चाडबाडमा चुनावी रौनक

shiv kumarशिवकुमार भट्टराई

 


नेपालीको महान् चाड बडादशैँ शुरु हुनै लागेको छ । लगत्तै तिहार, छठ अनि नेपाल सम्वत् पर्वको ताँती छ तर आम जनता भने यसै अवधिमा हुने विभिन्न तहका निर्वाचनप्रति आकर्षित हुनथालेका छन् । अबका तीन महिना नेपाल सम्पूर्ण रूपले चुनावमय हुने भएको छ । चाडबाड पनि चुनावको छायामा पर्ने अवस्था छ । नेता, कार्यकर्ता दशँै अगावै गाउँ पसेका छन् । प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनले यसको थालनी गरिसकेको छ । लगत्तै मङ्सिरमा दुई चरणमा हुने प्रदेश र सङ्घको निर्वाचनका लागि समेत तयारी सुरु भइसकेको छ । यसले मुलुकलाई नयाँ दिशातर्फ उन्मुख गराउनेछ ।
निर्वाचनपछिको परिस्थितिले राजनीतिलाई सही बाटोमा डो¥याउने विश्वास गरिएको छ । यसले लामो समयदेखि कायम राजनीतिक सङ्क्रमण अन्त्य हुनेछ । राजनीतिक रूपमा प्राप्त उपलब्धिको जगेर्ना गर्ने क्रममा मुलुकले लामो सङ्क्रमण झेल्नु परेको छ । वि.सं. २०६२–०६३ को दोस्रो जनआन्दोलनको बलमा स्थापित सङ्घीय गणतन्त्र नेपाल संस्थागत गर्न राजनीतिक तहमा ठूलै रस्साकस्सी भएको छ । ठूलो तनावबीच ०७२ असोज ३ मा जारी भएको नेपालको संविधान पूर्णरूपले कार्यान्वयन हुन सकिरहेको थिएन । यसका लागि सङ्घीयताको आधार स्तम्भका रूपमा रहने तीनवटै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता छ । आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन गरेपछि मात्र सङ्क्रमण अन्त्य भई मुलुक नयाँ चरणमा प्रवेश गर्ने हो । यसका लागि अब भने सबै वातावरण तयार भइसकेको छ । ठूलो आशङ्का र त्रासका बीच स्थानीय तहको निर्वाचन सम्पन्न हुने क्रममा छ । तेस्रो चरणका लागि आगामी असोज २ मा प्रदेश २ मा निर्वाचन हुँदैछ । यसका लागि दल चुनावी मैदानमा अन्तिम तयारीमा छन् । मतदाता आकर्षित गर्न दल विभिन्न कार्यक्रमका साथ घरदैलो कार्यक्रममा संलग्न छन् । लगत्तै मङ्सिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । दुवै तहको निर्वाचन एकैपटक गरेर राजनीतिक सङ्क्रमण अन्त्य गर्ने तयारीमा मुख्य दल लागेका छन् । यो चरण पार भएपछि देशले एउटा गति लिने छ ।
स्थानीय तहका लागि प्रदेश नं. २ मा आउने सोमवार मतदान हुँदै छ । वैशाख ३१ गतेदेखि सुरु भएको स्थानीय तहको निर्वाचन शृङ्खला असोज २ पछि टुङ्गिनेछ । राष्ट्रिय जनता पार्टी, नेपालको विरोधका कारण पटक, पटक पछाडि धकेलिएको यो प्रदेशको निर्वाचन अब भने सुनिश्चित भएको हो । यस निर्वाचनमा राजपा पनि भाग लिन तयार भएपछि मात्र अहिलेको वातावरण निर्माण भएको हो । मुलुकको कुल भूभागको मात्र १७ प्रतिशत ओगटेको भए पनि यहाँ करिब आधा जनसङ्ख्याको बसोवास छ । साथै १३६ वटा स्थानीय तहको निर्वाचन हुने भएकाले पनि यो प्रदेशको निर्वाचन सबैका लागि ज्यादै ठूलो महìवको छ । मुलुकमा सबैभन्दा बढी अन्न उत्पादन हुने यो प्रदेशको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दल तीव्र प्रतिस्पर्धामा छन् । मतदाता आफूतिर आकर्षित गर्न सबै दल अन्तिम कसरतमा जुटेका देखिन्छन् । विचार र सिद्धान्तभन्दा शक्ति र पैसाको प्रभाव यो प्रदेशमा अझै पनि निर्णायक देखिने भएको छ । बाहुवली नेताको पछि लाग्ने जमात अहिले पनि कम छैन यो प्रदेशमा । भोजभतेर र गुण्डागर्दीले यहाँमा मतदातालाई प्रभावित गर्न सकिने भएकाले उमेदवार यही ध्याउन्नमा केन्द्रित छन् । विगतदेखि नै यहाँ चुनावका बेला पैसाको खोला बगाउने र भोजभतेरको प्रतिस्पर्धा गर्ने होडबाजी नै चल्ने गरेको छ । त्यसको निरन्तरता यस पाला पनि देखिन थालेका छन् । यति हँुदाहँुदै बिस्तारै मधेशी मतदातामा चेतना बढेको आंकलन गर्न सकिन्छ । विगतमा मधेशी मतदाताले धेरै खाले अनुभव सङ्गालेका छन् । मधेशका नाममा राजनीति गरेर मत लिन सफल भएका नेताहरूको कार्यशैली राम्ररी अनुभव गरेका छन् । त्यसैले अब हिजोजस्तै अवस्था रहिरहने अनुमान गलत साबित हुन सक्छ ।
साँच्चै भन्ने हो भने मधेशमा मधेशीबाटै विभेद बढी हुने गरेको छ । जातीय र लैङ्गिक विभेद मधेशमा जति अरूतिर कतै छैन । फेरि विगत फर्केर हेरौंँ – मधेश र मधेशीका नाममा राजनीति गर्ने धेरै नेता पटकपटक सत्तामा पुगे । तर मधेश र मधेशीका लागि गरे के त ? केवल भाषण र उधारो आश्वासन बाँड्ने काम मात्र भयो । यस्तै छुवाछूत र विभेदको अवस्था यो प्रदेशमा सर्वाधिक रहेको पाइन्छ । हुनेखाने र उपल्लो जातकाले मधेशीका नाममा सधैँं अवसर पाइरहेका छन् । आरक्षणको सिटमा डाक्टर इन्जिनियर हुनेमा झा, मिश्र, यादव, देव र साहको बोलबाला चल्छ । कुनै पनि तल्लो जातिका मुसहर, झाँगड वा सतारले यो सुविधा पाएको पढ्न, सुन्न मुश्किलले पाइन्छ । सोहीबमोजिम गाउँ, गाउँमा ठालुकै पकड र प्रभाव रहने गर्छ । भोट दिनका लागि पनि तल्लो जातका मानिसले तिनै ठालुको आदेश तामेली गर्ने परम्परा छ, जसले गर्दा मधेशमा ठालु सधैँ माथि पुग्ने र तल्लो जातका मानिस सधैँ दमित भइरहनुपर्ने अवस्था कायमै छ । यसका साथै महिलाले स्वतन्त्र भएर मतदान गर्ने वा उमेदवार बन्ने हैसियत अझै राख्न सक्ने अवस्था छैन । पति वा छोराको चाहनाअनुसार नै महिलाले निर्णय गर्नुपर्ने परिवेश कायमै छ । त्यसैले नेताहरूले पनि ठालूलाई नै बढी महìव दिन्छन् । भोटको ठेक्का ठालूले लिने प्रचलन छ । विगत चुनावसम्म यही परम्पराले निर्णायक भूमिका खेलेको हो ।
तर अहिले परिस्थिति फेरिएको छ । मधेशमा जनचेतनाको लहर आएको छ । हिजो जस्तो पैसा र शक्तिको भरमा भोट आउने अवस्था छैन । मधेशी जनताका लागि विगतमा कसले के गरे र भोलि कसले के गर्न सक्लान् भन्ने आँकलन गर्न सक्ने जमात हुर्किसकेको छ । अब ठालूले ठेक्का लिएको भरमा मत आउने अवस्था कमजोर भएको छ । त्यसैले गर्दा प्रमुख दलका नेताहरू यतिबेला मधेश झरेका छन् । प्रदेश २ को चुनाव सबैको प्रतिष्ठासँग जोडिएको छ । नेपाली काँग्रेस मधेशमा सधैँ अग्रस्थानमा रहिआएको छ । मधेशसँग उसको भावनात्मक सम्बन्ध रहँदै आएको इतिहास साक्षी छ । नेपाली काँग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलनमा मधेशी जनताले अग्रणी भूमिका निर्वाह गरेका छन् । साथै सोही अनुरूपको साथ र सहयोग पनि काँग्रेसले मधेशबाट पाएको छ । गएको संविधानसभाका लागि भएको निर्वाचनमा काँग्रेसले मधेसबाट सबैभन्दा बढी मत पाएको थियो । त्यसैले यस निर्वाचनमा पनि उसले बढी मत पाउने अपेक्षा गर्नु गलत होइन ।
अर्काे ठूलो दल नेकपा एमाले अहिले सबैभन्दा आक्रामक ढङ्गले मधेश पसेको छ । विगतमा मधेशविरोधी छवि बनेको उसले मधेशमा जसरी भए पनि पहिलो दलको हैसियत बनाउने रणनीति तयार गरेको छ । स्थानीय तहमा यसअघि भएका दुई चरणमा बढी स्थान जितेकाले उसमा विजय उन्माद छाएको छ । त्यसैले प्रदेश नं. २ मा पनि पहिलो पार्टी बन्ने उसको मनसुवा स्पष्ट छ । यसका लागि जे गर्न पनि ऊ तयार देखिएको छ । जित्ने सर्तमा एमालेले नव प्रवेशीलाई धमाधम टिकट बाँडेको छ । चुनाव जित्ने मात्र ध्याउन्नमा रहेको एमालेले यसबाट भोलि पर्न सक्ने नकारात्मक प्रभाव वा असरबारे केही पनि सोचेको देखिएन । तैपनि अहिलेको माहोल एमालेमैत्री प्रतीत हुँदैन तर उसको एक सूत्रीय अभियान भनेको जसरी पनि चुनाव जित्नुपर्छ भन्ने रहेको छ । यसका लागि शीर्ष तहका नेताहरू अहिले ढुक्कका साथ मधेशमै बसोवास गरिरहेका छन् ।
उता, राजपा पनि अहिले चुनाव जितेर आफ्नो हैसियत देखाउन ठूलो मेहनत गरिरहेको छ । आफ्ना मुद्दा स्थापित गर्न पनि चुनाव जित्नुपर्ने बाध्यता उसका अगाडि तेर्सिएको छ तर ६ वटा दल मिलेर बनेको नयाँ पार्टी भएकाले चुनावमा टिकट वितरणमा समस्या आइपरेको छ । सबैलाई व्यवस्थापन गर्न नसक्दा बागी उम्मेदवार वा अर्काे पार्टी प्रवेश गरेर चुनौती दिने ठूलै समस्या बनेको छ । यो अवस्थालाई राम्ररी मिलाउन उसलाई समय अभाव भएको देखिन्छ । त्यसैले सोचेअनुसार परिणाम नआउला की भन्ने चिन्ता राजपा नेताहरूमा छ । तैपनि मधेश आफ्नो आधारभूमि भएकाले परिणाम राम्रै हुने उसको अनुमान छ । साथै सङ्घीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक पनि यो प्रदेशमा बलियो पकड भएका राजनीतिक शक्ति भएको अनुमान गरिएको छ । उनीहरूले पनि राम्रै परिणामको अपेक्षा गर्नु गलत होइन ।

 

प्रकाशित मिति: २०७४/५/३०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना