कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको सम्भवना

prabhu narayan basnetप्रभुनारायण बस्नेत

 

संसारबाटै कम्युनिष्ट राजनीति अस्ताउन लागेको बेला नेपालका तीनवटा ‘क्रान्तिकारी’ पार्टीबीच एकीकरण प्रक्रिया प्रारम्भ भएको छ । कम्युनिष्ट कार्यकर्ता उत्पादन गर्ने कारखाना मानिएको नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टीबीच एकता प्रक्रिया शुरु गर्ने सैद्धान्तिक सहमति भएको कुरा सञ्चार माध्यमसम्म पुगेको छ ।
सशस्त्र क्रान्तिको बाटोबाट अघि बढी सत्ता कब्जा गर्ने र सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने मान्यतामा विश्वास राख्ने ती समूहबीच शुरु गर्ने भनिएको एकता प्रक्रिया निष्कर्षमा पुग्यो र तीन परम्परावादी समूह एक भए भने वामपन्थी वृत्तमा ध्रुवीकरणको सम्भवान बढेर जानेछ । अहिले पनि नेपालमा दर्जन हाराहारीमा कम्युनिष्ट नामधारी दल अस्तित्वमा छन् । गत स्थानीय निर्वाचनमा सबभन्दा ठूलो दल बन्न सफल एमाले र जोसँग मिलेर भए पनि सत्तामा बसिराख्नु पर्ने मान्यता बोकेको माओवादी केन्द्र मूलधारको राजनीतिमा नै प्रभावशाली छन् । अर्थात् तिनले कम्युनिष्ट राजनीतिको हिंसात्मक मार्ग परित्याग गरी प्रजातान्त्रिक प्रक्रियाबाट सत्तामा पुग्ने उपाय अवलम्बन गरेका छन् ।
तर अझै पनि चुनाव लड्ने र नलड्ने ‘कम्युनिष्ट’ बीच विभाजनको स्पष्ट रेखा कोरिन सकेको छैन । नेपालमा रहेका सबै साना ठूला कम्युनिष्ट पार्टीले कुनै न कुनै बेला वालिग मताधिकारमा आधारित चुनावमा सहभागिता जनाएका छन् । कम्युनिष्ट पार्टीभित्र चुनावमा जाने पनि दुईवटा पक्ष छन् । एउटा बाटो संसारको पहिलो कम्युनिष्ट सरकारका प्रमुख एवं विश्व कम्युनिष्ट आन्दोलनका प्रणेतामध्येका भीआइ लेनिनले अवलम्बन गरेको बाटो र अर्को ‘आधुनिक कम्युनिष्ट’ ले हिँडेको हिंसात्मक सङ्घर्ष परित्याग गरी चुनावबाटै सत्ता हत्याउने बाटो । नेपाली कम्युनिष्ट आन्दोलनभित्र यी दुई वटै मान्यता बोक्ने समूह अस्तित्वमा छन् ।
लेनिनको बुर्जुवा प्रतिक्रियावादी चुनावमा भाग लिने बाटो भनेको क्रान्तिको पक्षमा उपयोग गर्ने तरिका हो । क्रान्तिलाई चुनाव बहिष्कार गर्दा हित हुन्छ कि भाग लिँदा भन्ने आधारमा पार्टीले नीति तर्जुमा गर्छ । परिस्थिति बहिष्कारको अनुकूल भए बहिष्कार गर्ने, बहिष्कारको अनुकूल नभए भाग लिने बाटोलाई लेनिनवादी बाटो भनिन्छ । लेनिनकै पार्टीले सन् १९०५ र ६ को रुसी दूमा अर्थात् संसद्का दुइटा निर्वाचन बहिष्कार ग¥यो । पछि लेनिनले चुनावी नीतिको समीक्षा गर्दै १९०५ को बहिष्कार ठीक थियो र ६ को बहिष्कार गलत भयो भन्ने निष्कर्ष निकाले र १९०७ को दूमाको निर्वाचनमा बोल्सेभिक पार्टीलाई भाग लिन लगाए ।
एक ताका नेपालका कथित क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र पनि चुनाव उपयोग गर्ने कि बहिष्कार भन्ने विषय तात्तातो बहसको मुद्दा बन्ने गरेको थियो । पञ्यायती व्यवस्थाको उत्तराद्र्धतिर चुनाव बहिष्कार गर्ने कि भागलिने भन्ने सवालले पार्टीको मूल चरित्र चित्रण गर्न खोजिन्थ्यो । २०४६ को आन्दोलनमा भाग लिने सन्दर्भ पनि कम्युनिष्ट वृत्तभित्र विवादित् नै थियो । वाममोर्चामार्फत एउटा पक्ष आन्दोलनमा सहभागी भयो भने अर्को पक्षले प्रजातन्त्रको पुनःस्थापनाको पक्षमा नभई त्यसकै समानान्तर सङ्घर्ष सञ्चालन गर्न खोज्यो । आन्दोलन सफल भएपछिको पहिलो आमचुनाव नेकपा (मसाल) ले बहिष्कार नै ग¥यो भने नेकपा (एकताकेन्द्र) भित्र बहिष्कारको प्रस्ताव पारित हुन नसकेपछि संयुक्त जनमोर्चामार्फत भाग लियो ।
अहिले लोकतन्त्र, सामाजिक न्याय, क्रान्ति प्रतिक्रान्ति सत्ता प्राप्त गर्ने उपाय र शासन सञ्चालन गर्ने विधि, पार्टी सञ्चालनको सिद्धान्तलगायत यावत मुद्दामा नेपाली कम्युनिष्ट दुई भागमा विभाजित छन् । सबभन्दा चर्को क्रान्तिकारी भनिएको माओवादी दक्षिणपन्थी तसर्थ प्रतिक्रियावादीमा रूपान्तरण भएपछि उसको कित्ता एमालेसँग एउटै हुन पुगेको छ । अहिले नेकपा (एमाले), सीपी मैनालीको माले, माओवादी केन्द्र, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी चुनावको माध्यमबाटै लक्ष्यमा पुग्न सकिन्छ भन्ने विश्वास राख्छन् । नेपाल मजदुर किसान पार्टी पञ्चायतकालदेखि नै चुनावमा भाग लिए पनि सत्तामा गएको छैन र क्रान्तिको प्रक्रियासम्बन्धी उसको स्पष्ट धारणा सार्वजनिक पनि भएको छैन ।
पटकपटक चुनावमा भाग लिएका, सत्ताको स्वाद चाखिसकेका भए पनि हाल एकता प्रक्रियामा जान सहमत तीन दल भने माओत्सेतुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त बनाएर हिंसात्मक उपायबाट क्रान्ति सफल गर्ने र सवहारावर्गको अधिनायकत्व कायम गर्ने मूलभूत सवालमा एकमत देखिन्छन् । त्यही तिनको एकताको आधार बन्न सक्छ । अहिले राजनीतिक बजारमा भएका हल्काफुल्का टिप्पणीलाई नै आधार बनाउने हो भने सिद्धान्त, नीत–कार्यक्रम, रणनीति कार्यनीतिलाई होइन गुरु शिष्य एकै स्थानमा आउने प्रयासको रूपमा लिनुपर्छ । एकता प्रक्रियको एउटा घटक नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यका गुरु हुन् भने वैद्य नेकपाका महासचिव नेत्रविक्रम चन्दका गुरु हुन् । यी तिनवटै पार्टी एक हुँदा मूल नेतृत्वमा गुरुचेला नै रहने निश्चित छ । गुरुचेलालाई कसको चरित्र कस्तो छ भनेर बुझ्न सहज हुन्छ र छलफल चलाउन पनि सजिलो पर्छ । एकता प्रक्रियाका लागि यो एउटा सकारात्मक पक्ष नै हो ।
ठूलाठूला योजना, चर्का नारा, हावादारी कार्यक्रम र फोस्रा आश्वासनले मात्र आफ्नो अस्तित्व बचाउन नसकिने देखेपछि अस्तित्व रक्षाकै लागि पनि ती समूह एकताको बाध्यतामा परेका हुन् । एकता गर्ने र टिक्ने आधार खोज्नभन्दा पार्टी सङ्कटबाट बच्ने र कार्यकर्ताको दबाबलाई झेल्ने उपायको रूपमा यसलाई प्रयोग गरेर नेतृत्वले आफ्नो बचाउ गर्न खोजेको देखिन्छ । फुट्ने र जुट्ने रोग नेपाली बामपन्थी आन्दोलनमा डरलाग्दो रूपमा देखिन्छ । अहिले वैद्यले नै आफ्ना गुरु मोहनविक्रम सिंहको पार्टीसँग पार्टी एकताको प्रस्ताव लिएर गएका छन् । त्यो प्रस्तावप्रति सिंह सकारात्मक देखिन्छन् तर सत्ताइस् वर्षअघि यस्तै प्रक्रियाको प्रसङ्गमा सिंहले ‘गाढा अगाडि गोरु पछाडि’ भनेर गाढा गोरुको नयाँ सिद्धान्त प्रतिपादन गर्दैैै एकता प्रक्रियाबाट अलग्गै बसेका थिए ।
त्यसयता बाग्मतीमा धेरै पानी बगिसकेको छ । नारायणकाजी नेतृत्वको एकताकेन्द्र सिंहको मसालबीच एकता भई एकताकेन्द्र–मसाल बनेर पुनः फुटे पनि बेहोरेको तीतो अनुभव सिंहले हासिल गरिसकेका छन् । यी दुवै पार्टीबाट सत्तामा भएका ठूला पार्टीमा कार्यकर्ता जाने क्रम बढेको छ । अहिले दुवै पार्टीले काम दिन नसकेर कार्यकर्ताको रक्षा गर्नसमेत हम्मेहम्मे परेको छ । यस्तो अवस्थामा दुवै पार्टीबीच एकता प्रसङ्गले प्रवेश पाएको छ । यो एकताको चर्चाले निराश कार्यकर्तामा आशाको झिनो त्यान्द्रो जगाइ दिएको छ । उता वैद्य समूहबाटै फुटेर बनेको नेकपालाई पनि अपूर्व सङ्कट आइलागेको छ । हालै सम्पन्न स्थानीय तहको चुनाव खारेज गर्ने नारा दिएका चन्द सारा शक्ति लगाउँदा पनि झन्नै आफैँ खारेजीमा परे । उनले कहिँ कुनै चुनावमा सामान्य असर पनि पु¥याउन सकेनन् । यस्तो अवस्थामा एकताको नारा तीनवटै दललाई शक्ति आर्जन वा शक्ति सञ्चयको उपाय बन्न सक्छ । नेतृत्वको सङ्कटले पनि तीनवटा पार्टीलाई एउटा स्थानमा ल्याउने काम गरेको छ ।
देशकै सबभन्दा वृद्ध एवं प्रभावशाली नेता मोहनविक्रम सिंहको पार्टी अहिले उतराधिकारीको चर्को खडेरी बेहोर्दै छ । सिंहको जीवनकालपछि त्यहाँ को नेता बन्ने ? त्यसले पार्टी सञ्चालन गर्न सक्छ कि सक्दैन ? कतै सिंहसँगै पार्टी पनि सती जानुपर्ने स्थिति त आउँदैन ? भन्ने चिन्ताले मसालका प्रत्येक कार्यकर्ता पिरोलिने गरेका छन् । त्यहि चिन्ताले पनि सिंह सजिलै एकता प्रक्रियामा सामेल हुन सहमत भएका हुन् । उता वैद्य समूहको पनि अवस्था उस्तै छ । सत्तरी वर्ष पार गरेका वैद्य र सीपी गजुरेल दुई समवयस्क नेतापछि क्रान्तिकारी माओवादीमा पनि कसले नेतृत्व सम्हाल्ने भन्ने अन्योल नै छ । हालै रामबहादुर थापाको नेतृत्वमा नेता कार्यकर्ताको ठूलो जमात माओवादी केन्द्रमा प्रवेश गरेपछि वैद्यको क्रान्तिकारी माओवादी चौतर्फि सङ्कटको सामाना गरिरहेको छ । नेत्रविक्रम चन्दको पार्टीमा पनि पहिरो जानेक्रम बढ्दो छ । दिनदिनै प्रभावशाली नेता कार्यकर्ताको झुण्डा लिएर बाहिरेन क्रम रोकिएको छैन । यी परिस्थिति जन्य घट्नाले चन्दलाई पनि घुँडा टेकाउँदै लगेको छ । यस्तो अवस्थामा तीनै पार्टीले एकतालाई समस्या समाधानको संजिवनीको रूपमा प्रयोग गर्न खोजेका छन् । जुन स्वाभाविक पनि हो ।
नेतृत्वको राम्रो क्षमता राख्ने चन्दमा युवालाई आकर्षित गर्ने विशेषता छ । उनले यी तिन पार्टी एकता हुँदा सिंह र वैद्यको विरासतलाई धान्न सक्ने सम्भवना देखिन्छ । यी नै कारणले पनि एकता अपरिहार्य बन्दै गएको महसुस साना परम्परावादी तीन कम्युनिष्ट समूहले गर्दै छन् ।
यी तीन पार्टीको एकता सम्भव भयो भने मानवअधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, आवाधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्षजस्ता लोकतान्त्रिक मान्यतामा विश्वास राख्ने तर कम्युनिष्ट पार्टीको नाम छोड्न नसकेका एमाले, माओवादी केन्द्रसमेतका सानासाना दललाई पनि एकता प्रक्रियामा जान बाध्य हुनुपर्नेछ । यसले कम्युनिष्ट आन्दोलनलाई विचार र मान्यताको आधारमा ध्रुवीकरणतर्फ डोहो¥याउने निश्चित छ ।

  प्रकाशित मिति: २०७४/५/१८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना