गोल्डेन स्याउ मासिएपछि रसुवाका किसान चिन्तित

हेमनाथ खतिवडा

रसुवा, भदौ २१ गते । रसुवाको उच्च हिमाली क्षेत्रमा पाईने टिलिक्क टल्कने पहँेले र स्वादिष्ट गोल्डेन स्याउ मासिन थालेपछि कृषक चिन्तामा छन् । विभिन्न जातका स्याउ उत्पादन घट्ने तथा गोल्डेन स्याउका बोट मर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।
चार÷पाँच वर्ष अघिसम्म बृद्धिम गाउँका किसानले बर्सेनि स्याउबाट धेरै आम्दानी लिने गरेका थिए । हरियो र पहेलो रङको टलक्क परेका लटरम्म स्याउ टिपेर खान विदेशी तथा स्वदेशी पाहुना पनि रमाउने गरेका बृद्धिमका पर्यटन व्यवसायी दावा तामाङ बताउँछन् । पहिले यहाँका किसानले धेरै आम्दानी गर्थे तर अहिले बोट सुकेर मासिएपछि चिन्ता भएको छ कारण पत्ता लाग्न सकेन उहाँले भन्नुभयो ।
स्थानीय फिन्जो तामाङले पनि स्थाउबाट वर्षमा ८५ हजार लिने गरेका थिए । गाउँभरी आउने पाहुनाले खान्थे, बिक्री गरेर पनि चाडपर्व चलाउने, दाल, चामल, नुनतेल खर्च चल्थ्यो तर हाँगा र फेदै सुक्ने रोगले गोल्डेन स्याउ मासिएपछि समस्या भयो । apple rasuwa
रसुवाको बृद्धिम, ठूलोस्याफ्रु र ब्राबल गोल्डेन स्याउका लागि प्रख्यात क्षेत्र हुन तर अहिले मासियो, स्याफ्रुका लामादोर्जे लामाले भन्नुभयो अहिले पनि रातो स्याउ भने पाइन्छ, अमिलो हुन्छ, कारण थाहा हुन सकेन ।
विभिन्न जातका स्याउ यहाँ पाउने भए पनि गोसाइँकुण्डमा यात्री आउने मेला वा देश विदेशबाट आउनेले पनि गोल्डेन स्याउ नै रोज्थे अब त्यो मासियो र एकादेशको कथा जस्तो मात्रै हुन गएको उहाँले बताउनुभयो । अरु जातका बोटको उत्पादन पनि घटेको छ । अहिले स्याउमा हाँगा कुहिने, सुक्ने र पुरै बोट मर्ने समस्या देखिएको छ । यस वर्ष असिनाले स्याउको फूल झारेकाले स्याउ उत्पादन घटेको कृषकले बताएका छन् ।
स्याउ फुुल्ने समयमा पानी नपर्नु र रोग लाग्नुका कारणले समेत जिल्लामा स्याउ उत्पादन घटेको हो ।
गत वर्षको तुलनामा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेको भए पनि फुल्ने समयमा पानी बढी परेको र असिनाका कारण उत्पादन घटेको तीन वर्षदेखि ब्राबलमा स्याउ टिपेर स्थानीय बजारमा बिक्री गर्दैआएका गोसाइँकुण्ड गाउँपालिका–५, ब्राबलका व्यापारी थारक्याप तामाङले बताउनुभयो ।
गत वर्ष गाउँबाट नौ सय किलो स्याउ बिक्री भएको थियो, यो वर्ष तीन सय ५० किलो स्याउ मात्र उत्पादन भयो उहाँले भन्नुभयो । जङ्गलको संरक्षण गर्दै जाँदा जङ्गली जनावर वृद्धि भएकोले मृगले स्याउको बिरुवा खाएर क्षति पु¥याउने गरेको गोल्जुङका व्यावसायिक कृषक मिलन तामाङले बताउनुभयो ।
रोपिएका स्याउको बिरुवा जङ्गली जनावरले सखाप पार्छन, बारबन्देज लगाउने कार्य हुन नसक्दा बोट संरक्षण र उत्पादन बढ्न सकेको छैन, तामाङले भन्नुभयो ।
घरभन्दा माथि लगाइएका स्याउ पनि चोरले चोरेर हैरान बनाएको उहाँले बेदना पोख्नुभयो । यो वर्ष दुई हजार किलो स्याउ उत्पादन हुन्थ्यो मृग र चोरले सखाप पारेपछि १२ सय किलो मात्र बिक्री गर्न सकियो, तामाङले दुःखेसो पोख्नुभयो ।  
स्याउ उत्पादन घटेपछि प्रतिकिलो १० रुपियाँ बढेको ब्राबलका व्यापारी तामाङले बताउनुभयो । अघिल्लो वर्ष प्रतिकिलो ६० रुपियाँमा स्याउ खरिद गरेको थिएँ यसपटक ७० रुपियाँमा स्याउ खरिद गरेको छु, उहाँले बताउनुभयो ।
जिल्लामा मागअनुसार स्याउ उत्पादन हुन नसकेकोले बजारको समस्या नभएको गोल्जुङका कृषक फुर्वा ग्याल घलेले बताउनुभयो । जिल्लामा सीमित क्षेत्रमा स्याउ उत्पादन हुन्छ, यहाँ उत्पादन भएको स्याउ स्थानीय बजारमा नै बिक्री हुन्छ उहाँले भन्नुभयो ।
जिल्लामा स्याउ खेतीका लागि उपयुक्त हावापानी नभएको कारणले पनि स्याउ उत्पादन बढ्न नसकेको जिल्ला कृषि विकास कार्यालय, रसुवाले जनाएको छ ।
राम्रो स्याउ फल्नका लागि ७१ घण्टा हिउँको आवश्यकता पर्छ तर यस क्षेत्रमा हिउँ कम पर्ने र पानी बढि पर्ने कारण उत्पादन बढ्न सकेको छैन, वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागार्इँले बताउनुभयो ।

जिल्लामा स्याउ उत्पादनको अवस्था
जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकामा स्याउ उत्पादन हुने गरेको छ । गाउँपालिकाको ब्राबल, ठूलोस्याफ्रु, बृद्धिम, टिमुरे, गोल्जुङ, हाकु, गत्लाङ, लाङटाङ र चिलिमेको एक सय २३ हेक्टर क्षेत्रमा स्याउ खेती हुन्छ । गत वर्ष जिल्लामा छ सय ३९ मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष करिब साढे चार सय मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ ।
केही नयाँ किसान स्याउ खेतीतर्फ आकर्षित हुन थालेपछि कार्यालयले स्याउको बिरुवा वितरण, पुराना बोटको काँटछाँट गर्ने र उपचार गर्ने कार्य सुरु गर्न
थालेको छ ।
जिल्लामा स्याउको पुनरुत्थान गर्नका लागि कार्यालयबाट स्याउका अगुवा कृषकलाई बगँैचा व्यवस्थापनसम्बन्धी तालिम दिने, बिरुवा वितरण, उपचार गर्ने लगायतको कार्य गरिरहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हुमागाइँले जानकारी दिनुभयो ।
जिल्लामा उत्पादन हुने स्थानीय जातका स्याउ स्थानीय बजारमा नै बिक्री हुने गरेको छ । जिल्लामा अहिले काश्मिरी, गोल्डेन र असारे जातका स्याउको खेती
गरिएको छ ।
जिल्लामा पछिल्लो दिनमा व्यावसायिक स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढ्दै गए पनि उत्पादन भने घटेको छ । स्याउका केही जात मासिदैगएको नयाँ जात खोज्नु पर्ने भएको किसान बताउँछन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना