टमाटरको आम्दानीले जीवनस्तर उकास्दै

tomatooफिदिम, भदौ २२ गते । हिजो अस्तीसम्म हात मुख जोड्न निकै समस्या खेप्ने गरेका सयौँ पाँचथरवासीका ती पुराना दिन गएका छन् । तन, मन, धनले व्यावसायिक रूपमा लगातार टमाटर खेती गर्न नछोडेका किसानको अवस्थामा त्यस्तो परिवर्तन आएको हो । 

पाँच वर्ष पहिलेदेखि टमाटर खेतीमा होमिएका पाँचथरका सयौँ किसानको आर्थिक हैसियत उठ्दै गएको हो । टमाटर खेती गरेर वर्षमा लाखभन्दा कम विरलैले मात्र कमाउने गरेको पञ्चमी–६ का जीवन गिरीले बताउनुभयो । टमाटरकै आम्दानीले हिजोसम्म गाउँघरमा साहूले नपत्याउने व्यक्ति लखपतिका रूपमा चिनिन थालेका गिरीले सुनाउनुभयो । पाँचथरमा १२ हजारभन्दा बढीले टमाटर खेती गरिरहेकामध्ये अधिकांश लखपति बन्दै गएका हुन् । टमाटर पकेट तोकिएका अम्मरपुर गाविसमा ८ सय, नागीमा छ सय र पञ्चमीका साढे सात सय घरपरिवारले टमाटर खेती गर्दै आएका छन् । यस क्षेत्रबाट मात्रै एक सिजन अर्थात् चार महिनामा छ करोड रुपियाँसम्म टमाटरले आम्दानी दिने अमरपुरका किसान वीरेन्द्र काफ्लेले बताउनुभयो । यहाँका थोरै खेती गर्ने किसानले चार महिनामा न्यूनतम ४० हजार रुपियाँसम्म टमाटरबाट आम्दानी गर्ने गरेको उहाँले सुनाउनुभयो । जिल्लामा बर्सेनि टमाटरको खेती गर्ने किसानको सङ्ख्या बढ्नुका साथै उत्पादन पनि बढिरहेको वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारीले बताउनुभयो । गत वर्ष ४८५ हेक्टरमा पाँच हजार ५१५ मेट्रिक टन टमाटर उत्पादन भएकोमा यस वर्ष ४९० हेक्टरमा पाँच हजार ८८० मेट्रिक टन टमाटर फलेको छ । यहाँ उत्पादित टमाटर जिल्लामा २५ प्रतिशत खपत हुने र बाँकी निकासी हुने कृषि प्रसार प्राविधिक सहायक बद्रीनारायण यादवले बताउनुभयो । गत वर्ष जिल्लाबाट १२ करोड ७८ लाख ७५ हजार टमाटर फलेकोमा यसपालि १२ करोड ९३ लाख ६० हजार रुपियाँ बराबरको उत्पादन भएको जनाइएको छ ।
विभिन्न कृषि समूह तथा सहकारीमा आबद्ध भई सामूहिक र व्यावसायिक रूपमा टमाटर खेतीमा लाग्नाले यहाँका किसानले राम्रो कमाइ गर्ने गरेका हुन् । यहाँका किसानलाई श्रम, समय र पैसा खर्च गरेर रोपि फलाएको टमाटर बजार नपाएर खेर जाला भन्ने पिरै छैन । किसानले सहकारीद्वारा खोलिएका विभन्न तरकारी सङ्कलन केन्द्रमा टमाटर लगेर बेच्ने गरेका छन् । सहकारीहरूले उचित मूल्य दिई किनेर सङ्कलन गरेको टमाटर ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, चितवन, काठमाडाँै र भारतको सिलगुडीसम्मका व्यापारीलाई बेच्ने गरेका छन् । यसबाट किसानले बजार अभाव झेल्नु नपरी निर्धक्कले टमाटर खेती गर्न पाउँदा आम्दानीको हिसाबले ठूलो सफलता पाइरहेका हुन् । यसरी टमाटरबाट बिनाझन्झट राम्रो कमाइ गर्ने अवसर मिल्दा हिजोसम्म हँुदा खानेलाई हुने खानेका रूपमा चिनिन थालेको अमरपुरका केसव भण्डारीले बताउनुभयो । यसबाट ग्रामीण अर्थतन्त्रसमेत उकालो लागिरहेको भण्डारीले सुनाउनुभयो ।
पाँचथरको भारापा, पञ्चमी, अमरपुर, थर्पू, र फिदिम गाविसमा बढी मात्रामा टमाटर उत्पादन हुने गरेको छ । जिल्लामा ७० सालदेखि टनेल र खुल्ला रूपमा टमाटर खेती सुरु भएको हो । गत वर्ष सरदर २५ रुपियाँ प्रतिकेजीले बिक्री भएको टमाटर यसपालि २२ रुपियाँले मात्रै बिक्दा पनि बढी उत्पादन हुँदा बढी नै आम्दानी पनि भएको कृषि कार्यालयले जनायो । जिल्लामा वैशाख महिनाबाट माघ महिनासम्म टमाटर खेती हुने गरेको छ । कतिपय कृषकहरूले सालमा तीन पटकसम्म टमाटर खेती गर्ने गरेका छन् । जिल्लाका कृषकहरूलाई बीउ बिजन, प्रविधि र टनेल प्लास्टिक वितरण गर्दै आएको अधिकृत कमलेसको भनाइ छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना