प्रदेश नं. २ : चर्चा निर्वाचनकै

dhirendra p shahधीरेन्द्रप्रसाद साह

 

तेस्रो चरणअन्तर्गतको स्थानीय तह निकाय निर्वाचनको तिथि नजिकिँदै जाँदा निर्वाचनको चर्चा जताततै सुनिन थालेको छ । यही असोज २ गते प्रदेश नं. २ मा हुन लागेको स्थानीय तह निर्वाचनमा असन्तुष्ट राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भाग लिने निर्णय गरेलगत्तै निर्वाचनको वातावरण तात्दै गएको छ । अब राजपाको यस्तो निर्णयले निर्वाचन हुनेमा कुनै किसिमको द्विविधा देखिँदैन । प्रदेश नं. २ का चिया पसलदेखि सर्वत्र निर्वाचनको चर्चा परिचर्चा सुनिन्छ । चोक चौराहा, चिया पसल, पान पसल, होटल, लज तथा सामान्य दुई÷चार जनाको जम्काभेटमा निर्वाचनको चर्चा शुरु हुन्छन् । झण्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सर्वसाधारणमा उत्साह थपिएको छ ।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन प्रक्रिया नै उत्तम प्रक्रिया मानिन्छ तथापि, निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । निर्वाचन आमजनतालाई कुशल, सक्षम, जुझारु, लोकप्रिय जनप्रतिनिधि चुनिने अवसर हो । यसलाई उत्सवको रूपमा लिनुपर्छ । पछिल्लो दुईदशक यतादेखि जनप्रतिनिधिविहीन स्थानीय निकाय महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा आ–आफ्नो जनप्रतिनिधि चुनेर पठाउने एक मात्र निर्विकल्प उपाय निर्वाचन नै हो । लोकतान्त्रिक पद्धति र प्रक्रियामा लामो समयदेखि स्थानीय तहमा प्रतिनिधि छनोट गर्ने चुनावका लागि स्थानीय जनता उत्साहित, उमङ्ग तथ तरङ्गित हुनु स्वाभाविक हो, जुन प्रदेश नं. २ मा पनि स्वफूर्त रूपमा देखिएको छ ।
प्रदेश नं. २ को स्थानीय निर्वाचनमा प्रथम स्थान हासिल गर्न नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले आ–आपफ्नै राजनीतिक रणनीतिमा जुटेका छन् भने मधेशकेन्द्रित दल राजपा, सङ्घीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक दल बढीभन्दा बढी सिट जित्न प्रयत्नरत छन् । तीन ठूला दल र तीन मधेशवादी दलबीचको प्रतिस्पर्धाको परिणाम गर्भमा छ र यसका लागि केही हप्ता प्रतीक्षा गर्नैपर्छ । जितको अभिलाषासँगै दलहरू गाउँबस्तीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकसँग बैठक, भेला, अन्तक्र्रिया, छलफललाई तीव्रता दिएका छन् । यसका साथै चुनावका लागि उम्मेदवार छनोट गर्न पनि पार्टीहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । जितेपछिको जिम्मेवारी निर्वाहको क्रममा गरिने विकासका कार्य, स्थानीय स्तरका समस्या तथा जनभावनालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित हाते पम्पलेटको तयारी गरेर चुनाव प्रचारप्रसारमा होमिन थालेका छन् । ठाउँ–ठाउँमा दलहरूको चुनावचिह्न अङ्कित झण्डा गाउँ, गल्ली बाटोमा पनि झुण्डिसकेका छन् । यसैगरी शहरका बिजुली पोलहरू, भित्तामा दलका चुनावचिह्न अङ्कित झण्डाले सिगारिएका छन् । मधेशका टेम्पु, साइकल, इ–रिक्सा, मोटरसाइकलजस्ता सवारीसाधन पनि यस्ता झण्डाविहीन देखिन सक्ने अवस्था पनि छैन ।
मधेशका यी सबै वस्तुस्थितिको अध्ययन विश्लेषण गर्दा स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उत्साहजनक वातावरण बनिसकेको छ र मतदान निकै शान्तिपूर्ण तथा निकै बढी प्रतिशत हुने अनुमान गर्नु अतिशयोक्ति हुँदैन । मधेशको मुद्दा सम्बोधन गराउन संविधान संशोधनको माग गरेर राजपा आन्दोलनमा होमिएका कारण यस प्रदेशको तीन पटकसम्म निर्वाचनको मिति सार्नु परेको सबै नेपालीलाई ज्ञात भएकै तथ्य हो । संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्बाट पारित नभए पनि आफ्ना मुद्दाले आधिकारिता पाएको भन्दै राजपाले निर्वाचनमा जाने निर्णय गरेको हो । यही संशोधन विधेयक संसद्मा पस्तुत हुन नसक्दा राजपा बारम्बार आन्दोलनमा थियो, जसको परिणाम यसअघि घोषित निर्वाचन तिथिमा प्रभाव परेको हो । संसद्मा पस्तुत गरिएको विधेयकको परिणाम जस्तोसुकै भए पनि अहिले राजपा पनि निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको छ । राजपाले उम्मेदवार छनोटदेखि अगुवा कार्यकर्ता, मतदातासँगको अन्तक्र्रिया, छलफललाई बाक्लो बनाएको छ । यो नै निर्वाचनको शुभ सङ्केत हो ।
तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लाका १३६ स्थानीय तहमा १२६५ वार्ड निर्धारण गरिएको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यसहित छ हजार ५९७ जना निर्वाचित हुनेछन् । यस प्रदेशमा कुल २६ लाख ६४ हजार ९४५ मतदाता छन् । सप्तरीको १८ तहका १६३ वार्डमा तीन लाख ३१ हजार ४६२, सिरहाको १७ तहका १६२ वार्डमा तीन लाख ३१ हजार ५९७, धनुषामा १८ तहका १६९ वार्डमा तीन लाख ८९ हजार ३८६, महोत्तरीमा १५ तहका १३८ वार्डमा तीन लाख आठ हजार ४०९, सर्लाहीको २० तहका १९८ वार्डमा तीन लाख ६६ हजार ५९९, रौतहट १८ तहको १५७ वार्डका तीन लाख २१ हजार १८, बारामा १६ तहको १६६ वार्डमा तीन लाख ३४ हजार ३९३ र पर्साको १४ तहका ११२ वार्डमा दुई लाख ८० हजार २११ मतदाता छन् ।
यसै तथ्याङ्कको आधारमा जित्ने दाउका साथ दलहरूले जोडघटाउन गरिहरेका छन् भने मतदाताले दल भन्दामाथि उठेर लोकप्रिय, जनप्रिय, विकासप्रेमी, इमानदार उम्मेदवारलाई नियालिरहेका छन् । अब चुनावमा सबैको उत्साहजनक सहभागितामा कुनै शङ्का छैन । सहज राजनीतिक वातावरणका फलस्वरूप चुनावमा आमजनताको सार्थक सहभागिताका लागि उत्प्रेरित गर्छ र गरिरहेको पनि छ ।
जनताका सबैभन्दा नजिक रहने स्थानीय निकाय जसलाई स्थानीय सरकार भनिएको हो । लोकतान्त्रिक व्यवस्थामा स्थानीय सरकारले लोकतन्त्रको जगको रूपमा काम गर्छ । यसर्थ लोकतन्त्र बलियो बनाउनका लागि स्थानीय तहको निर्वाचन अत्यन्त आवश्यक छ । यो विना मुलुक सबल र लोकतान्त्रिक हुन् सक्दैन । यस अर्थमा पनि जनताले स्थानीय स्तरमा सरकार, विकास र लोकतन्त्रको अनुभूत गर्न सक्ने पहिलो निकाय नै स्थानीय निकाय हो । देशका लागि चाहिने दक्ष, योग्य नेतृत्व गर्न सकिने क्षमताका राजनीतिक जनशक्ति तयार पार्ने सही थलोको रूपमा पनि स्थानीय तहलाई मानेको छ ।

  प्रकाशित मिति: २०७४/५/१९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना