गुरुयोजना मिच्दै धमाधम संरचना

लक्ष्मण पौडेल

 

भैरहवा, भदौ २५ गते । जापानका वास्तुविद् प्रा.केन्जो टाँगेले सन् १९७८ मा तयार पारेको लुम्बिनी विकास गुरुयोजनामा मायादेवी मन्दिरको एक वर्गमाइल वरपरलाई पवित्र उद्यान क्षेत्रमा राखी त्यहाँ बनेका संरचना हटाउन र नयाँ नबनाउन भनिएको छ ।
गौतमबुद्ध जन्मस्थल लुम्बिनीको समग्र विकास, संरक्षण तथा सुन्दरताका लागि गुरुयोजना अनुरुप उक्त क्षेत्रमा रहेको धर्मशाला हटाइएको छ । अरू दुईवटा नेपाली गुम्बा हटाउने विषयमा सञ्चालकले धार्मिक आस्थाको भावनात्मक पक्षलाई अगाडि ल्याउँदै अन्यत्र स्थानान्तरण हुन अटेर गरिरहेका बेला लुम्बिनी विकास कोषले आफैँले तीन वर्ष अघि पवित्र उद्यान क्षेत्रमा गेष्टहाउस निर्माण सुरु ग¥यो ।
कोषबाटै गुरुयोजनाको ठाडो उल्लङ्घन भएपछि अटेर गरिरहेका गुम्बालाई थप बल पुग्यो भने मापदण्ड पालना गराउन भविष्यमा भत्काउनैपर्ने गेष्टहाउस निर्माण पनि रोकिएन । उत्तरको नयाँ लुम्बिनी ग्राममा बनाउनुपर्ने गेष्ट हाउस पदाधिकारीको सुविधाका लागि दक्षिणमा निवाससँग जोडेर पवित्र उद्यानमा बनाइयो । lumbini-tou
गुरुयोजनाले वाटर टावर (पानी ट्याङ्की) का लागि छुट्टयाएको भैरहवा–तौलिहवा सडकको उत्तरपट्टि जापानलाई शान्ति स्तूप बनाउन प्लट दिँदाको समस्या २६ वर्षपछि अहिले देखिएको छ । २०४८ मा मन्त्रिपरिषद् बैठकले प्लट दिएपछि जापानले शान्ति स्तूप बनायो । चारैतर्फ पानी वितरण गर्न त्यही स्थानमा बनाउँदा एउटा मात्र टावरले पुग्नेमा अहिले स्तूपको नजिक दुईवटा टावर बनाइँदै छ । एउटै ठूलो टावर बनाउँदा मायदेवी–शान्ति स्तूप र जापानिज मन्दिरबीचको आकृति बिग्रने र सानो बनाउँदा पानी नपुग्ने हुँदा कोष दुईवटा टावर निर्माण गर्न बाध्य भयो । गुरुयोजना मिच्दै बनाइएका संरचनाबाट लुम्बिनीको पुरातत्व र सुन्दरतामा परेको असरप्रति कोष भने गम्भीर छैन ।
कोषका तत्कालीन उपाध्यक्ष आचार्य कर्मा सङ्बो शेर्पाले मायादेवी मन्दिरको अगाडि थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा आबद्ध गैरसरकारी संस्था थाई पुङ थाई फाउण्डेसनलाई बेबी बुद्धको मूर्ति बनाउन अनुमति दिनुभयो । १० मङ्सिर ०६९ मा मूर्ति बनाउने पिलर खडा भएपछि मात्र कोषका अरू पदाधिकारी र कर्मचारीले थाहा पाए । गुरुयोजनाविपरीत मात्र होइन, बुद्धको संस्कृति र कलासँगसमेत मेल नखाने मूर्ति स्थापनाको कोष भित्र र बाहिरबाट समेत व्यापक विरोध भयो । लुम्बिनी आउने आध्यात्मिक पर्यटकलाई शान्ति दीपबाट मायादेवी मन्दिरको अशोकस्तम्भ हेर्दै बुद्धत्व झल्काउने गुरुयोजनामा जुन परिकल्पना गरियो, अहिले बेबी बुद्ध त्यसको बाधक बनेको छ । यही संस्थाले पछिल्लो समय कोषको परिसरमा बर्थिङ सेन्टर खोल्न तीव्र दबाब दिइरहेको छ ।
शेर्पाकै पालामा लुम्बिनीको विनियमावलीविपरीत कोरियन महाबोधी सोसाइटीले विशाल विहार निर्माण गरेको छ । अग्ला भवन सुरक्षाको हिसाबले खतरा हुने गुरुयोजनामा उल्लेख छ । तीन तलाभन्दा अग्लो बनाउन नपाइने प्रस्ट भए पनि उचाइ भने तोकिएको छैन । कोरियन सोसाइटीले त्यसैको फाइदा उठाउँदै विहार निर्माण ग¥यो । उक्त मन्दिर तीनतले अन्य विहारको तुलनामा दोब्बर अग्लो छ ।
अहिले अर्को कोरियन संस्था नेपाल–कोरिया मैत्री सङ्घले हालका सदस्य सचिव अजितमान तामाङको अनुमतिमा दक्षिण पोखरीको बीचमा गुरुयोजनाविपरीत संरचना निर्माण गरिरहेको छ । बुद्ध मूर्तिसहितको फूलबारी बनाउने बताएको यो संस्थाले त्यो पूरा नहुँदै ठूलो आकारको घण्ट झुण्ड्याउने अर्को संरचना थप्दै छ । स्वीकृत लिएकोभन्दा ठूलो पिलरमा बुद्धको मूर्ति राखिएको छ । विभागीय मन्त्रीहरूले समेत कोषमा भएको बेथितिको अन्त्य गर्नुको सट्टा त्यसलाई संस्थागत गर्दै आएका छन् । तत्कालीन संस्कृति मन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा भएको कोषको बैठकले अमेरिकी संस्था ‘याङ रिग येसे इन्कर्पोरेटेड’लाई दुईवटा प्लट दिने निर्णय गरेको थियो । सोही संस्थालाई काम सुरु नहुँदै कोषले थप दुईवटा प्लट उपलब्ध गरायो । कोषको विहार नियमावली २०५८ मा एउटा देशको एक मात्र संस्थालाई एउटा प्लट दिने व्यवस्था छ । नियमावलीविपरीत कोरियालाई चार, थाइल्याण्डलाई तीन, कम्बोडिया र बर्मालाई दुई–दुईवटा प्लट दिइएको छ । बुद्धधर्म मानिने ४२ मुलुकका थेरवादीका लागि केन्द्रीय नहरको पूर्वतर्फ १३ र महायानीहरूलाई पश्चिमतर्फ २९ वटा प्लट दिने योजनाविपरीत १८ वटा मुलुकलाई मात्र बाँड्दा ३६ वटा प्लट सकिएका छन् । अब थेरावदीका लागि प्लट छैन ।
दबाबमा प्लट लिएर लुम्बिनीमा बनेका र बनिरहेका गुम्बा र विहार पनि गुरुयोजना मुताविक छैनन् । कोष र विदेशी संस्थाले आफ्नो स्वार्थ अनुकूलका काममा जोड दिँदा गुरुयोजना अनुसारका संरचना निर्माण, पुरातात्विक उत्खनन र उद्यान विकास छाँयामा परेका छन् ।
प्रदूषणका कारण उत्पन्न हुने रसायनले लुम्बिनीको महìवपूर्ण अशोक स्तम्भमा लेउ लागेको र खिइँदै गएको भन्दै युनेस्कोको अनुसन्धान टोलीले संरक्षका लागि तत्काल छहारी हाल्न तीन वर्ष अगाडि आग्रह गरेको थियो । अहिलेसम्म त्यो काम सुरु नै भएको छैन । वास्तुविद् प्रा. टाँगेको गुरुयोजनाले लुम्बिनीलाई बौद्ध तीर्थस्थल र विश्व पर्यटन केन्द्र बनाउने परिकल्पना गरेको छ तर पदाधिकारीहरूको ध्यान त्यताभन्दा पनि गुरुयोजनाविपरीतका काममा रह्यो । लुम्बिनीका जानकार संस्कृतिविद् प्रा.डा. गितु गिरी भन्नुहुन्छ– ‘जागिरे मानसिकताबाट आएका पदाधिकारी व्यक्तिगत फाइदाका योजनामा लाग्दा लुम्बिनीको विकास व्यवस्थित र सोचेअनुरुप हुनसकेन, सरकारीस्तरबाटै गम्भीररूपमा समीक्षा गरेर अगाडि बढ्नुपर्छ । ’
गुरुयोजना मिच्दै स्थानीय व्यापारीले बसपार्क छेउ कब्जा गरी पसल सञ्चालन गरेका छन् । माला पसल, कार्यालय, पुस्तकालय, अनुसन्धान कक्ष, सङ्ग्रहालयका लागि बेल्ना आकारका आठवटा भवन निर्माणको योजना छ । हालसम्म दुईवटा मात्र बनेका छन् ।
कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईका अनुसार हालसम्म गुरुयोजनाको ७८ प्रतिशत काम भएको छ । बाँकी काम गर्न ६ अर्ब बजेट र ४ देखि ५ वर्ष समय लाग्ने कोषको अनुमान छ तर पदाधिकारी बीचको आन्तरिक द्वन्द्व र अहिलेकै कर्मचारीले मात्र काम पूरा गर्ने सम्भावना कम छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना