तयारी पोशाकमा गुणस्तर मापदण्ड तोकिने

विश्वास रेग्मी

 

काठमाडौँ, असोज ४ गते । विदेशी बजारमा नेपाली तयारी पोशाकलाई थप प्रतिस्पर्धी बनाउने उद्देश्यसहित यसमा पनि नेपाल गुणस्तर मापदण्ड तोकिने भएको छ । मापदण्डको अभावमा निर्यातको सम्भावनाअनुसार बजार विस्तार हुन नसकेको ठहर गर्दै उद्योग मन्त्रालयले चालू आर्थिक वर्षको योजनामै गुणस्तर र प्रमाणीकरणलाई समेटेको छ । यसका लागि नेपाल नापतौल गुणस्तर विभागले विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रिया अघि बढाइसकेको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार यसै आर्थिक वर्षमा तयारी पोशाकसहित कार्पेट र छालाका वस्तुको मापदण्ड तोक्ने योजना अनुसार काम अघि बढाइएको छ । यस्ता वस्तुको गुणस्तर मापदण्ड तोक्नका लागि कानुननै परिष्कृत गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, चालू आवको अन्त्यसम्ममा यसलाई कार्यान्वयनमा ल्याउने योजना छ ।
नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मध्यको तयारी पोशाक, कार्पेट जस्ता वस्तुको सम्बन्धित बजारमा माग बढाउन पनि गुणस्तर मापदण्ड सहयोगी हुने अपेक्षा गरिएको छ । यस किसिमको मापदण्डले निर्यात प्रक्रियामा पनि सहज हुने र विदेशमा पनि यी उत्पादनको विश्वास बढ्ने महानिर्देशक पुडासैनीको भनाइ छ । अहिले यी वस्तुमा गुणस्तर मापदण्डको व्यवस्था छैन, उहाँले भन्नुभयो, यो व्यवस्था लागू भएपछि निर्यात थप बढ्ने अपेक्षा छ । विभागले चालू आवमा विशेषतः यी वस्तुलाई नै प्राथमिकतामा राखेर गुणस्तर जाँचका लागि त्यसै किसिमको प्रयोगशालाको पनि व्यवस्थापन गर्ने योजना बनाएको छ ।
अमेरिकी सरकारले नेपालका विभिन्न पाँच दर्जनभन्दा बढी तयारी वस्तुमा ‘ड्युटी फ्रि’ सुविधाको घोषणा गरेपछि उद्योग मन्त्रालयले यसको निर्यात बढाउन छुट्टै विशेष आर्थिक क्षेत्र सञ्चालन तथा गुणस्तर मापदण्ड तोक्नेसम्मका योजना सार्वजनिक गरेको हो । मन्त्रालयले तयारी पोशाक उत्पादन गर्ने उद्योगलाई लक्षित गर्दै सिमरा आसपासमा विशेष आर्थिक क्षेत्र सञ्चालनको घोषणा पनि गरिसकेको छ । त्यस्तै यी वस्तुमा लगानी वृद्धिका लागि थप सुविधासमेत उपलब्ध गराउने घोषणा मन्त्रालयले गरेको छ । पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालबाट चार अर्ब २५ करोड रुपियाँ बराबरको तयारी पोशाक निर्यात भएको छ । त्यस्तै २६ करोड रुपियाँको छालाका वस्तु यसबीचमा निर्यात भएको तथ्याङ्क छ । tayari poshak
सात अर्ब ३६ करोड रुपियाँ बराबरको कार्पेट पनि नेपालबाट गत आवमा निर्यात भएको छ । गुणस्तर मापदण्ड तोकेपछि यी सबै वस्तुको निर्यात बढ्ने अपेक्षा विभागको छ । खरिदकर्ता देशले पनि गुणस्तर मापदण्ड पूरा गरेको वस्तुलाई सहज बजार प्रवेशको सुविधा दिन सक्ने पुडासैनीको भनाइ छ । विभागले अहिलेसम्म ६० वटा वस्तुमा गुणस्तर मापदण्ड तोकेर चिन्हसमेत प्रदान गर्दैआएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना