चुनाव अनुगमन गर्न अन्तर्राष्ट्रिय पर्यवेक्षक आह्वान

Election-Commission-Nepal-768x411काठमाडौंँ, भदौ २५ गते । निर्वाचन आयोगले मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विदेशी पर्यवेक्षकलाई पर्यवेक्षण गर्न दिनेभएको छ । आयोगले पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्थाका साथै ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई निर्वाचन अवलोकनका लागि पत्राचारसमेत गर्नेछ । 

आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले अन्तर्राष्ट्रिय संस्था तथा समुदायलाई पर्यवेक्षणमा सहभागी हुन आह्वान गरेको बताउनुभयो । आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहितासमेत पारित गरिसकेको जानकारी प्रवक्ता ढकालले दिनुभयो । नेपालमा आउने विदेशी पर्यवेक्षकको समन्वय गर्ने काम परराष्ट्र मन्त्रालयले गर्नेछ ।
आयोगले दक्षिण एसियाली राष्ट्रका निर्वाचन आयोग तथा निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुखलाई पनि आमन्त्रण गर्ने भएको छ । पर्यवेक्षण गर्न इच्छुक सङ्घसंस्था वा व्यक्ति आफ्नो मुलुकको आधिकारिक निकायमा दर्ता भएको र विगतमा निर्वाचनको पर्यवेक्षण गरेको अनुभव हुनुपर्ने शर्त आयोगले राखेको छ । विश्वका कतिपय मुलुकले राष्ट्रिय, संसदीय वा आम निर्वाचनमा अन्तर्राष्ट्रिय संस्था र समुदायलाई पर्यवेक्षण गर्न दिने अभ्यास छ ।
प्रवक्ता ढकालका अनुसार आयोगले मङ्सिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई अनुगमनका लागि आवेदन दिन आह्वानसमेत गरेको छ । आयोगले शनिबार असोज १४ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो ।
आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले निर्वाचनमा अन्तर्राष्ट्रिय संस्था तथा समुदायको पर्यवेक्षणबाट निर्वाचन आयोग र अन्तर्राष्ट्रिय समुदाय बीचको सम्बन्ध विस्तार हुनुका साथै आयोगको विश्वसनीयता कायम राख्न मद्दत पुग्ने विश्वास आयोगको छ ।
चार वर्षअघि सम्पन्न दोस्रो संविधान सभा चुनावमा तीन अन्तर्राष्ट्रिय स्तरका २४९ जनाले निर्वाचन पर्यवेक्षण गरेका थिए । साथै आयोगबाट आमन्त्रित दक्षिण एसियाली राष्ट्र एवम् मित्रराष्ट्रबाट ख्यातिप्राप्त २७ व्यक्तिका साथै नेपालस्थित विदेशी कूटनीतिक नियोगका ११० कूटनीतिज्ञले पनि चुनाव अवलोकन गरेका थिए ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना