दशैँ : धार्मिक, सामाजिक र सांस्कृतिक पर्व

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’

 

‘दशैँ आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत्त पापी छुट्टै बसाँैला’ बच्चाका तोते लवज गुञ्जँदाको मजा बेग्लै लाग्छ । धर्तीको फोहोरलाई पखालेपछि आकाशले बादललाई बिदाइ गरिदिन्छ । वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाल्छन् । एकातिर प्रकृतिको उल्लास अर्कातिर वर्षौँका वेदना भुलेर रमाउने नेपाली मनको गन्तव्य । मीठो सम्मिश्रण छ, यसमा । वर्षा ऋतुले गड्याङगुडुङ गर्न छोडेकाले सूर्यको किरण बिहानीमा लामा पाइला हालेर जमरा कानमा सिउरिएको देख्न अतालिएझैँ लाग्छ– दशैँको परिवेशमा । वर्षौँ फोन र च्याटमा बोलेर मन बुझाउनु परेका स्वदेशी र विदेशी परदेशी भएका छोराछोरी, आमाबाबा, दिदीबहिनी या अन्य आफन्तसँगको भेट हुने आशाले साकार रूप लिन्छ । पर्खाइको एउटा सुखान्त संसार त्यहाँ साह्रै आशावादी हुन्छ । अफिस, स्कुल, कलेजको लामो तानाबाना एकछिन बिसाएर पारिवारिक एकतामा रमाउने सुअवसर दिन्छ– यो पर्वले । लामो शत्रुता, मनमुटावलाई समेत क्षमा र पश्चात्तापमा बदलेर अलिकति मानवतालाई जीवन्त पार्दोरहेछ । बाल हृदय त झनै पुलकित बन्दा रहेछन् । गाउँ–डाँडासँग रमाउने दौँतरीसँग नयाँ कपडामा सजिएर तुलना गर्न रुचाउँछन् । पिङ खेल्ने, चङ्गा उडाउने, गरिबका चुलोमा पनि मीठो मसिनो पाक्ने हुनाले दशैँ चाड स्तर, परिवेशअनुसार मूल्यवान बन्दोरहेछ । त्यसैले त कविशिरोमणि ऋतु विचारमा पोखिन्छन् ।
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो साऽऽनन्दको चर्चा ।
हिन्दु परम्पराअनुसार परापूर्व कालमा शुम्भ, निशुम्भ, रक्तबीज, महिषासुरजस्ता दैत्यको ज्यादतिले मानिस र देवतामा ठूलो कष्ट प¥यो । सङ्कट समाधान गर्नका लागि ऋषि, देवगणले प्रार्थना गरेपछि दुर्गादेवीले राक्षसी शक्तिलाई वध गरिदिइन् । सत्यले पुनःबहाली पाएपछिको विजय उत्सवको रूपमा दशैँमा दुर्गादेवीको पूजा आराधना गर्ने गरिन्छ । त्यस्तै त्रेतायुगमा रामचन्द्र भगवान्ले आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनापश्चात् शक्तिस्वरूपीणी दुर्गादेवीको आराधना गरी उनैको कृपाले दशमीका दिन रावणको वध गरेका थिए । यही विजय उत्सवको स्मरणमा अर्थात् सत्यले विजय प्राप्त गरेको सुअवसरको दिनलाई स्मरण गर्दै दशैँ मनाउन थालिएको पाइन्छ । चैतमा चैते दशैँ मनाइने गरेको भए पनि मूलतः आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्मको अवधि नै हिन्दुहरूको महान् चाड बडादशैँ पर्व हो । दशैँ पर्वको आफ्नै विशेषता र महिमा रहेको पाइन्छ । घटस्थापना (प्रतिपदा) का दिनदेखि जमरा राखेर देवीको नौ रूपको पूजा अर्चना तथा घर–घरमा स्तोत्र पाठ गर्दै दशैँको शुरुवात गरिन्छ । घटस्थापनापछि षष्ठीसम्म देवीको पूजा अर्चना गरिने भए पनि सप्तमीको दिनदेखि विशेष दशैँको तामधाम चल्छ । ‘सप्तमी’
(फूलपाती) का दिन बेलपत्र, धानका गाभा, अनार, अदुवा, ऊखु, केरा आदि पल्लवलाई भिœयाउने कार्यलाई फूलपाती भिœयाएको भनिन्छ । यसदिन विशेष गरेर महासरस्वतीको पूजाका क्रममा कापी, कलम, पुस्तकको पूजा गर्ने गरिन्छ । काठमाडौँ उपत्यकामा हरेक वर्ष यसै दिनमा बढाईका साथ हनुमानढोका दरबारमा फूलपाती भिœयाउने परम्परा छ । आठौँ दिन अर्थात् ‘महाअष्टमी’ (नवरात्रि) मा विशेष गरेर महाकाली (भद्रकाली) को पूजा अर्चना गरिन्छ । मनुस्मृतिमा बताएअनुसार महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । किसानहरूले यसैदिन खेतीमा प्रयोग गर्ने हातहतियारको पूजा गर्ने गर्छन् र दशमीमा बिसर्जन गर्छन् । ‘महानवमी’ नवरात्रिको नवौँ दिन हो । यसदिन विश्वकर्माको पूजा गर्ने हुँदा हातहतियार प्रयोग गरी बलि दिने चलन छ । बलिको अर्थ आफूभित्र रहेका नकारात्मक विचार वा खराब सोचलाई अन्त्य गर्नु हो । दुर्भावनालाई नवदुर्गाको चरणमा अर्पेर सद्बुद्धि माग्दै घिरौँला या केराको कोसोलाई पशुको प्रतीक बनाई पशुत्व भावलाई बलि दिने गरिन्छ । आश्विन महिनाको शुक्लपक्ष श्रवण नक्षत्रले युक्त नवरात्रिको दशौँ दिन दशमीलाई ‘विजयादशमी’ भनिन्छ । यस दिन दुर्गादेवीलाई विधिविधानसहित पूजा अर्चना, आरती, पुष्पाञ्जलि गरेर बिसर्जन गरेपश्चात् उनैको प्रसाद स्वरूप जमरा र टीका वितरण तथा ग्रहण गर्ने गरिन्छ । मान्यजन, ठूलाबडाद्वारा आफूभन्दा सानालाई आशीर्वचन दिइन्छ ।
आयुद्रोण सुते श्रीयम् दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यम् नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे । ।
यी श्लोकको अर्थ, द्रोणको छोरा अश्वत्थामाको जस्तो आयु (चिरञ्जीवी) होस्, राजा दशरथको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रुहरू नास होऊन्, नहुष राजाको जस्तो ऐश्वर्य बढोस्, गति हावाको जस्तो होस्, दुर्योधनको जस्तो मान होस्, सूर्यपुत्र कर्णजस्तै दानी बनेस्, बलरामको जस्तो बल होस्, कुन्तीपुत्र युधिष्ठिरजस्तै सत्यवादी बनेस्, विदुरको जस्तो ज्ञानको निपूर्णता होस् र नारायण भगवान्को जस्तै कीर्ति बढोस् भन्ने हुन्छ । नारीहरूलाई टीका लगाइदिँदा विशेष गरेर
जयन्ती मङ्गला काली, भद्रकाली कपालीनी ।
दुर्गा, क्षमा, शिवा धात्री स्वाहा, स्वधा नमोस्तुते ..
जस्ता मन्त्र लगायत देवीका स्तुति गानले शुभ आशिर्वाद दिइन्छ ।
‘आयो दशैँ रमाइ रमाइ, गयो दशैँ कान समाइ’ बन्ने आडम्बरी देखासिकी छोडेर सचेतना जागरणमा गर्नु उत्तिकै आवश्यक छ । साङ्लामा बाँधिएको कुकुरले फुत्कन पाउँदा जथाभावी टोकेझैँ जुवातास, मद्यपान, धूमपानमा लाग्नु सही आचरण होइन । चङ्गा उडाउँदै जाँदा छतबाट खसेर मरेका घटना कति हृदयविदारक होलान् । विकृत पक्षमा रम्ने विद्यार्थीका किताबका पानामा माकुराले जालो लगाउँछ । झगडालाई आगोमा घिउ थप्ने जोसभन्दा मित्रतालाई परिवारमा, समाजमा बाँड्ने मानिसको होसले दशैँलाई दशा होइन, बाबाआमाको आशा बन्न सक्नुपर्छ– नवपुस्ताहरू । घाँटी हेरेर हाड निल्ने वातावरणमा दशैँलाई उत्सव बनाउनु सबैको दायित्व हो । स्वतन्त्र समयलाई नयाँ पुस्तक पढेर आफ्नो ज्ञान भण्डार अभिवृद्धि गर्ने तथा सामाजिकीकरणको अवसर मिलाउँछ, दशैँ पर्वले । फुर्सदको समयले विद्यार्थीलाई समाज र परिवारसँग सद्भाव बढाउन टेवा दिन्छ । मानिस सप्रन वर्षौँ लाग्छ तर बिग्रनु परे एक क्षण नै पर्याप्त बन्छ । बसुधैव
कुटुम्बकम्को भावनाले मौलाउने अवसर पाउँछ– दशैँमा ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म धनीका घरमा मात्रै हषोल्लास आउने नभएर गोरु नारेर धुलो हिलोमा खेल्ने श्रमजीवी गरिबको चुलोमा पनि पक्वान्नले छोटो समयका लागि डेरा जमाउँछ । युवाको जमघटसँगै गाउँ टोलका चोक, चौतारो, धारो, बाटो–घाटो बेहुलीभैmँ सिँगारिँदा वातावरण सुरम्य हुन्छ ।

  प्रकाशित मिति: २०७४/६/५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना