राहदानी सिरानीमा पौरख गाईगोठमा

नवीनराज कुइँकेल

 

बेसीसहर, भदौ ३० गते । लम्जुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीका धु्रवराज पोखरेललाई विदेश गएर पैसा कामाउने ठूलो धोको थियो । राम्रो कमाइ गर्न उहाँले अनेकौ विकल्प खोज्नुभयो ।
कहिले नेपाली सेनामा भर्ती हुन त कहिले जापान र कोरिया जाने प्रयास गर्नुभयो । विदेश जान भाइ उपेन्द्रसँगै राहदानी बनाउनुभयो । भाइ विदेश पुग्नुभयो, उहाँ भने राहदानी सिरानीमा थन्काएर पशुपालन व्यवसायमा लाग्नुभयो । विदेश गएर पनि पैसा नै कमाउने हो । बरु आफ्नै देशमा पसिना बगाउँछु र परिवारसँगै रमाउँछु भनेर व्यवसाय सुरु गरेँ, १५ वर्षअघिको सम्झना सुनाउँदै पोखरेलले भन्नुभयो, सुरुमा ब्रोइलर कुखुरा पालेँ, अहिले गाई व्यवसाय गरेको छु । आम्दानी राम्रै भइरहेको छ । यसैमा खुसी छु ।
३७ वर्षीय पोखरेल अहिले गाई स्याहार्न व्यस्त हुनुहुन्छ । उहाँलाई पत्नी जानुकाले सहयोग गर्नुभएको छ । सुरुको कुखुरापालनले उहाँलाई राम्रै आम्दानी दियो । २०६८ सालतिर छ हजार कुखुरा एकैचोटी मरेपछि भने व्यवसाय परिवर्तन गरी गाईपालनतिर लागेको पोखरेल बताउनुहुन्छ । gaipalan
कुखुरापालनबाट कमाएको पैसा गाईमा लगानी गरेको पोखरेलले बताउनुभयो । उहाँले पाउँदी बजार छेउको १५ रोपनी जग्गामा गाई पाल्नुको साथै ४० रोपनीमा घाँस खेती गर्नुभएको छ । यसमा प्रोटिनयुक्त सिओफोर, मोलाटा, सेटेरिया, नेपियरलगायत जातका घाँस छन्् । आफ्नै आमाको नाममा खोलिएको ‘जगतमाया गाई फार्म’ मा अहिले साना ठूला गरेर ४२ गाई छन्् । बिहान उठ्ने, गोबर सोहोर्ने, गाई दुहुने, घाँस काट्ने, चोकर हाल्ने गरेर पोखरेल दम्पतीको दिनचर्या बितेको छ ।
२३ वटा गाई दुहुना छन् । तीनवटा ब्याउने छन् । दुहुना गाईले दैनिक २५० लिटरसम्म दूध दिने गरेका छन् । उहाँ आफैंले चिज उद्योग खोलेर उत्पादन सुरु गर्नुभएको छ । दूध बिक्री र चिज उत्पादनबाट आम्दानी बढ्न थालेको छ । पोखरेलका अनुसार दुई दिनको दूध सङ्कलन गरेर चिज बनाइने गरिएको छ । एक पटकमा ७० देखि ८० केजीसम्म चिज उत्पादन हुने गरेको छ । एकपटकमा मात्रै कम्तीमा ४९ हजार रुपियाँ बराबरको चिज उत्पादन हुन्छ । मासिक जोड्दा करिब साढे सात लाख पुग्छ ।
पहिले दूध बेच्थ्यौं । केही महिनायता चिज उद्योग चलाएका छौं, पोखरेलले भन्नुभयो, अहिले दूध नबिक्ने र पैसा नपाउने झन्झट छैन । उत्पादित चिजलाई पोखरा पठाउने गरिएको छ । कर्मचारी तलब, गाईलाई दानापानी, अन्य खर्चपर्च गर्दा तीन लाख जति खर्च हुन्छ । परिवारका तीन सदस्यबाहेक अन्य तीनजनालाई तलब दिएरै राखिएको छ । उहाँले गोबर बिक्री गरेर पनि आम्दानी गर्दैआउनुभएको छ ।
गोठ बनाउन र गाई ल्याउन गरी सुरुमा ३३ लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । फर्ममा जर्सी क्रस र होलिस्टेन क्रस गाई छन्् ।
पशु विकास अधिकृत खिला शर्मा घिमिरेले पोखरेल जिल्लाको नमुना गाईपालक कृषक भएको बताउनुभयो । कृषि कार्यालयले कृषक पोखरेललाई युवा स्वरोजगार कार्यक्रमअन्तर्गत दुई लाख, जाडोमा पानी तताउन एक लाख २० हजार रुपियाँ बराबरको सोलार सहयोग गरेको छ । विदेशबाट ल्याइएका घाँसका बिरुवा, प्राविधिक सहयोग साथै गाई ढुवानीमा सहयोग गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लक्ष्मण ढकालले बताउनुभयो ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना