भेनेजुयलामा संविधानसभाले ल्याएको सङ्कट

Ram prashadरामप्रसाद आचार्य

 

ल्याटिन अमेरिकी मुलुक भेनेजुयला गम्भीर सङ्कटमा परेको छ । त्यहाँ संविधान पुनर्लेखन गर्न संविधानसभाको चुनाव गराएसँगै सङ्कट गहिरिएको हो । राष्ट्रपति निकोलस मदुरोले त्यहाँका विपक्षी दलहरू र अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै गएको जुलाई ३० मा संविधानसभाको चुनाव गराउनुभयो । यो चुनाव विपक्षीहरूले हिंसात्मक आन्दोलनसहित बहिष्कार गरे । अमेरिकालगायत छिमेकी सरकारहरूले चुनावलाई मान्यता नदिने घोषणा गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त संविधानसभामार्फत मदुरो तानाशाह बन्न खोजेको आरोप लगाउँदै प्रजातन्त्रका लागि सैन्य कारबाहीको विकल्प खुला रहेको चेतावनी दिनुभयो । उहाँले विपक्षीहरूले चलाएका आन्दोलन प्रजातन्त्रका लागि भएकाले अमेरिकाले समर्थन गरेको बताउँदै आन्दोलनकारीमाथि दमन अमेरिकालाई सह्य नहुने स्पष्ट गर्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले संविधानसभाको चुनाव गराएसँगै भेनेजुयलामाथि कडा आर्थिक नाकाबन्दी लगाउनुभएको छ । उहाँले मदुरो निरङ्कुश तानाशाह बन्न खोजेको आरोप लगाउँदै विपक्षीहरूले चलाएको आन्दोलन प्रजातन्त्रका लागि भएको भनी त्यसको प्रशंसासमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकी सेना संसारभरि छ, भेनेजुयला त्यत्ति टाढा छैन । भेनेजुयलामा मानिसले दुःख पाइरहेका छन्, मारिइरहेका छन् । अमेरिकासँग समाधानमा धेरै उपाय छन्, त्यसमध्ये एक सैन्य उपाय पनि हो । ’
उता, राष्ट्रपति मदुरोले पनि अमेरिकाले लगाएको आरोपमा कुनै सत्यता नभएको र आफू तानाशाह बन्ने कुनै सोच नभएको बताउँदै देश र जनताको समस्या लोकतान्त्रिक विधिअनुसार समाधान गर्न संविधान पुनर्लेखन गर्न संविधानसभाको चुनाव गराएको दाबी गर्नुभयो । उहाँले विदेशीको उक्साहटमा लागेर विपक्षीहरूले मुलुक तहसनहस पार्न खोजेको आरोपसमेत लगाउनुभयो ।
एक समयको शान्त र समृद्ध भेनेजुयला अहिले अशान्त छ । राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनले चलाएको आन्दोलन हिंसात्मक बनेपछि एक सयभन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । आन्दोलन चर्कंदै गएपछि मुलुकमा आर्थिक र राजनीतिक सङ्कट झन् गहिरिँदै गएको छ । सरकार र विपक्षीबीच वार्ता हुन सकेको छैन । सरकारको वार्ता प्रस्तावलाई विपक्षीहरूले अस्वीकार गर्दै समानान्तर सत्ताको अभ्यास सुरु गरेका छन् । यो अभ्यासले मुलुकमा नयाँ सङ्कट ल्याउने देखिएको छ । राष्ट्रपतिको आग्रहलाई बेवास्ता गर्दै विपक्षीहरूले अनौपचारिक जनमतसङ्ग्रह गराउनुका साथै नयाँ समानान्तर सरकार गठनदेखि नयाँ न्यायाधीश नियुक्तिसमेत गरी सरकारलाई चुनौती दिएका छन् । विपक्षीले गराएको जनमतसङ्ग्रहमा ७६ लाख मानिसले भाग लिएको र जनमत संविधानसभा चुनावको विपक्षमा रहेको दाबी गरिएको थियो । राष्ट्रपति मदुरोले भने यसलाई औचित्यहीन भन्नुभएको छ ।
विश्वकै ठूलो तेलको भण्डार रहेको यो मुलुकमाथि यतिखेर चरम आर्थिक तथा राजनीतिक सङ्कट आइलागेको छ । विगतमा पनि यो मुलुकले विपन्नता र चरम असमानता भोग्यो । तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको नेतृत्वले एकाएक चर्चामा आयो । छोटो अवधिमा समानता र समृद्धिको शिखर चुम्यो । तर, चाभेजको अल्पायुमै निधनसँगै अहिले चरम हिंसा, अस्थिरता र अराजकताको सिकार बनेको छ, यो मुलुक । यही अस्थिरमा खेल्दै छ विदेशी शक्ति । कतै यो मुलुक पनि सिरियाजस्तै अकल्पनीय द्वन्द्वमा फस्ने त होइन भनी शङ्का गर्न थालिएको छ ।
सक्षम, निडर र स्वाभिमानी नेता चाभेजको निधनपछि सत्ता सम्हाल्नुभएका वर्तमान राष्ट्रपति मदुरो घेराबन्दीमा पर्नुभएको छ । उहाँले चाहेर पनि काम गर्न सक्नुभएन । उहाँलाई विपक्षीहरूले असहयोग गरे भने आफ्नो पार्टी पनि कमजोर बन्यो । उहाँको युनाइटेड सोसलिस्ट पार्टीसहितको गठबन्धनले स्थानीय चुनाव जिते पनि संसदीय चुनाव जित्न सकेन । विपक्षी डेमोक्रेटिक युनिटी गठबन्धनले संसदीय चुनाव जितेर शक्तिशाली बन्यो । निर्वाचनले विपक्षीलाई बलियो बनायो । संसद् विपक्षीको कब्जामा भएकाले राष्ट्रपतिले चाहेर पनि सुधारका कार्यक्रम गर्न पाउनुभएन । विपक्षीहरूले विभिन्न बहाना बनाएर राष्ट्रपति हटाउन आन्दोलन सुरु गरे । आन्दोलन उग्र रूप लिँदै हिंसामा परिणत भएको छ । मदुरोले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने पक्षमा आन्दोलनकारी छन् तर उहाँ राजीनामा दिने पक्षमा हुनुहुन्न । आन्दोलनकारीको माग सम्बोधन हुनेगरी संविधानमा आवश्यक सुधार र परिमार्जन गर्न उहाँले आग्रह गर्नुभएको छ । त्यसैका लागि उहाँले संविधानसभाको चुनाव गराउनुभएको हो । संविधानसभाको चुनावले राष्ट्रपतिलाई झन् बलियो बनाउने र विपक्षीले चलाएको आन्दोलन तुहिने खतरा देखेर नै विपक्षीहरूले यो चुनावको विरोध गरेका हुन् ।
विपक्षीहरू समस्या समाधान गर्नभन्दा पनि जसरी पनि राष्ट्रपतिलाई हटाउने पक्षमा छन् । अमेरिका पनि मदुरोको विपक्षमा खुलेर लागेको छ । तर, राष्ट्रपति मदुरो भने विपक्षी र विदेशी दबाबसामु नझुक्ने अडान लिँदै संविधानसभाको चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्नुभएको छ । चाभेजको सत्तामा उपराष्ट्रपति रहनुभएका मदुरोले उहाँको निधनपछि उत्तराधिकारीका रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभयो । लगत्तै भएको राष्ट्रपतीय निर्वाचनमा अत्यन्तै झिनो मतले प्रतिद्वन्द्वी हेनरिक केप्रिलेसलाई पराजित गरी निर्वाचित हुनुभएका उहाँले जनअपेक्षाअनुसार काम गर्न भने सक्नुभएन । चाभेजमा जस्तो नेतृत्वक्षमता मदुरोमा नभएकै कारण मुलुक फेरि लथालिङ्ग अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता बढेको छ । आर्थिक र राजनीतिक सङ्कट गहिरिँदै गएको छ । मुद्रा स्फीति १०० प्रतिशत नाधेको छ भने बेरोजगारीदर ६५ प्रतिशतभन्दा माथि पुगेको छ । मुलुकको समस्या समाधान गर्ने भनी उहाँले आर्थिक सङ्कटकाल घोषणा गर्नुभयो तर समस्या समाधान हुने लक्षण देखिएन ।
आठ लाख ८१ हजार वर्गकिमि क्षेत्रफलमा फैलिएको, तीन करोड १० लाख जनसङ्ख्या रहेको जैविक विविधताले भरिपूर्ण सुन्दर यो मुलुक लामो समयसम्म स्पेनको अधीनमा रह्यो । सन् १५२२ मा स्पेनले अधीनमा लिएको यो मुलुक लामो सङ्घर्षपछि सन् १८११ मा आंशिक स्वतन्त्र हुँदै सन् १८३० मा पूर्ण स्वतन्त्र भएको हो । त्यसपछि थुप्रै राजनीति उतारचढाव, तानाशाही सत्ता, सैनिक सत्ता, प्रजातान्त्रिक सत्ता, समाजवादी सत्ता भोगिसकेको यो मुलुकलाई अहिले सबैलाई मिलाउनसक्ने भरपर्दो नेतृत्व आवश्यक देखिएको छ । मुलुकको समस्या समाधान गर्न भनी गराइएको संविधानसभाको चुनावले सरकार र विपक्षीबीचको दूरी झन् बढाएको छ । यो राम्रो लक्षण होइन । मुलुकलाई राजनीतिक दुर्घटनाबाट बचाउन प्रमुख दलहरू मिलेर समस्या समाधान खोज्नु नै उत्तम विकल्प हो ।

 प्रकाशित मिति: २०७४/५/२२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना