उपत्यकाको फोहोरमैला व्यवस्थापन

Madhav Adhikariडा. माधव अधिकारी

 


फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौँ, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा कुल जनसङ्ख्या २३,७४,३९७ तथा घोराही, जनकपुर, हेटौँडा, धनगढी, तुलसीपुर, इटहरी, नेपालगञ्ज, बुटवल, धरान, कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा कुल जनसङ्ख्या १५,४५,६८० र अन्य गरी जम्मा २६३ नगरपालिकामा कुल जनसङ्ख्या १,५४,७०,०३९ र ४८१ गाउँपालिकाको कुल जनसङ्ख्या १,०७,५८,२४८ छ । आजको मूल समस्या भनेको ती निकायमा फोहोरमैलाको व्यवस्थापन हो । सहरी क्षेत्रमा बढ्दो जनसङ्ख्याको चाप, ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइ र बढ्दो सहरी उपभोग प्रवृत्तिका कारण फोहोरको उत्पादन त्यही गतिमा बढिरहेको छ । काठमाडौँ उपत्यकामा महानगरपालिका, उपमहानगरपालिका गरी जम्मा १८ वटा नगरपालिका र ललितपुरमा तीनवटा गाउँपालिका गरी जम्मा २१ वटा स्थानीय निकाय रहेको छ ।
नेपाल सरकारले अर्बाैं रुपियाँ खर्च गरी बनाएको डम्पिङसाइटमा विगत केही दिनदेखि अवरोध भई फोहोरमैला नियमित रूपमा विशेषगरी उपत्यकाको महानगरपालिका र नगरपालिकाको फोहोरमैला उठाउन नसकिएको व्यहोरा सम्बन्धित नगरवासीलाई जानकारी गराई केही समयका लागि फोहोरमैलाको उचित व्यवस्थापन गर्न कठिनाइ भएकाले अल्पकालीन रूपमा आफ्नो घर, अफिस, कम्पाउन्डभित्रै व्यवस्थापन गरी सहयोग गरिदिनहुन अनुरोध गरेको पाइन्छ । डम्पिङसाइटको निर्माण सम्पन्नदेखि नै विवादग्रस्त बन्दै बेलाबेलामा उपत्यकाको नगरवासीको घर, कम्पाउन्डमै वा सडकमा फोहोरमैला राख्नुपर्ने बाध्यता आउने गरेको नौलो होइन । समयको मागलाई कसैले रोक्न नसक्ने हुन्छ, डम्पिङसाइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या पूर्ण रूपमा निराकरण गर्न नसकी यो फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याका रूपमा खडा भएको छ । गर्मीयाम, नेपालीको चाड बडादसैँ नजिकैको मुखमा सम्बन्धित पक्षले फोहोरमैलाको निष्कासन गर्न विरोध गरी नगरवासीको सडकमा फोहोरमैला जम्मा भई अस्तव्यस्त भई नगरवासीको स्वास्थ्यमा प्रतिकूल असर परेको छ । स्मरण रहोस् उपत्यकामा करिब सात सय मेट्रिक टन फोहोरमैला दैनिक रूपमा उत्पादन हुन्छ । राजधानी काठमाडौँ र अन्य नगरपालिकामा फोहोरमैला अव्यवस्थित भई जनताको जीवन थप कष्टकरमय बनेको छ । ठूलो धनराशि लगानी हुँदा पनि सहज रूपमा फोहोरमैला व्यवस्थापन गर्न बेलाबेलामा अवरोध हुनुमा कसको कमजोरी त ? सरकार, कर्मचारी, सम्बन्धित निकाय या स्थानीय बासिन्दा ? यसबारे गहिरिएर सोच्ने समय आएको छ । आ–आफ्नो भूमिका सबै क्षेत्र (नेपाल सरकार, सम्बन्धित निकाय, स्थानीय जनता) बाट पालन भएको छ कि छैन ? अतः राजधानीवासी र देशका अन्य सहरमा सर्वसाधारणको जनस्वास्थ्यमा प्रतिकूल असर नपर्नेगरी छिटोभन्दा छिटो फोहोरमैला व्यवस्थापनको उचित स्थायी व्यवस्था हुनुपर्ने समयको माग हो ।
बेलाबखत विभिन्न प्रकारका निहँु तथा कारणले गर्दा राजधानी सहरको फोहोरमैला उठ्न नसकी सहर दुर्गन्धित बन्न पुगेको हुन्छ । हाल केही समयदेखि सिसडोल ल्यान्डफिल साइटमा फोहोरमैला फ्याँक्न अवरोध भएकोे हुनाले सहरको सडक, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठेकाले काठमाडौँ राजधानी दुर्गन्धित भई झरी र गर्मीको मौसममा सो कारण जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौँ व्यक्ति झाडापखाला, विषम ज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित हुने सम्भावना छ । अस्पतालमा समेत फोहोर थुप्रिने गरेको छ । जथाभावी थुपारिएको फोहोर वर्षेझरी र उच्च तापक्रमले गर्दा नगरवासीको गुणस्तरीय स्वास्थ्यमा तीव्र असर पु¥याएको हुन्छ । गर्मीयाम र पानी परिरहेकाले काठमाडौँ उपत्यकामा फोहोरमैलाबाट प्रतिकूल असर परी जनस्वास्थ्यमा ठूलो असर पारी उपत्यकाको अस्पतालमा फोहोरमैलाबाट फैलिएको रोगका बिरामीको उपस्थिति बाक्लो छ ।
फोहोरमैला व्यवस्थापनसम्बन्धी विस्तृत रूपमा अध्ययन हुनु आवश्यक छ । ठूलो धनराशि लगानी हुँदा पनि सहज रूपमा फोहोरमैला व्यवस्थापन गर्न बेलाबेलामा अवरोध हुनुमा कसको कमजोरी त ? सरकार, सम्बन्धित निकायहरू या स्थानीय बासिन्दा ? यसबारे गहिरिएर सोच्ने समय आएको छ । सरकारले सो डम्पिङसाइट बनाउँदा जनता वा स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कार्य के–के गरेको छ ? आ–आफ्नो भूमिका सबै क्षेत्र (नेपाल सरकार, सम्बन्धित निकाय, स्थानीय जनता) बाट पालन भएको छ कि छैन ? आदि कुराको निक्र्यौल गर्नुपर्ने समय आएको छ । आजको बदलिँदो परिस्थितिमा जनताको सरकारलाई जनताले नै विश्वास नगरी यस्तो समस्या आउनु ज्यादै दुःखको कुरा हो । अतः राजधानीवासीको जनस्वास्थ्यमा प्रतिकूल असर नपर्नेगरी छिटोभन्दा छिटो फोहोरमैला व्यवस्थापनको उचित स्थायी व्यवस्था हुनुपर्छ ।
फोहोरमैलाको उचित व्यवस्थापनमा विभिन्न पक्षका बाधकका रूपमा काम गरिरहेका छन् । सरकारको उचित कार्यनीतिको अभाव, असक्षम प्रविधि, नातावाद, राजनीतिक विकृति, भ्रष्टाचार, व्यक्तिगत स्वार्थ, जनसहभागिताको कमी, जनताको न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा, पुरानै स्वार्थपूर्ण कार्य, व्यवसायमूलक शिक्षाको अभाव, दीर्घकालीन योजना अभाव, पूर्वाधार तथा जनचेतनाको कमी, उपकरणको अभाव नगरपालिकाहरूबीच समन्वयको अभाव, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाको प्रतिबद्धता र प्राथमिक निर्धारण अझै नभएको, अनुशासनको कमी, फोहोरमैला स्रोतका रूपमा परिचालन गर्ने आवश्यक व्यवस्था नभएको र निजी साझेदारी संस्था सेवामूलकभन्दा नाफामूलक भएको आदि ।
यी माथिका कारणबाट काठमाडौँ उपत्यकामा फोहोरमैलाको उचित व्यवस्थापन नभएको ध्रुवसत्य हो । फोहोरमैलाको समाधानका उपायमा नागरिक चेतना हुनुपर्ने, राजनीतिक स्वार्थ त्याग्नुपर्ने, योग्य तथा दक्ष जनशक्ति चाहिने, फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने सङ्घ संस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी कानुन सुधार हुनुपर्ने, साझा ल्यान्डफिल साइटको अवधारण ल्याउनुपर्ने, उचित तालिमको व्यवस्था, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क वैज्ञानिक हुनुपर्ने, नगरपालिका बनाउँदा नै पूर्वाधार विकास गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन गर्न नगरवासीलाई मुख्य पक्ष फोहोर नै घटाउने, पुनः प्रयोग एवम् स्रोत परिचालनबारे ज्ञान दिनुपर्ने देखिन्छ । यसका साथै फोहोरमैला व्यवस्थापनका लागि गैरसरकारी संस्थासंँग स्वच्छ हातेमालो हुनुपर्ने, मानवस्रोत साधनको उचित परिचालन एवम् विकास, नगरपालिकाको दीर्घकालीन योजना बनाउनुपर्ने, स्रोत साधनको आवश्यक व्यवस्थापन, ल्यान्डफिल साइटका लागि प्रभावकारी ठाउँ छनोट, साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजानुपर्ने, जनताको आर्थिक स्थिति सुधार गर्ने, व्यावसायिक शिक्षा एवम् रोजगारी दिने, सक्षम जनशक्ति विदेश पलायन हुन नदिने र देशमा भएका विज्ञलाई आफ्नो पार्टीको नभए पनि उचित प्रयोग गर्ने, राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

 

 

 प्रकाशित मिति: २०७४/५/२६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना