ओबोरमा नेपालको सहभागिताप्रति चीन प्रसन्न

निर्मलकुमार आचार्य

बेइजिङ, भदौ २० गते । नेपाल–चीन सम्बन्ध अझै उचाइमा जानुपर्ने धारणा चिनियाँ अधिकारीहरूले राखेका छन् । चीनको अत्यन्तै महत्त्वपूर्ण र महत्त्वाकाङ्क्षी परियोजना वान बेल्ट वान रोड 

(ओबोर)मा नेपालले सहभागिता जनाएकामा प्रसन्न चिनियाँ अधिकारी यस दिशामा नेपालबाट चाहिँदो चासो र शीघ्र सक्रियता नदेखाइएकामा भने अन्योलमा परेका छन् ।
अल चाइना जर्नलिस्ट एसोसिएसन (एसीजेए)को निमन्त्रणामा चीन पुगेको नेपाली पत्रकार प्रमण्डलसँग गत साता अन्तरक्रिया गर्दै चिनियाँ अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् । चिनियाँ विदेश मन्त्रालयको थिङ्कट्याङ्क चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिज (सीआईआईएस)का वरिष्ठ अनुसन्धाता प्राध्यापक जिआङ युइचुनले हजारौँ वर्ष अघिदेखि रहँदै आएको नेपाल–चीन सम्बन्धलाई ‘ओबोर’ परियोजनाले निकै माथि उठाउने धारणा व्यक्त गर्नुभएको छ । “वास्तवमा चीनको यो प्रस्ताव साझा विकास गर्ने उद्देश्यले थालिएको हो । यसलाई अग्रसारिता दिने, नदिने पक्ष नेपालमै रहेको छ”, उहाँले भन्नुभयो ।
“ओबोरले चीनलाई सडक, रेल्वे र जलमार्गबाट दक्षिण एसिया, मध्य एसिया, युरोप र अफ्रिकासम्म जोड्छ र यो दीर्घकालीन योजना हो, साझा भविष्य निर्माणका लागि चिनियाँ प्रयास हो”, विज्ञ जिआङको भनाइ छ ।
चीन वरिपरिका सबै देशसित सहयोग र साझा विकास गरेर शान्तिपूर्ण विकासका माध्यमबाट अघि बढ्न लागेको दाबी गर्दै सबैको आर्थिक, व्यापारिक, सामाजिक आदि विकास हुने भएकाले नै धेरै देशले यस प्रस्तावलाई समर्थन जनाइसकेको र बाँकी देशले पनि समर्थन जनाउँदै जाने अपेक्षा उहाँले राख्नुभएको छ ।
जापान तथा संयुक्त राज्य अमेरिकाले यस परियोजनाको आलोचना गर्ने गरेको भए पनि पछिल्लो समयमा जापानको धारणासमेत नरम हुँदै आएको उहाँको विश्लेषण छ । यस परियोजनालाई चिनियाँ शक्ति विस्तारका रूपमा गलत व्याख्या भइरहेको स्थिति दर्शाउँदै प्राध्यापक जिआङले सम्भवतः आसन्न ‘ब्रिक्स’ सम्मेलनताका यसप्रति भारतको पनि सकारात्मक धारणा आउने आशा भारतीय विज्ञजनसितको छलफलका आधारमा आफूले राखेको बताउनुभएको छ । china silk
छिमेकी दुवै ठूला मुलुकलाई अनुकूल बनाउँदै जानुपर्ने नेपालको वस्तुस्थिति आफूले राम्ररी बुझेको जनाउँदै नेपाल, चीन तथा भारतबीच सम्बन्ध विस्तार गर्न मुस्ताङको कोरला नाका पनि उपयुक्त रहेको धारणा उहाँले व्यक्त गर्नुभएको छ ।
दुई, तीन वर्षयता ओबोरसम्बद्ध धेरै योजना बनाइएको र तिनमा केही कार्यान्वयनमा समेत आइसकेको जनाउँदै उहाँले ‘चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर’लाई उदाहरणीय योजना जनाउनुभएको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)समेत भनिने ‘ओबोर’ परियोजना रणनीति होइन, कार्यक्रम हो र यो सबैका लागि अवसर हो भने सहकार्य र खुलापनको नमुना पनि हो, थप भनाइ उहाँको छ ।
चीन पहिले विदेशी लगानी भिœयाउने देश भएकामा अहिले विश्वभरि लगानी गर्ने देशको लाममा दोस्रो पङ्क्तिमा रहेको जनाउँदै उहाँले पहिलेको अनुभव सँगाली विकासोन्मुख देशसित मिलेर साझा विकास गर्ने परियोजनाका रूपमा ‘ओबोर’ रहेको बताउनुभएको छ ।
‘ओबोर’का सन्दर्भमा नेपाल चीनका लागि ज्यादै महŒवपूर्ण मुलुक हो । ओबोरले क्षेत्रीय तथा व्यापारिक सम्बन्ध बढाउने भएकाले यसप्रति हरेक देशले आआफ्नै प्रकारका धारणा राखेका छन् । ओबोरको विकासमा नेपालको विशेष भूमिका रहनेमा शङ्का छैन । चीन सरकार ओबोर कार्यान्वयनका निम्ति नेपाललाई आवश्यक हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको जानकारी युनान एकेडेमी अफ सोसल साइन्सका उपनिर्देशक प्राध्यापक गुओ सुइयानले दिनुभएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा उक्त अवधारणा अघि सार्नुभएको हो । करिब दुई हजार वर्षअघि चिनियाँ व्यापारीले प्रयोग गरेको ऐतिहासिक रेशम मार्ग पहिल्याउँदै यसलाई नवीन ढङ्गबाट अगाडि बढाउने योजनामा यतिखेर ६८ देशले सहभागिता जनाइसकेका छन् ।
गत वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ सरकारले अगाडि सारेको ‘ओबोर’ परियोजनामा हस्ताक्षर गर्ने निर्णय गरेपछि सोही महिनाको २९ गते शुक्रबार ओबोरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भई नेपाल ओबोरको औपचारिक रूपमै साझेदार मुलुक बनेको हो । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत १० गते चीन भ्रमणका बखत राष्ट्रपति सी जिनपिङसँग ‘ओबोर’मा नेपाल सहभागी हुने प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।
ओबोरको साझेदार राष्ट्रका रूपमा नेपालको पूर्वाधार विकास, व्यापार प्रवद्र्धन तथा सडक सञ्जाल, रेल्वे निर्माण आदिमा चिनियाँ लगानी बढ्ने विश्वास जानकारहरूको छ । ‘ओबोर’ सम्झौताले नेपाल तथा चीन बीचको सम्बन्धलाई निकै माथि पु¥याएको अनुभव चिनियाँ विज्ञकोे छ । युरोप तथा अफ्रिकासम्म विस्तारित हुने ओबोरले नेपाल लाभान्वित हुने र समग्रमा दक्षिण एसियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने
विज्ञहरू बताउँछन् ।
व्यापार तथा कूटनीतिक क्षेत्रमा चीन सरकारले थालेको महŒवपूर्ण परियोजनाको पहिलो बृहत्तर सम्मेलन गत वैशाख ३१ गते बेइजिङमा आयोजना गरिएको थियो । उक्त महासम्मेलनमा तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा नेपाली प्रमण्डल सहभागी थियो । त्यसयता नेपालका तर्फबाट शीघ्रातिशीघ्र ‘ओबोर’सम्बन्धी पहल नभएकामा बेइजिङ तथा कुन्मिङका थिङ्कट्याङ्कले नरमाइलो अनुभूति पनि
गरेका छन् ।
‘ओबोर’को सफलताका लागि चिनियाँ सरकारले निजी क्षेत्रका लगानीकर्तालाई पनि आह्वान गरिसकेको छ । ओबोरमा हस्ताक्षर गरिसकेको नेपालमा सडक, रेल्वे आदि पूर्वाधार विकासका लागि उत्साह जगाउनुपर्ने स्थिति रहेको बताइएको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना