ह्लासा–काठमाडौँ रेलमार्ग प्रक्रिया अघि बढ्ने

काठमाडौँ, भदौ २३ गते । चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अगाडि बढाउने भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग बिहीबार बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा चीनले उक्त प्रतिबद्धता जनाएको हो । परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमबारे आफूले नेपालका सबै प्रमुख दलका नेतासँग परामर्श गरेर साझा र सकारात्मक धारणा लिएर आएको विश्वास दिलाएपछि चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाई र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा दुई देशबीच व्यापार र पारवहन सम्झौता भएको थियो । relmarga

भेटमा प्रधानमन्त्री खछ्याङलाई उपप्रधानमन्त्री महराले चीनका राष्ट्रपति सी चीनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिनुभएको उपप्रधानमन्त्रीका सञ्चार तथा जनसम्पर्क संयोजक हरि लामिछानेले बेइजिङबाट जानकारी दिनुभयो ।
यस्तै, उपप्रधानमन्त्री महरालाई चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको छ । मन्त्री महराले तातोपानी र केरुङ नाका खुलाउन आग्रह गर्दा चीनले सकारात्मक प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री खछ्याङले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको आन्तरिक राजनीतिक स्थिति राम्रोसँग अगाडि बढेकामा खुसी व्यक्त गर्नुका साथै नेपाली जनताको समृद्धिको चाहना पूरा हुने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
यसैबीच उपप्रधान एवम् परराष्ट्र मन्त्री महरा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच पनि दुई देशलाई जोड्ने रेलमार्ग निर्माणबारे छलफल भएको छ । छ दिने चीन भ्रमणमा रहनुभएका महराले बेइजिङमा दुई पक्षीय वर्ताको क्रममा नेपाल र चीनबीच अन्तरदेशीय रेल सञ्जाल निर्माणबारे छलफल भएको हो ।
बिहीबार चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलको क्रममा महराले नेपालका राजनीतिक दल चीनसँग रेलमार्गबाट जोडिने विषयलाई राष्ट्रिय प्राथमिकता दिएर अगाडि बढ्न तयार रहेको बताउनुभएको महराका प्रेस संयोजक लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस विषयलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको छ ।
चीनले हालै अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग सुरु गरेको रसुवागढी–केरुङ नाकाबाट नेपाललाई रेल मार्गबाट जोड्न सकिने बताउँदै आएको छ । अहिले यो नाकाबाट करिब पाँच सय किलोमिटर टाढा सिगात्सेसम्म चिनियाँ रेल सञ्चालमा छ ।
दुवै देश अन्तरदेशीय रेल सम्पर्क निर्माण गर्न सकारात्मक भए पनि अहिलेसम्म यसको औपचारिक प्रक्रिया सुरु हुन सकेको छैन । महरा र चिनियाँ परराष्ट्र मन्त्रीबीच केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेल्वेको सम्भाव्यता अध्ययन छिट्टै थाल्नेबारे छलफल भएको बताइएको छ । दुई देशबीच चीनले अगाडि बढाएको ‘वन बेल्ट वन रोड’ अवधारणा कार्यन्वयनका लागि नेपालमा भौतिक पूर्वाधारका साथै व्यापार, पर्यटन र लगानीलगायतको विषयमा पनि छलफल भएको थियो ।
दुई देशबीच उच्च स्तरको भ्रमण आदान प्रदानबारे पनि छलफल भएको बताइएको छ । नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई छिट्टै टुङ्ग्याउने सहमति पनि भएको छ । दुई देशका विदेशमन्त्रीबीच सीमा नाकाको स्तरोन्नति र नयाँ नाका खोल्ने सहमति पनि भएको छ ।
यस्तै उपप्रधानमन्त्री महरा र चीनका स्टेट काउन्सिलर याङ जेचीबीच बिहीबार भेटवार्ता भई आपसी हित र चासोका विषयमा छलफल भयो । सो अवसरमा एक क्षेत्र एक मार्ग (ओबोर) बाट नेपालले सहयोग लिनसक्नेमा जेचीले जोड दिनुभएको र उपप्रधानमन्त्री महरा त्यसमा सहमत हुनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना