सन्दर्भ बीपी जयन्ती: चिन्तनको व्यावहारिक कसी जरुरी

जुनारबाबु बस्नेत

 

काठमाडौँ, भदौ २४ गते । “म बाबालाई थ्योरी अफ रिलेटिभिटी (सापेक्षतावादको सिद्धान्त) पढाउँथे । म साइन्सको विद्यार्थी भएकोले उहाँ मबाट विज्ञानका कुरा चाखपूर्ण जान्न चाहनुहुन्थ्यो”, श्रीहर्ष कोइरालाको भनाइ हो यो । बीपी कोइरालाको १०३औँ जयन्तीका अवसरमा बीपी स्मृति ट्रस्टद्वारा राजधानीमा आयोजित (२१ भदौ, २०७४) कार्यक्रममा बीपी पुत्र श्रीहर्षले यो पनि थप्नुभयो, “म मेरो जीवनभर बाबासँग एक वर्षमात्र बसेँ हुँला तर त्यो समयले मलाई अहिले पनि सिक्ने, सिकाउने कुराले रोमाञ्चित बनाउँछ । ” बीपीको जीवन सिक्न, सिकाउन कति ऊर्जाशील थियो भन्ने यो अनुपम उदाहरण अनि अहिलेका धेरै राजनीतिकर्मीका लागि पाठ पनि हुनसक्छ ।
हुन पनि विश्वेश्वरप्रसाद कोइराला अर्थात् बीपी कोइराला (वि.सं. १९७१–२०३९) नेपालको आधुनिक इतिहास निर्माण, अध्ययन, चिन्तन र लेखनका रूपमा अनेक आयाम थिए । बीपी राजनीतिज्ञ मात्र होइन, चिन्तक हुनुहुन्थ्यो । क्रान्तिनायक मात्र होइन, प्रयोक्ता हुनु हुन्थ्यो । १०४ वर्षको राणा शासन बीपीजस्ता क्रान्ति सर्जकको अनुपस्थितिमा अरू धेरै लम्बिन असम्भव थिएन भन्ने गहन इतिहास बुझ्नु जरुरी हुन्छ ।
भारतमा उपनिवेश जन्माएको बेलायती राजको अन्त्य (सन् १९४७) सँगै त्यसैको आडमा शताब्दी शासन गरेको राणा शाहीलाई सशस्त्र क्रान्तिबाट अन्त्य गरेर नै आधुनिक नेपालको जग बसेको हो । शताब्दीभन्दा बढी दास सरहको रैती दुनियाँ नेपाली, आज जहाँ पुगेका छन्, त्यो सात सालको क्रान्तिको अब्बल देन हो । राजनीतिलाई सामान्य नागरिकको जीवनसँग जोड्ने बीपीमा अद्भुत लेखन, चिन्तन र अभ्यासको त्रिवेणी थियो । त्यस सन्दर्भमा बीपी संस्मरणमा आफू महात्मा गान्धी र कार्लमाक्र्सबाट प्रभावित भएको स्वीकार्नुहुन्छ । bp koirala
मानिसको स्वतन्त्र हक र अधिकारलाई कसैसित सम्झौता नगर्ने बीपीले समाजवादी दर्शनलाई राजनीतिमा आत्मसात् गराउन खोज्नुभयो । उहाँले १५ वर्षमा नेपाली परिवारलाई आफूजस्तै मध्यमवर्गीय बनाउने सपना देख्नुभयो । कृषिप्रधान नेपालमा एउटा परिवारसित गरिखाने जग्गा होस्, एक हल गोरु, छोराछोरी पढ्ने विद्यालय अनि दुःखबिमार पर्दा औषधिमूलो गर्ने व्यवस्था । छ दशकअघि
(२०१५ मा आमनिर्वाचनको क्रम) देखेको त्यो सपना साकार पार्न १८ महिने प्रधानमन्त्रीको अवधिमा भूमिसुधारको तयारी, जङ्गलको राष्ट्रियकरण, बिर्ता उन्मूलन, विद्यालय व्यापक स्थापना आदि आज धेरै नेतृत्वका निम्ति प्रेरणाको स्रोत हुन् । सायद अहिले हुन्थ्यो भने बीपीको त्यो चिन्तनमा हरेक घरमा इन्टरनेट पुगोस् र कुनै नेपाली सामान्य पनि रोजगारीकै निम्ति देश छोड्नु नपरोस् भन्ने पनि थपिन्थ्यो होला । चिन्तन कालनिरपेक्ष हुन सक्दैन ।
प्रजातन्त्र र समाजवादलाई मौलिक चिन्तनका आधारमा जोड्दै अन्तर्राष्ट्रिय आन्दोलनमा उहाँको सहभागिताले बीपी सोसलिस्ट इन्टरनेसनलेको उपाध्यक्ष भई नेपाललाई विश्व राजनीतिक मञ्चमा चिनाउनुभयो । जर्मन समाजवादी नेता विल्ली ब्रान्टले सोसलिस्ट इन्टरनेसनललाई वासिङ्टन र मस्कोको उग्र शीतयुद्धताका पनि उम्दो अन्तर्राष्ट्रिय आन्दोलन बनाउनु र त्यसमा बीपीको नेतृत्व तहको सहभागिता आफैँमा कल्पनातीत छ ।
बीपीको त्यो प्रजातान्त्रिक समाजवादको मौलिक चिन्तनकै राजनीतिक विकासक्रमको उपज हो– मौजुदा मुलुकको संविधान भन्दा फरक नपर्न सक्छ । संविधानले प्रजातान्त्रिक समाजवादको मौलिक चिन्तनलाई संविधानको प्रस्तावनामा भनेको छ, “...नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र,
निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने । ”
बीपीले निर्माण गरेको नेपाली काँग्रेस, नेकपा (एमाले) र तत्कालीन नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) मुख्य दल लगायतले निर्माण गरेको यो संविधान प्रजातान्त्रिक समाजवादी महामार्गबाट समृद्ध राष्ट्र निर्माणको विशिष्ट घोषणापत्र पनि हो । कार्यान्वयनको चरणमा छ ।
त्यस क्रममा स्थानीय निर्वाचन दुई चरणमा सफल रूपमा सम्पन्न भए । अनेक असहमतिलाई संविधान संशोधनको अभ्याससँगै निर्माण भएको सहमतिले प्रदेश २ मा जटिल बनेको तेस्रो चरणको चुनाव सम्भव हुँदैछ । प्रदेश र सङ्घीय प्रतिनिधिसभाको चुनाव मङ्सिर १० र २१ का लागि ठीकठाक हुँदै जाँदा मुलुुकी राजनीतिक मार्गचित्रको यो आशलाग्दो अग्रगामी दिशा बीपीको मौलिक चिन्तनको मार्ग किन नभन्ने ? मात्र हो, राजनीतिक क्रान्तिले मात्र नागरिकको दैनिकी चल्दैन, त्यसका लागि अब आर्थिक क्रान्तिको जग अति जरुरी भइसकेको छ ।
राजनीति र समाजवादी चिन्तनमात्र होइन; साहित्य, दर्शन, राष्ट्रियता, समावेशी राजनीतिका कतिपय आयाममा बीपीको मौलिक सर्जकीय भूमिका आज पनि चिन्तन र बहसको मूल विषय बन्नुपर्ने हो, बन्न सकेको छैन । त्यसैले पनि हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी ट्रस्टकै कार्यक्रममा भन्नुभयो, “मैले पनि बीपीको सामीप्य पाएँ, उहाँ हरेक क्षेत्रमा अध्ययनशील हुनुहुन्थ्यो तर सबै पक्ष बाहिर आउन सकेको छैन । त्यसैले उहाँका बारेमा थप अध्ययन र खोजी जरुरी छ । ”
बीपीको बहुआयामिक पक्ष उजागर गर्न ट्रस्टले अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापनाको प्रस्ताव गरेको छ । जन्मजयन्ती (भदौ २४ गते) मनाउने क्रममात्र होइन, चिन्तन र दर्शनलाई अहिलेको व्यावहारिक राजनीतिको कसीमा घोट्नु पनि जरुरी होला कि ?

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना