टरेको छैन परमाणुयुद्धको खतरा

Ram prashad Acharyaरामप्रसाद आचार्य

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनमा सम्पन्न ब्रिक्स सम्मेलनमा भन्नुभयो, ‘उत्तर कोरियालीहरू बरु घाँस खान तयार छन् तर कुनै हालतमा पनि परमाणु हतियार कार्यक्रम त्याग्न तयार छैनन् । परमाणु हतियार नभएकै कारण सद्दाम हुसेनलाई झुण्ड्याइएको र कर्णेल गद्दाफीलाई वीभत्स ढङ्गले मारिएको घटना उनीहरूले भुलेका छैनन् । ’ परमाणु बम नबनाएसम्म अमेरिकी आक्रमणबाट मुलुक जोगाउन र आफू जोगिन सकिँदैन भन्ने लागेर नै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सम्पूर्ण शक्ति लगाएर अन्तरमहादेशीय परमाणु बम र हाइड्रोजन बम बनाएको कुरा पुटिनको भनाइले पुष्टि गरेको छ । उत्तर कोरियाले हालै अन्तरमहादेशीय परमाणु बम र हाडड्रोजन बमको परीक्षण गरेपछि विश्वभरि नयाँ हलचल पैदा भएको छ । यो घटनाबाट छिमेकी दक्षिण कोरिया, जापान र अमेरिका बढी सशङ्कित र आक्रामक बनेका छन् । पछिल्लोपटक अमेरिकाले उत्तर कोरियाविरुद्ध थप आर्थिक नाकाबन्दी लगाउन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा लगेको प्रस्ताव रुस र चीनका कारण सर्वसम्मत नभएपछि सैन्य कारबाहीको विकल्पबाट पछि हटेको छ । तर पनि अमेरिकी प्रस्तावअनुसार राष्ट्रसङ्घले नयाँ नाकाबन्दी लगाएको छ ।
उत्तर कोरियाले अन्तरमहादेशीय परमाणु बम परीक्षण गरेपछि आक्रामक बनी सैन्य कारबाहीको विकल्पसहित आक्रमणको तयारी गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अन्तरमहादेशीय हाइड्रोजन बम परीक्षणले ठूलो धक्का लागेको छ । यो परीक्षणसँगै उत्तर कोरियाविरुद्ध गरिने सैन्य कारबाही आत्मघाती हुन सक्ने ठानेर नै अमेरिकाले सैन्य कारबाहीको विकल्प खोजेको हो । पछिल्लो विकसित घटनाक्रमलाई ध्यानमा राखी रुस र चीनले पनि उत्तर कोरियासँग कूटनीतिक वार्ता र संवादबाटै समस्या समाधान गर्न अमेरिकी नेतृत्वलाई आग्रह गरेका हुन् ।
अन्तरमहादेशीय परमाणु बम र हाइड्रोजन बम परीक्षण गरेपछि उत्तर कोरियाली सरकारले अब आफ्नो मुलुक सम्भावित कुनै पनि बाह्य आक्रमणबाट सुरक्षित भएको र त्यसैका लागि यी परीक्षण गरिएको, कुनै मुलुकविरुद्ध लक्षित नभएको धारणा सार्वजनिक गरेको छ । यी परीक्षणले मुलुक, सरकार र नेतृत्व सुरक्षित भएको भन्दै राजधानी प्योङयाङमा लाखौँ कोरियालीले बेलुन उडाएर आतिसबाजी गरी खुसियालीसमेत मनाएका छन् । उत्तर कोरियामा खुसियाली मनाइरहँदा दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्वसमुदायले भने परमाणु खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । थप नाकाबन्दीलाई चुनौती दिँदै गएको उत्तर कोरियाले शुक्रवार जापानको होक्काइडोमाथिको आकाशमा अर्को ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि थप त्रास बढेको छ ।
परमाणु बम, हाइड्रोजन बमजस्ता आमविनाशकारी विस्फोटक हतियार मानवसभ्यता, प्रकृति र ब्रह्माण्डकै लागि कलङ्क हो । यस्ता हतियारले शान्ति ल्याएको छैन, सृष्टिको इतिहासकालदेखि अहिलेसम्म र भविष्यमा पनि ल्याउने छैन । तर पनि परमाणु हतियार बनाएर शक्ति आर्जन गर्ने मोह विश्वका शासकहरूमा हटेको छैन । यही मोहले विनाश निम्त्याइरहेको छ, विश्वशान्ति र सुरक्षामाथि प्रश्नचिह्न खडा भएको छ । शासक वर्गमा देखिएको सत्ता, पैसा र शक्तिको उन्मादले सृष्टिका विभिन्न कालखण्डमा विश्वयुद्धदेखि ब्रह्माण्डयुद्ध भए, जसमा करोडौँ मानिसमात्र होइन, करोडौँ अन्य जीव र वनस्पति नष्ट भए, पृथ्वीको ठूलो भूखण्ड मरुभूमिमा परिणत भए तैपनि मानिसले अझै चेतेको छैन । युद्ध र हतियारप्रतिको मोह त्यागेको छैन । यो नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।
बीसौँ शताब्दीमा विश्वका दुई विनाशकारी विश्वयुद्ध भए । सन् १९१४ देखि १९१८ मा भएको पहिलो विश्वयुद्धमा दुई करोडभन्दा मानिस मारिए, खर्बौं डलरको भौतिक क्षति भयो । दोस्रो विश्वयुद्ध योभन्दा पनि भयानक र क्रूर बन्यो । सन् १९३९ देखि १९४५ सम्म चलेको यो युद्धले पाँच करोडभन्दा बढी मानिसको ज्यान लियो, खर्बौं खर्ब डलरको भौतिक सम्पत्ति खरानी भयो । अमेरिकाले पहिलोपटक जापानमाथि परमाणु बम आक्रमण ग¥यो । जापानका स्वर्गजस्ता सुन्दर दुई सहर हिरोसिमा र नाकासाकी ध्वस्त भए, चार लाखभन्दा बढी मानिस मारिए, लाखौँ घाइते र दीर्घरोगी बने । युरोपको नक्सा नै बदलिदियो यो युद्धले ।
यी युद्धको पृष्ठभूमिमा युद्ध र परमाणु हतियारलाई सधैँका लागि निषेध गर्ने भन्दै सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भयो । यसका लागि राष्ट्रसङ्घको प्रयास जारी छ तर सफलता मिलेको छैन । न युद्ध रोकियो र परमाणु हतियारको निर्माण र परीक्षण । अमेरिकाले परमाणु बम बनाएर जापानमाथि प्रयोग गरेपछि तँभन्दा म के कम भन्दै रुसले सन् १९४६ मा, बेलायतले सन् १९५२ मा, फ्रान्सले सन् १९६० मा, चीनले १९६४ मा, भारतले सन् १९९८ मा, पाकिस्तानले सन् १९९८ मा र उत्तर कोरियाले सन् २००६ मा पहिलोपटक परमाणु बम परीक्षण गरे । अहिले विश्वमा २३ हजार ३९५ वटा परमाणु हतियार छन् । यीमध्ये १५ हजार परमाणु हतियार तयारी अवस्थामा छन् । युद्ध भए कुनै पनि बेला यी हतियारको प्रयोग हुन सक्छ । यदि प्रयोग गरियो भने यी आमविनाशकारी हतियारले विश्वलाई एकपटक होइन दर्जनौँपटक ध्वस्त बनाउन सक्छन् र मानव अस्तित्व नै समाप्त पार्न सक्छन् । यस्तो अत्यासलाग्दो तस्बिर अगाडि हुँदाहुँदै पनि शक्तिशाली राष्ट्र बन्ने होडमा परमाणु हतियार बनाउन शक्ति राष्ट्रहरू ज्यान फालेर लागेका छन् । जसले गर्दा परमाणु युद्धको खतरा झन् बढेको छ ।
एएफएसका अनुसार अहिले रुससँग १५ हजार, अमेरिकासँग १३ हजार, चीनसँग ३००, फ्रान्ससँग २४०, बेलायतसँग १८५, पाकिस्तानसँग ९०, भारतसँग ८० र उत्तर कोरियासँग १५ वटा परमाणु हतियार छन् । मध्यपूर्वको सानो अमेरिका भनिने इजरायलाई पनि अमेरिकाले परमाणु हतियार उपलब्ध गराइसकेको छ भने इरानले पनि परमाणु हतियार किनेको छ र आफैँ पनि परमाणु परीक्षणको तयारीमा छ । दोस्रो विश्वयुद्धको समाप्तिसँगै परमाणु हतियारको कार्यक्रमबाट हात झिकेको जापानसहित दक्षिण कोरिया अहिले उत्तर कोरियाबाट परमाणु आक्रमण हुने भयले त्रसित छन् । यसका लागि दुवैले अमेरिकासँग सहयोग मागिरहेका छन् । उत्तर कोरियाले हालै जापानको होक्काइडोमाथिको आकाश हुँदै प्रशान्त महासागरमा क्षेप्यास्त्र प्रहार गरेपछि असुरक्षित महसुस गरी जापान सरकारले परमाणु हतियारको खोजी गर्न थालेको हो ।
आठ हजार वर्षअघि त्रेतायुगमा भारतको अयोध्याका राजा राम र श्रीलङ्का राजा रावणबीच ७२ दिनसम्म युद्ध भयो, जसलाई रामायणको युद्धको भनिन्छ । यो युद्धमा श्रीलङ्का ध्वस्त भयो । रावणका छोरा मेघनाथले लक्ष्मणलाई लक्षित गरी ब्रह्मास्त्र प्रहार गरेका थिए ।
देवीभागवत पुराण, मार्कण्डेय पुराण र अग्नि पुराणका अनुसार वैदिक युगमा भएको देवासुर सङ्ग्राम होस् वा देवीदैत्य सङ्ग्राम यो ब्रह्माण्ड युद्ध थियो । जुन युद्ध स्वर्ग, मत्र्य र पाताल तीनै लोकमा भएको थियो । जल, स्थल र आकाशमा भएको यो युद्धमा अत्यन्तै महाविनाशकारी शिवको पाशुपास्त्र, विष्णुको सुदर्शनचक्र, ब्रह्माको ब्रह्मास्त्र, वरुणको वरुणास्त्रलगायतका आमविनाशकारी हतियार प्रहार हुँदा ब्रह्माण्ड नै प्रभावित भयो । करोडौँ करोड मानिस मारिए । परमाणु हतियारभन्दा घातक ती हतियारले पृथ्वीको ठूलो भूखण्ड ध्वस्त भयो । उत्तर अफ्रिकाको ९४ हजार वर्गकिमिमा फैलिएको सहारा मरुभूमि, २३ लाख वर्गकिमिमा फैलिएको चीन र मङ्गोलियाको गोवी मरुभूमि, १५ लाख वर्गकिमिमा फैलिएको अरब मरुभूमिलगायतका विभिन्न मरुभूमिहरू त्यसैको परिणाम हुन सक्ने भन्दै विभिन्न भूगर्भविद् तथा वैज्ञानिकहरूले अध्ययन अनुसन्धान गरिरहेका छन् ।
अतः विज्ञान र प्रविधिले गरेको अहिलेको अत्याधुनिक विकाससहितको मानव सभ्यता र अस्तित्व बचाइराख्ने हो र शान्ति कायम गर्दै विश्वलाई सुरक्षित बनाउने हो भने सबैखाले आमविनाशकारी सबैले हतियार नष्ट गर्नुपर्छ, नत्र कुनै पनि बेला महाविनाशकारी युद्ध सुरु हुन सक्छ । संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभा सुरु भएको यो बेला विश्वका नेताहरूले युद्ध रोक्ने उपाय निकाल्नैपर्छ नत्र महाविनाशकारी युद्धको खतरा टार्न सकिने छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभामा उत्तर कोरियालाई ध्वस्त पार्ने भनी दिनुभएको चेतावनीले समस्या झन् भयावह बन्न सक्छ ।

 प्रकाशित मिति: २०७४/६/५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना