संसद् र प्रदेशसभाको निर्वाचन कार्यक्रम सार्वजनिक

Election-Commission-Nepal-768x411काठमाडौँ, भदौ २७ गते । निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेकोे छ । सार्वजनिक कार्यक्रमअनुसार, पहिलो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कात्तिक ५ गते र दोस्रो चरणको उम्मेदवारी कात्तिक १६ गते हुने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग बैठकले मङ्सिर १० गते आइतबार र मङ्सिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको यो पहिलो पटक हो । आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार, पहिलो चरणको प्रत्यक्षतर्फ कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्ने र कात्तिक ८ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । पहिलो चरणको मतदान कार्य मङ्सिर १० गते बिहान ७ देखि ५ बजेससम्म हुने जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो ।
यसैगरी, दोस्रो चरणको कार्यक्रमअनुसार कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्ने र कात्तिक १९ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । दोस्रो चरणको मतदान कार्य मङ्सिर २१ गते बिहान ७ देखि ५ बजेससम्म हुनेछ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले यही भदौ २७ गतेसम्म आयोगमा निवेदन दिनुपर्ने, भदौ २८ गते निर्वाचनमा भाग लिन निवेदन दिने दलको नामावली प्रकाशित गर्ने कार्यसूची छ ।
भदौ २९ गते प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिने तथा निर्वाचनमा भाग लिने राजनीतिक दलको अन्तिम नामावली भदौ ३० गते प्रकाशित गर्ने निर्वाचन कार्यक्रम छ ।  राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची असोज २९ गते दिनुपर्ने गरी आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । असोज ३० गते उम्मेदवारको बन्द सूची सच्याउन राजनीतिक दललाई सूचित गर्ने र कातिक ६ गते राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची संशोधन गरी बुझाउने कार्यक्रम छ ।
यसैगरी, कातिक १३ गते उम्मेदवारको बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा फिर्ता निवेदन दिने र १४ गते उम्मेदवारको  बन्द सूचीबाट उम्मेदवारको नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिने कार्यसूची छ ।
 त्यस्तै, उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्काे उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली आयोगमा बुझाउन कातिक १४ गतेको समय प्रदान गरिएको छ । प्रवक्ता ढकालका अनुसार, उम्मेदवारको बन्द सूची सार्वजनिक गर्ने मिति कातिक १७ का लागि तोकिएको छ । त्यस्तै, उम्मेदवारको बन्द सूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने मिति कातिक १८ गते रहेको छ ।
 उम्मेदवारको बन्द सूचीमा समावेश उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदनउपर जाँचबुझ र निर्णय गर्ने कातिक २५ गते तोकिएको छ भने उम्मेदवारको बन्द सूचीबाट उम्मेदवारको नाम हटेको सूचना मङ्सिर २ गते प्रकाशन गरिने जानकारी आयोगले दिएको छ । उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने मिति मङ्सिर ३ गते तोकिएको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना