मल्चिङ प्रविधिबाट व्यावसायिक खेती

मनोज भट्टराई

ओखलढुङ्गा, असोज ५ गते । ओखलढुङ्गाका एकजना अगुवा किसानले अकबरे खेतीमा मल्चिङ प्रविधि प्रयोग गर्नुभएको छ । यो प्रविधि प्रयोग गरेसँगै अकबरे खुर्सानीको उत्पादन बढाएको ज्यामिरेका ती अगुवा किसान ३० वर्षीय तेजनारायण श्रेष्ठले जानकारी दिनुभयो । एक लाख ६० हजार रुपियाँसम्मको अकबरे खुर्सानी बेचिरहेका छु, श्रेष्ठले भन्नुभयो ।
ओखलढुङ्गाको सदरमुकाममा हप्तामा शनिबार र बुधबार लाग्ने बजारमा प्रतिकेजी दुई सय रुपियाँले हप्तामा ४० हजार रुपियाँको बिक्री हुने गरेको उहाँले बताउनुभयो । हप्तामा दुई सय किलोसम्म बेच्ने गरेको छु, श्रेष्ठले भन्नुभयो ।
मल्चिङ प्रविधिबाट व्यावसायिक अकबरे खेती सुरु गर्ने जिल्लाकै पहिलो कृषक आफू भएको उहाँले दाबी गर्नुभयो । उहाँले खुर्सानी मात्र नभएर यो प्रविधिबाट रायोको साग, बोडी, आलु, टमाटर, भेंडेखुर्सानी, तितेकरेलामा समेत अभ्यास गरिसक्नुभएको छ ।
माटोको ड्याङ बनाई मल्चिङ प्लास्टिकभित्र बेर्ना रोपेर गरिने यो खेती विकसित मुलुकमा सफल खेती प्रणाली मानिन्छ । खुला प्रविधिभन्दा यसले उत्पादन तेब्बर दिने र कम परिश्रम गर्नुपर्ने भएकाले सजिलो भएको उहाँले बताउनुभयो । maultiching
प्लास्टिकको कारणले बिरुवाको फेदमा धेरै झार नउम्रिने, गोड्मेल गर्नु नपर्ने भएकाले यो प्रविधि सजिलो भएको उहाँको अनुभव छ । उहाँले जम्मा ११ रोपनीमा एक हजार तीन सय बोट स्थानीय अकबरेको बेर्ना रोप्नुभएको थियो । त्यसमध्ये नौ रोपनी जतिमा भएका एक हजार दुई सय बोटले उत्पादन दिइरहेको छ ।
आफ्नो श्रमबाहेक दुई लाख रुपियाँ लगानी गरेर सुरु गरेको यस खेतीबाट उत्पादन सुरु भएको तीन महिनामै लगानी उठेको श्रेष्ठले बताउनुभयो । रोजगारीका लागि दुईपटक कतार र एकपटक मलेसिया गरी सात वर्ष विदेशमा बिताउनुभएका श्रेष्ठले घर फर्केर यो खेती सुरु गर्नुभएको हो । उहाँलाई हाल बुबा, आमा, भाइ र श्रीमतीले समेत सहयोग गरेका छन् ।
हिउँदमा पिउने पानीसमेत अभाव हुने ज्यामिरेमा आफूले गाडीबाट ड्रममा पानी बोकेर समेत सिँचाइ गर्ने गरेको उहाँको भनाइ छ । सिँचाइको पर्याप्त सुविधा नभएका कारण वर्षामा आकाशे पानी सङ्कलन गर्न दुईवटा प्लास्टिक ट्याङ्की समेत राखेको उहाँले बताउनुभयो ।
तेजनारायणका बुबा हेमनारायण र आमा इन्द्रकुमारी पहिले यही जग्गा जमिनमा कोदो मकै लगाउने गर्दा खानलाई समेत धौ–धौ हुने गरेकोे, नगदका लागि बुबाले काठको काम गर्न हिँड्नु परेको इतिहास ताजै भएको श्रेष्ठ बताउनुभयो तर अहिले त्यो समस्या समाधान भएको छ । परम्परागत खेतीसँग त अहिलेको आम्दानी तुलनै गर्न सकिन्न, अब आफू विदेश नजाने निधो गरेको र अरू जान खोज्नेलाई पनि नजान अनुरोध सल्लाह दिन्छु, श्रेष्ठले भन्नुभयो ।
उहाँलाई कसैले यो प्रविधि सिकाएको होइन । इन्टरनेटको माध्यमबाट कोरिया, जापानमा मल्चिङ खेती हेरेर सुरु गर्नुभएको हो । सुरुमा गाउँले मात्र नभएर बुबाआमाले समेत उहाँलाई गाली गरेका तर, उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरे । एउटा खुर्सानीको बोटले दुई वर्षसम्म उत्पादन दिने भएकाले अन्य खेती यही प्रविधिबाट लगाउने तयारी उहाँकोे छ । उहाँले आफ्नो कान्छो भाइलाई कृषि जेटीए पढाइरहनुभएको छ । कसैको सहयोगबिना व्यक्तिगत पहलमा खेती सुरु गर्नुभएका उहाँलाई अहिले भने विभिन्न सङ्घसंस्था र जिल्ला कृषिले समेत प्रोत्साहन दिने गरेको छ । अहिले मल्चिङ प्रविधि बुझ्नका र कसरी गर्ने भनेर सिक्नका लागि किसानहरू आउने गरेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना