पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने तयारी

लक्ष्मीप्रसाद उपाध्याय

 

काठमाडौँ, भदौ २१ गते । नेपाल र भारतका लागि बहुप्रतिक्षित बन्दै आएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिन दुई देशका सरकारी उच्च अधिकारीको बैठक मङ्गलबार भारतको नयाँदिल्लीमा सुरु भएको छ । डीपीआरको अन्तिम रूप दिने बैठक भनेर सरकारी अधिकारीले दाबी गरे तापनि विज्ञ समूहको बैठक चार पटकसम्म बस्न सक्ने प्रावधान रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षीको संयुक्त पत्रकार सम्मेलनमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको परियोजना विस्तृत प्रतिवेदन (डीपीआर) चाँडै निर्माण गर्ने सहमति भएपछि दुई देशका अधिकारीहरूले डीपीआरलाई अन्तिम रूप दिन सक्रियता बढाएका हुन् । pancheshor
दुई देशले आ–आफ्नो ढङ्गले हेर्दै र विश्लेषण गर्दै आएको डीपीआरको मस्यौदाका उठान भएका बुँदामा सहमति ल्याउन विज्ञ समूह गठन गरिएको छ । सो समूहको दोस्रो बैठक भारतमा सुरु भएको हो । बैठक दुई दिनसम्म चल्ने बताइएको छ । बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले गर्नुभएको छ भने भारतका तर्फबाट भारतको केन्द्रीय जल आयोगका प्रमुख नरेन्द्र कुमारले गर्नुभएको बताइएको छ । दुवै देशका विज्ञ टोलीमा ऊर्जा विज्ञहरूको सहभागिता रहेको छ । विज्ञ समूहको पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको थियो । पहिलो बैठकमा सहमति हुन नसकेका र दुबै देशले आन्तरिक छलफल गरेर मात्र टुङ्गोमा पुग्ने भनेर थाती राखेका एजेण्डामा छलफल भई डीपीआरलाई अन्तिम रूप दिइने बताइएको छ ।
दुई देशका समान सहभागिता र प्रतिनिधित्व हुने गरी पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति गठन गरिएको छ । सो समितिले दुवै देशका जलस्रोतलगायतका विज्ञहरूको रोस्टर तयार गरी यो समूहको गठन
गरिएको हो ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला समकक्षी मोदीसँग पञ्चेश्वरलाई मूर्त रूप दिनुपर्ने अनि मात्र महाकाली सन्धिको सही रूपमा कार्यान्वयन भएको मानिने कुरा राख्नुभएको थियो । सो कुरालाई भारतीय प्रधानमन्त्री मोदीले महाकाली सन्धिसँग कार्यान्वयन गर्न बाँकी पक्षलाई भारतले तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपाली विज्ञ टोलीले भारत बैठकमा जानुअघि प्रधानमन्त्री तथा ऊर्जा मन्त्रीसँग छलफल गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नेपाल र भारतको संयुक्त प्रयासमा सम्पन्न हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विगतमा सहमति हुन नसकेका बुँदामा नेपालका हित हुने गरी अगाडि बढाउन निर्देशन दिनुभएको छ । विज्ञ समूहले ऊर्जा मन्त्रालय, सिँचाइ मन्त्रालयलगायतका अन्य सरोकारवाला निकायका उच्च पदाधिकारीसँग पनि गहन छलफल गरेको बताइएको छ ।
तीन वर्षअघि नेपाल भ्रमणका क्रममा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसद्मा सम्बोधन गर्दा छ महिनाभित्र डीपीआर बन्ने बताउनुभएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना