महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो

वीरगन्ज,  भदौ ३० गते । आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् । सञ्चारमाध्यममा पनि महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो उनीहरुको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा महिला सहभागिता सम्बन्धमा प्रत्येक वडामा एक दलित महिलासहित दुई जना, गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट गाउँसभाले निर्वाचित गर्ने चार जना सदस्य, नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एक जना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट नगरसभाले निर्वाचित गर्ने पाँच जना सदस्य र जिल्ला समन्वय समितिमा तीन जना महिला सदस्य पद आरक्षण गरिएका छन् तर दल फरक भएमा यो व्यवस्था लागू नहुने व्यवस्था छ ।

यी आरक्षित पदबाहेक पनि महिलाले उम्मेदवारी दिन सक्छन् । उल्लेखित व्यवस्था हेर्दा हरेक वडामा पाँच पदमा दुई महिला हुनैपर्ने कारणले ४० प्रतिशतसम्म महिला कोटा आरक्षण गरिएको देखिन्छ । यसका साथै उम्मेदवार हुँदा जम्मा गर्नुपर्ने धरौटी रकममा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्नलाई ५० प्रतिशत छुटको व्यवस्था पनि छ ।

प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगन्जमा प्रमुख पदका लागि मुख्य राजनीतिक दललगायत प्रायः कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएको छैन । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० लगायत दलका महिला हरेक किसिमले प्रमुख पद सम्हाल्न सक्षम छन् तर पनि दलले महिलालाई उपप्रमुख पदमा मात्र उम्मेदवार बनाएका छन् ।

यसरी महानगरपालिकाका उपप्रमुख पदमा काँग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, संघीय समाजवादी फोरमबाट पिंकीदेवी यादव, राजपाबाट रम्भा मिश्रा र लोकतान्त्रिक फोरमबाट रिंकुदेवी प्रतिस्पर्धामा छन् ।

“उम्मेदवारी दिएकामध्ये अधिकांश महिलालाई उपप्रमुख पदमा उठाइएको छ । यसरी महिला महिलालाई नै प्रतिस्पर्धी बनाइएको छ । यसले स्थानीय तहमा महिलाको सार्थक सहभागिता गराउन दल गम्भीर नभएको पुष्टि हुन्छ”– संघीय समाजवादी फोरमबाट उपप्रमुख पदका उम्मेदवारी दिनुभएकी पिंकीदेवी यादवले भन्नुभयो, “कुनै पनि समाज वा देशको सन्तुलित विकास र समृद्धिमा सबै वर्ग, जाति र समुदायको समान सहभागिता चाहिन्छ ।”

उहाँले भन्नुभयो, “नेपाली समाज र राजनीतिक महिलामैत्री बन्न नसकिएका कारण नै विकास अवरुद्ध भएकाले मुलुकको समावेशी विकासका लागि यस क्षेत्रका मतदाता यसपटक मलाई नै विजयी बनाउनेछ ।”

मधेसी मुद्दामा लड्ने लोकतान्त्रिक फोरमबाट उपप्रमुखका उम्मेदवार रिंकुदेवी नेपाली राजनीतिलाई अस्थिरताको भुमरीबाट निकाल्न महिलामैत्री राजनीति अपरिहार्य भएको बताउँदै अहिले महिलाको चाहना समान अवसर तथा स्रोत र शक्तिमा समान अधिकार मात्र होइन, समान उपलब्धि पनि हो र यसका लागि धेरैभन्दा धेरै महिला स्थानीय तहमा जितेर जानु पर्दछ भन्नुभयो ।

विभिन्न समयमा भएको सामाजिक र राजनीतिक आन्दोलनले महिला र पुरुषको सामाजिकीकरणको प्रक्रियालाई परिवर्तन गरेको छ, नेपाली काँग्रेसकी नेत्री एवं उपप्रमुखका उम्मेदवार शान्ति कार्कीले मुख्यतः वीरगन्ज महानगरपालिकाको आर्थिक विकास र समृद्धिको आधार तय गर्न हुन लागेको यो चुनावमा संघीय संविधानको कार्यान्वयन र विकास एवं समृद्धिको नारा सँगसँगै लिएर आपूm चुनावी मैदानमा होमिएको बताउनुभयो ।

पर्साका १४ वटा स्थानीय तहका ५८८ पदका लागि तीन हजार ६२७ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकामा १२८ वटा वडा छन् । कूल एक लाख आठ हजार मतदाता रहेको वीरगन्ज उपमहानगरपालिकामा १६२ पदका लागि एक हजार १४८ जना प्रतिस्पर्धामा ओर्लिएका छन् ।

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले पनि अत्यन्त महत्व राखेको यो निर्वाचनमा हरेक वर्ग, पेशा, जाति र क्षेत्रको समानुपातिक सहभागिता हुनैपर्दछ, नेकपा एमालेबाट उपप्रमुखका उम्मेदवार सोफिया आचार्यले भन्नुभयो, “मेरो प्राथमिकता स्थानीय निकायमा प्रायः न्यून पहुँच भएका महिला र त्यसमा पनि विशेषगरी तराईका दलित महिलाको सशक्तीकरण गर्नु नै हो ।

प्रतिस्पर्धाको कृत्रिम कुरा गरेर शदीयौँदेखि उत्पीडन एवं राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारबाट बञ्चित मधेशका अल्पसंख्यक मुश्लिम र दलित महिलाले जितेर आउलान् भनेर नै उनीहरूलाई नल्याउने योजना हो, माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार दुर्गा क्षेत्रीले भन्नुभयो, “स्थानीय तहको चुनावका माध्यमबाट मुलुकमा आफ्नो अधिकार सुनिश्चित गर्न सम्पूर्ण महिलाले चुनावमा सक्रिय सहभागिता जनाउनु पर्दछ ।”

गाउँगाउँ टोलटोलमा कोणसभा, घरदैलो र मतदातासँग प्रत्यक्ष भेटघाट अभियानलाई अगाडि बढाएका छौँ, स्थिति राम्रो छ, राजपाबाट उपप्रमुखका उम्मेदवार रम्भा मिश्राले भन्नुभयो, “यसपटक मतदातामा निकै उत्साह छ, उनीहरू आफ्नो दलमाथि आशावादी छन् ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना