६० हजार खसीबोका भित्रिँदै

khasi_1काठमाडौँ, भदौ २१ गते । दसैँका लागि काठमाडौँ उपत्यकामा झण्डै ५० देखि ६० हजार खसीबोका र च्याङ्ग्रा भित्रिँदैछन् । दसैँका बेलामा उपत्यकामा झण्डै ५५ हजार खसीबोकाको मासु खपत हुने गरेकाले त्यसैलाई लक्षित गरी सरकार र निजीस्तरबाट उक्त सङ्ख्यामा खसीबोका भित्र्याउन लागिएको हो । 

दसैँका लागि सरकारी स्वामित्वको नेपाल खाद्यसंस्थान र निजी क्षेत्रको चौपाया खरिदबिक्री सङ्घले मात्रै झण्डै ५० देखि ६० हजार खसीबोका भित्र्याउने गरेको बताउँदै आएका छन् ।
नेपाल खाद्यसंस्थानले विभिन्न जिल्लाबाट काठमाडौँमा ल्याएर एक हजार ५०० खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । यता निजीतर्फको माछामासु व्यवसायी सङ्घले दसैँका लागि ४० देखि ४५ हजार खसीबोका र १० देखि १५ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको जनाएको छ ।
खाद्य संस्थानले मकवानपुरको हेटौंडा र दाङको तुल्सीपुरबाट एक हजार ५०० खसीबोका खरिद गर्ने र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने गृहकार्य भइरहेको जनाएको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाले संस्थानले खरिद गर्ने खसीबोका र च्याङ्ग्रा घटस्थापनादेखि बेच्न सुरु गर्ने गरी ल्याउने तयारी भएको जानकारी गराउनुभयो ।
खाद्यसंस्थानले दसैँका बेलामा खसीबोका बिक्री गरेर बजार नियन्त्रण गर्ने काम गरिरहेको भन्दै उहाँले संस्थानको यो कार्य बजार हस्तक्षेपका लागि कोशेढुङ्गा सावित भएको बताउनुभयो । सापकोटाका अनुसार संस्थानले गतवर्षको दसैँमा दुई हजार ५०० खसीबोका र एक हजार च्याङ्ग्रा बेचेको थियो ।
उपत्यकाको अधिकांश मासुको माग निजीस्तरका व्यापारीबाट पूर्ति हुने गरेको र त्यो माग ९० प्रतिशत भारतबाट पूरा गर्ने गरेको व्यापारीहरू बताउँछन् । उपत्यकामा दसैँमा मात्रै झण्डै ११ देखि १२ लाख किलो खसीबोकाको मासु खपत हुने तथ्याङ्क छ ।
नेपाल माछामासु व्यवसायी सङ्घका अनुसार देशभर खपत हुने खसीबोकाको ठूलो हिस्सा काठमाडौँ उपत्यकामै हुन्छ । सो सङ्घका अध्यक्ष रमेश खड्गीले काठमाडौँमा सामान्यतयाः दैनिक एक हजार २०० रुपियाँसम्म खोसीबोकाको मासु बिक्री हुने गरेको र दसैँका बेलामा सामान्य अवस्थाको भन्दा झण्डै चार गुणा बढी मासु खपत हुने गरेको जानकारी गराउनुभयो ।
यो वर्ष मात्रै होइन, सँधै मुख्य रूपमा काठमाडौँमा भारतीय खसीबोका ल्याएर नै दसैँमा मासुको माग पूरा गर्ने गरेको उहाँको भनाइ छ । अध्यक्ष खड्गीका अनुसार दसैँमा कुखुरा, हाँस, राँगा, बङ्गुरलगायतको मासु पनि बिक्री हुन्छ तर बढी मासु खपत खसीबोका हुन्छ ।
उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरिने
काठमाडौँ महानगरपालिकाले दसैँमा राजधानी भित्रिने नाकामा खसीबोकाको अनुगमन र स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ । महानगरपालिकाले उपत्यकामा खसीबोका बिक्री गर्ने स्थल चार ठाउँमा अनुगमन समिति बनाएर खसीबोका अनुगमन र स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको हो । महानगरपालिकाले गत वर्षजस्तै गरी यो वर्ष पनि दसैँलाई लक्षित गरेर आउँदो असोज २ गतेदेखि घटस्थापनाको अघिल्लो दिनसम्म उपत्यकाभित्रै चारै नाका र कङ्लकी, कोटेश्वर, बागबजार, बिजुलीबजारमा रहेका केन्द्रमा खसीबोकाको स्वस्थ भए वा नभएको विषयमा परीक्षण गर्ने तयारी भएको जानकारी गराएको छ ।
महानगरपालिकाका समाजकल्याण विभागका प्रमुख बद्रीबहादुर खड्काले उपत्यकामा भित्र्याएर खसीबोका बिक्री केन्द्रमा ल्याइएका सबै खसीबोकाको स्वास्थ्य परीक्षण हुने सबैको स्वास्थ्य परीक्षण गरेर मात्रै बिक्री वितरण गरिने बताउनुभयो ।
महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले कामपाको संयोजनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वाथ्य कार्यालय र भेटनरी कार्यालयको संयुक्त कार्यदल बनाएर खसीबोका परीक्षण गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षभन्दा यस वर्ष राजधानी भित्रिएका खसीबोकाको अुनगमन तथा स्वास्थ्य परीक्षण व्यवस्थित हुन्छ । गत वर्ष कामपाले राजधानीको विभिन्न चार स्थानमा करिब ४५ हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको थियो । करिब तीन सयको हाराहारीमा अस्वस्थ खसीबोकाको सिङमा रातो रङ लगाइएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना