नेपाली शब्द विस्थापनको चिन्ता

shyam rimalश्याम रिमाल

 

कोट, मोटर, रेडियो, टिभी, टेलिफोन नेपालमा भित्रिसक्दा हाम्रा नेपाली भाषाशास्त्री वा भाषाविद् वा भाषावैज्ञानिकले यिनको नेपाली नाम राख्नै भ्याएनन् । भारतमै ट्रेन (रेल र ट्रेनमा फरक छ) आउँदा संस्कृतमा ‘लोहपथगामिनी’ भनी राखिएको नाम शब्दकोशमा मात्र सीमित भएको छ । आगो बाल्ने लाइटरलाई ‘घस्रघोषित अग्नि उत्पादक यन्त्र’ पनि राखियो संस्कृतमै, यो त हास्यास्पद नै भयो । कसो–कसो मोटरसाइकललाई
‘भट्भटे’ सम्म भन्न भ्याएका थिए नेपालीले, त्यो पनि शुरुमा चले पनि अहिले हराइसक्यो । प्लेनलाई ‘चीलगाडी’ भनिने चलन पनि साहित्य र ठट्टामा मात्रै छ रमाइलाका लागि । हेलमेटलाई निकैपछि ‘शिरकवच’ भनियो, अहँ चलेन । कम्प्युटरलाई ‘सुसाङ्ख्य’ भन्ने कि ‘सुगणक’ भन्नेमा माथापच्ची गर्दागर्दै काख काखमा ल्यापटप र हात–हातमा मोबाइल आइपुगेको छ । यहाँनिर भाषाविद् भन्दा शब्द नै अगाडि आउँदोरहेछ भन्ने स्पष्ट देखियो ।
अहिलेको अङ्ग्रेजी भाषा नै ५० प्रतिशत अन्य भाषाबाट सापटी लिएर बनेको छ । संस्कृतमा नारङ्गा भनिने सुन्तला अरबीमा नारन्जह, स्पेनीमा नारन्जा, नारन्ज्, नारन्ज, एन एरेन्ज हुँदै अन्त्यमा ‘एन अरेन्ज’ भएको रहेछ । ‘गार्बेज’ ल्याटिनबाट इटालेली, फ्रान्सेली हुँदै आएको छ । बाले, क्याफे, रेनेसाँ फ्रान्सेलीबाट, किन्डरगार्टेन, रुकस्याक जर्मनेलीबाट, गुरिल्ला, प्लाजा, स्पेनीबाट, कराते, सुनामी जापानीबाट कुङ फु, तोफु, ताइफुन चिनियाँबाट, पापराची इटालेलीबाट, ताइकान्दो कोरियालीबाट बनेका छन् । भारोपेली परिवारको ग्रीसेली भाषाका करिब एक लाख ५० हजार शब्द अङ्ग्रेजीमा आएको ब्रिटिश काउन्सिलका शिक्षक मार्था पराकी र क्याथेरिन भोगिउक्लाकीले गरेको अध्ययनमा उल्लेख छ । जस्तै डेमोक्य्रासी, आइडोल, इन्साइक्लोपिडिया, डायलग, जोग्राफी, ग्रामर, आर्किटेक्ट, इकोनोमी आदि ।
नेपाली भाषाको माउ संस्कृत भएकाले प्रतिशतमा नभए पनि संस्कृतका अनगन्ती शब्द नेपाली भाषामा रहेको देख्न सकिन्छ । वैदिक संस्कृत, लौकिक संस्कृत, प्राकृत, अपभ्रंश हुँदै नेपाली, हिन्दी, बङ्गाली, गुजराती, पञ्जावी बनेका हुन् । त्यसैले नेपाली भाषाले हिन्दी, उर्दु, फारसी, अरबीबाट ल्याएका शब्द पनि अनगन्ती नै छन् । मुलुककै राष्ट्रभाषा नेवारी, गुरुङ, तामाङ, शेर्पा, मगर, राई, लिम्बू तथा नेपाली भाषाका डोटेली, बैतडेली भाषिकाबाट निकै शब्द सापटी लिइएका छन् । विश्वव्यापीकरणका क्रममा विभिन्न देशका मानिस, भाषा, साहित्य, धर्म, संस्कृति, कला, विज्ञान, प्रविधि आदिको घुलमिलले एक भाषाले अर्काे भाषा ग्रहण गर्नु सामान्य भएको छ र निकै शब्दको आफ्नो भाषामा अनुवाद गरेर प्रस्तुत गर्नु हास्यास्पद हुने गरेको छ । नेपालीभाषीले अङ्ग्रेजी, हिन्दी बुझ्ने तर नेपालीमै उल्था गर्दा नबुझ्ने भइसकेको छ । भिडियो (भिडिओ, सिडियो (सिडिओ), डिएस्पी (डिएसपी, इनिसपेक्टर (इन्स्पेक्टर), रेन्जर, डेफो (डिएफओ), इञ्जिनेयर
(इञ्जिनीयर), उपरसेठ (ओभरसियर) भन्ने के हो, को हो अशिक्षितले पनि बुझेका छन्, बोलेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पद अङ्ग्रेजी (बिग्रिएको अङ्ग्रेजीसमेत) मा बोल्दा धेरैले को कुन तहको भनी बुझ्छन् भने नेपालीकरण गर्दा अलमलमा परेको देखिन्छ । नेपाली सेनापट्टी आर्मी चिफ, जनरल
(जर्नेल), कर्णेल, मेजर, क्याप्टेन, लेफ्टिनेन्ट, सुबेदार आदि, नेपाल प्रहरीपट्टी आईजीपी, एसपी, डिएसपी, इन्स्पेक्टर
(२०३०–३५ सम्म थानेदार भनिन्थ्यो), सइ, असइ, हवल्दार शब्द नै जनजिब्रोमा झुन्डिएको छ, महासेनानी, उपसेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी सहायक निरीक्षक आदि औपचारिकतामा मात्र सीमित छन् ।
आधुनिक सञ्चार प्रविधि क्षेत्रको विकाससँगै जन्मेका पत्रपत्रिका, एफएम रेडियो, अनलाइनले अङ्ग्रेजी, हिन्दी, उर्दु, अरबी, फारसी आदि शब्द निकै बोकेर आएका छन् । त्यसमा राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय क्षेत्रमा आएको हेरफेरले निकै भूमिका खेलेकोे छ । कतिपय नेपालीकरण गर्नै नसकिने खालका र केही चाहिँ नेपाली वा संस्कृत शब्द हुँदाहुँदै जानाजानी वा उपेक्षा गरेर चलाउन थालिएका शब्द छन् । कुनै त दुईभाषी छन् । उदाहरणका लागि दूरसञ्चार क्षेत्रका नेट, इन्टरनेट, इमेल, एप्स, नेटवर्क, साइबर, एडिएसएल, सिडिएमए, स्मार्ट फोन, क्याफे, आर्थिक क्षेत्रका कम्पनी, रेमिट्यान्स, भ्याट, प्यान, सिइओ, टेन्डर, सिलबन्दी, सेयर, क्यापिटल, क्यापिटल एजेन्सी, कार्पेट, एटिएम, ट्रेड, ट्रान्जिट, पर्यटन क्षेत्रका ट्राभल्स, ट्रेकिङ, राउन्ड (अन्नपूर्ण), इभेन्ट, होमस्टे, लेकसाइड, डिलक्स, वाइड बडी, विद्युत् क्षेत्रका इनर्जी, पावर, टनेल, टावर, रिजभ्र्वायर, डिजाइन, युनिट, प्रसारण लाइन, कृषि क्षेत्रका फर्म, फार्म, डेरी, पकेट, ब्लक, जोन, सुपर जोन, अग्र्यानिक, प्लटिङ, प्याकेट, जातीय–भाषिक क्षेत्रका मुस्लिम, चाइनिज, इन्डियन, जापानिज, जर्मन आदि शब्दले हाम्रो भाषामाथि नै आक्रमण गर्न थालेका छन् ।
इटालियन, इन्डियन, अमेरिकन, ब्रिटिश, औषधि चिकित्सा क्षेत्रका फार्मेसी, ल्याब, स्टाफ, नर्स, मेडिकल स्टोर, मिर्गौला फेल, डिस्टिल्ड वाटर, हाइ अल्टिच्युड, क्याप्सुल, ट्याब्लेट, शहर क्षेत्रका डम्पिङ साइट, ल्यान्डफिल साइट, स्मार्ट, मल, पार्क, कूटनीतिक–राजनीतिक क्षेत्रका प्यानल, पार्टी, मेयर, उपमेयर, कमिटी, मिसन, च्याप्टर, बम डिस्पोजल, प्रोटोकल, थ्रेसहोल्ड, भिसा, पासपोर्ट, रसिया, युके, कानुनी क्षेत्रका एजेन्ट, ब्रोकर, रोहवर, जेल, बिचौलिया, दावी, फर्जी, कला क्षेत्रका मिस नेपाल, नेपाल आइडल, ब्रान्ड एम्बेस्डर, आर्ट, पेन्टिङ, एक्रेलिक, फिल्म, एल्बम, फोटो, बक्स अफिस, डेब्यु, यातायात क्षेत्रका सीट, बुकिङ, कन्डक्टर, ट्रयाक, ब्रेक फेल, अन्य क्षेत्रका कम्पाउण्ड वाल, रेक्टोफिटिङ, मेसिन, माहोल, अभियन्ता, मुद्दा, निकास, सुचारु, सवाल, बाबजुद, डष्टबिन, ब्लड मनी, साइक्लिङ, वर्कसप, सेमिनार, सिम्पोजियम, एनजिओ, आइएनजिओ, फेस्टिबल, सर्किट, दुई भाषामिश्रित हवाइफायर, लाठीचार्ज, चेकजाँच, शहीदगेट, सुरक्षागार्ड आदि शब्द पनि यही कोटीमा पर्छन् ।
यस्ता कैयौँ शब्द छन्, जसलाई नेपाली शब्द बनाए पनि जन भाषाले ग्रहण गर्नै सक्दैन । केही शब्द नेपाली बनाउन अल्छी लागेर वा अत्याधुनिक देखाउन चलाउने गरिएको छ । अहिले नै त शिक्षित व्यक्तिले नेपाली, नेवारी वा अन्य राष्ट्रभाषा बोल्दा वा एफएम रेडियो र टिभीमा कार्यक्रम चलाउँदा बीच–बीचमा बग्रेल्ती अङ्ग्रेजी वा हिन्दी घुसाउँछौँ भने अबको १०–१५ वर्षमा कस्तो नेपाली बोलिएला, विचारणीय छ । मानिसले ग्रहण गर्नै सक्ने शब्द अनुवाद गरेर नचल्ने रहेछ भन्ने त देखियो तर नेपाली शब्द हुँदाहुँदै तिनलाई उपेक्षा गर्नाले हाम्रो नेपाली भाषाको भविष्य के होला ? नेपाली भाषाको वर्णविन्यासबारे हालैका वर्ष निकै बहस भए र हुँदै छन् । यस्ता चलन चल्तीमा ल्याइएका अनेपाली शब्दका बारे पनि भाषाविद्, भाषाप्रेमी, पत्रकार–सञ्चारकर्मीले बोल्नुप¥यो, बहसमा उत्रनुप¥यो ।

प्रकाशित मिति:  २०७४/५/३१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना