नेपालको इतिहासमा शिरोमणि बाबुराम आचार्य

Dirgh raj prasaiदीर्घराज प्रसाई

 


नेपालको समग्र इतिहासको अध्ययन तथा खोजमा इतिहास शिरोमणि बाबुराम आचार्यको निकै ठूलो योगदान छ । यसैगरी नेपालका निर्माता पृथ्वीनारायण शाहको पूर्खा बारेमा सत्यतथ्य खोज अनुसन्धान गर्नमा बाबुराम आचार्यको परिश्रमलाई बिर्सिन सकिँदैन । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको पूर्खाको बारेमा खाँछा खान र मिंचा खाँन भनेर उल्लेख गर्ने गरिएकोमा त्यसबारेमा सूर्यविक्रम ज्ञवालीले लेख्नुभयो–‘शाह वंशको पूर्वपुरुष हरिहरसिंह र अजयसिंहलाई क्रमशः खाँछा र मिचा भनेको रहेछ । मगर भाषामा यी दुई शब्दको लाक्षणिक अर्थ जेठा र कान्छा हुन्छ । शाहवंशका पूर्वपुरुष मगरातमा राजा भएका हुनाले यिनीलाई मगरले प्रेमपूर्वक खाँचा र मिचा भनी सम्बोधन गरेको बुझिन्छ । यिनीलाई पहाड–खण्डका अरू क्षत्रीय राजाले आफ्नैसरह क्षत्रीय ठानेको कुरा गोर्खाका राजाको उनीसित बिहेवारी भएको कुराबाट प्रमाणित हुन्छ । राम शाहले गल्कोटका प्रतापी नारायण मल्लकी दौहित्री बिहे गरेका थिए । पृथ्वीनारायण शाहकी आमा पाल्पाकी राजकुमारी थिइनन् तर बेलायती इतिहासकार हेमिल्टनले पृथ्वीनारायण शाहका विरोधीका कुरा सुनेर गोर्खाको राजवंश मगर भनेको कुरा स्पष्ट हुन्छ ।
पृथ्वीनारायण शाहले पश्चिमी नेपालका चौबीसे ठकुराईमा शुक्रनीति र कामदन्कीय नीतिको व्यापक प्रचलन हुनाले सम्भवतः यी नीति ग्रन्थबाट समेत सरल कथाका रूपमा उनलाई नैतिक शिक्षा मौखिक दिइएको थियो । यसबाहेक रामायण, महाभारत आदि गन्थ पनि सरल कथाका रूपमा मौखिक सुनाइन्थ्यो । शस्त्र विद्याको क्रियात्मक शिक्षामा उनले धनुकाँड चलाउन, खुकुरी चलाउन, तरबार चलाउन, भाला, वर्छा आदिको अभ्यास, घोडा चढ्नु, पौडी खेल्नु आदिमा दत्तचित्त रहन्थे । दरौदीमा पौडी खेल्ने अभ्यास पृथ्वीनारायण शाहलाई लगाइन्थ्यो । एकदिन पृथ्वीनारायणलाई उखुका लाँक्रा चुस्ने इच्छा भयो । साथीलाई समेत लिई केशव द्वारेका डिहीमा गएर एकाएक लाँक्रा भाँची–भाँची चपाई व्यासीमा फर्केका थिए । उखुबारीमा केही उखु भाँचिएको देखेर उनी रानी चन्द्रप्रभासँग होहल्ला मचचाउँदै फिराद गर्न पुगे र रानी चन्द्रप्रभाले बोलाएर ‘तिमी ता राजा हौँ । रैतीलाई राजी राखेर रजाईं गर्नु पर्नेमा यसो किन ग¥यौँ’ भनरे हलुका हप्की दिइन् । प्रजाको परिस्थिति पनि कुमार अवस्थामा गर्दै रहने गरेका र अनेक प्रकारको व्यावहारिक ज्ञान पनि बढाउँदै लगेको देखिन्छ । ’
नेपालको इतिहास लेखनमा विदेशीका भ्रमण विवरण तथा यात्रा विवरणबाहेक नेपालका खोज अनुसन्धानकार तथा इतिहासकारमा बाबुराम आचार्य, योगी नरहरिनाथ, सूर्यविक्रम ज्ञावली, नयराज पन्त, धनबज्र बज्राचार्य, गौतमबज्र बज्राचार्य, डिल्लीरमण रेग्मी, ज्ञानमणि नेपाल, दिनेशराज पन्त, जगदिशराज रेग्मी, इमानसिंह च्याम्जुड, चितरञ्जन नेपाली, शङ्करमान राजवंशी, महेशराज पन्त, इतिहास संशोधन मण्डल परिवार, मोहनप्रसाद खनाल, हरेराम जोशी, रामजी तिवारी, नयनाथ पौडेल, तीर्थराज मानन्धर, तुल्सीराम वैद्य, वालचन्द्र शर्मा, ढुण्डिराज भण्डारीलगायत छिमेकी देशका विद्वान् खोजकर्ता भारत गुजरातका विद्वान् खोजकर्ता पं.भगवान्लाल इन्द्रजीको ठूलो देन छ । बाबुराम आचार्यले नेपालमा प्रचलित संवत् बारेमा पनि खोज गरेका थिए । कतिपय व्यक्तिले विक्रम संवत् भारतको उज्जयनीबाटै उठान भएको हो भनेर देखेकाले नेपालको इतिहासमा धेरै भ्रम सिर्जना हुन गएको हो । इतिहास शिरोमणि बाबुराम आचार्यले यस भ्रमको निराकरण गर्दै लेखेका थिए– ‘जुन समय ई.पू.५८ वर्षमा यो संवत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयनीका खण्डको उत्खनन् हुँदा पनि त्यससमयका विक्रमादित्य भएको चिह्न भेटिएको छैन । विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यससमयका भारतका कवि वा कलाकारले कही न कही त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कही कतै गुनगान हुन्थ्यो, कही कतै मूर्ति पनि बन्थ्यो होला’ भन्दै भारतको उज्जयनीमा उठान भएको भन्ने विक्रम संवत्को इतिहासलाई होइन भनेर स–प्रमाण उल्टाई दिएका थिए ।
कान्तिपुर कब्जा गर्नका लागि पृथ्वीनारायण शाहले अपनाएको नीति बारेमा बाबुराम आचार्यले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीको तेस्रो भागमा लेखेका छन– ‘कान्तिपुरका राजा, भारदार, प्रजा, सबै इनद्रजात्राको उत्सव मनाउन नाचगान तमासामा व्यस्त हुने हुँदा गोर्खालीले त्यसै अवसरलाई उचित समय ठानी आक्रमण तयारी गर्न थाले । जयप्रकाश मल्लको हिम्मत जाँच्न विक्रम संवत् १८२५ आश्विनमा कान्तिपुर शहरको उत्तरतर्फ पर्खाल बाहिरतर्फ पर्ने ठमेल टोलमाथि आक्रमण गर्न सैनिक पठाउँदा पनि जयप्रकाश मल्लले फौजलाई धपाउन कुनै प्रयास नगरेकाले गोर्खालीको हिम्मत अझ बढ्यो । पृथ्वीनारायण शाहले कान्तिपुरका भारदार तथा जनतालाई पनि उनीहरूको धनजनको सुरक्षा गरिदिने वचन दिई कूटनीतिक तरिकाबाट आफ्नो पक्षमा मिलाए । गोर्खालीद्वारा कान्तिपुरको घराउ गरी विकट परिस्थिति बनाएको हुँदा इन्द्रजात्राको चाड मनाउने वा नमनाउने सम्बन्धमा जयप्रकाश मल्लले भारदारसँग सल्लाह गरे । अन्त्यमा जात्रा भव्यताकासाथ मनाई कुमारीदेवीको शक्तिले शत्रुलाई लखेट्न सहजै सकिन्छ भन्ने विश्वास लिएर उक्त चाड भव्यताका साथ मनाउने निश्चित गरे । शहर वरिपरि रहेका पर्खालका ढोका भित्रबाट बलियोसँग बन्द गरी नगरकोटी सैनिक राख्ने प्रबन्ध मिलाएर उत्सव मनाउने थाले । उक्त चाड आश्विन ९ देखि १६ गतेसम्म मनाइने योजना थियो जस्मा कुमारीको रथयात्रा घुमाइन्थ्यो । ज्योतिषी कुलानन्द ढकालको साइतअनुसार विक्रम संम्वत् १८२५ आश्विन १३ गतेको राति ३ बजे कान्तिपुर दरबारमाथि आक्रमण गर्ने याजना भयो । पृथ्वीनारायण शाहले गोर्खाली फौजलाई तीन तीन भागमा विभाजन गरी पूर्व, पश्चिम, उत्तरतर्फबाट आक्रमण गर्ने योजना मिलाए । यसअनुसार टुडिखेल भीमसेनस्थान र नरदेवीबाट आक्रमण गर्न सम्पूर्ण प्रबन्ध मिलाई निश्चित साइतमा आक्रमण गरे । ’
यसैगरी, इतिहास शिरोमणि बाबुराम आचार्य लेख्छन्– ‘कान्तिपुरका राजा जयप्रकाश मल्ल आश्विन १३ गतेको साँझदेखि नै कुमारीको रथमा बसी गणेश र भैरवको रथ अघि लगाई रथ यात्रा गरेको समयमा गोर्खाली फौजले आक्रमण ग¥यो । मुख्य सेनापतिमा वंशराज पाण्डे, तरलाराम पाण्डे, रामकृष्ण कुवर, केहरसिंह बस्नेतलगायत पृथ्वीनारायण शाहका भाइ महोद्दामकिर्ति शाह दलमर्दन शाह र सुरप्रताप शाहसमेत सम्मिलित भएको करिब एक हजारको फौज थियो । २०–२५ मल्ल फौज मारिएपछि अरू भागेर जयप्रकाश मल्ललाई स्थिति अवगत गराए । जयप्रकाश मल्ल तुरुन्तै रथबाट ओर्लिएर सेना लिई गोर्खालीसँग लड्न अघि सरे तर केहीबेरको युद्धपश्चात् उनको जोड नचलेकाले तलेजुको मन्दिरभित्र गई लुके । त्यहाँ पनि गोर्खाली फौजले घेरा गर्न थालेकाले तीन सयजति विश्वासी नगरकोटी सैनिक साथ लिई बागमती नदी पार गरी ललितपुरका राजा तेजनरसिंह मल्लको शरणमा गए । गोर्खालीले हनुमानढोका राजदरबारमा अधिकार गरेपछि रित्त राजगद्दीमा पृथ्वीनारायण शाह विराजमान भए ।

 प्रकाशित मिति: २०७४/५/१७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना