएको विद्यालयको जमिनलाई खेतीयोग्य बनाउन मात्र २२ दिन लागेको अनुभव सुनाउनुहुन्छ अर्का कृषक अवधनारायण चौधरी । kagati
खोला किनारमा अहिले चार सय कागतीले फसल दिन थालेको छ । दुई बिघा १४ कट्ठा जमिनमा गरिएको कागती खेली प्रवद्र्धनका लागि जिल्ला कृषि कार्यालयले समेत सहयोग गर्दै आएको छ । सिँचाइ र व्यवस्थापनका लागि सांसद अमनलाल मोदीले समेत कृषक समूहलाई एक लाख सहयोग गर्नुभएको स्थानीय हर्कमाया रम्तेलले जानकारी दिनुभयो ।
समूहका अध्यक्ष बोधनारायण सिग्दारका अनुसार हालसम्ममा रु. पाँच लाखभन्दा बढी खर्च गरेर बालीले उत्पादन दिने अवस्थामा आएको हो । अहिले कागतीले आम्दानी दिन थालेको छ । अब कृषक समूहले गरेको लगानी उठ्ने उहाँको भनाइ छ । समूहमा अहिले आएको आम्दानीभन्दा पनि विद्यालयको हित र खाली जग्गा सदुपयोग आफूहरूको प्रमुख काम भएको अध्यक्ष सिग्दार बताउनुहुन्छ । १२ वर्षका लागि तीन वर्ष अगाडि लिजमा लिएको जमिनले आम्दानी दिन सुरु गरिसकेको छ । बाँकी नौ वर्षमा समूहको आम्दानी मात्र नभई विद्यालयको स्रोतमा समेत वृद्धि हुनेमा अर्का सदस्य सत्यनारायण चौधरी बताउनुहुन्छ ।
समूहकी कोषाध्यक्ष सुशीला भगतले कागती खेती गरेर उत्पादन सुरु भएसँगै अब त्यसबाट बन्ने अचार, चुकजस्ता सामग्री बनाउने तालिमको आयोजना गरिने बताउनुभयो ।
केही दिन अगाडि आएको वर्षापछि बाढी पसेर केही नोक्सान पु¥याएको उहाँको भनाइ छ । झण्डै दुई लाख रुपियाँको कागती बिक्री गर्ने सोच राखे पनि यस वर्ष बाढीले केही क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो । स्थानीय कृषकले थालनी गरेको अभियानको लाभ किसानले मात्र लिने भने छैनन् । यसले विद्यालय, बालबालिकालाई पनि सहयोग पुग्ने देखिन्छ । यति मात्र नभई विद्यालयको नाममा रहेको बाँझो जमिनको सदुपयोगमा अन्य विद्यालयमा पनि चासो सञ्चारित हुने अनुमान गर्न सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना