अर्काको दैलो कसैले नचियाउनु

pradip nepalप्रदीप नेपाल

 


आज विश्व शान्ति दिवस हो यद्यपि विश्व चिताइनसक्ने गरी तनावमय छ यतिबेला । एकातिर विश्व ‘साम्राज्यवाद’ को नेता संयुक्त राज्य अमेरिका र अर्कोतिर सत्तरी वर्षदेखि त्यसको थिचोमिचो र हस्तक्षेपसँग जुधेर आफ्नो अस्तित्व जोगाइ रहेको प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया अर्थात् उत्तर कोरिया यो तनावको मुख्य भूमिकामा देखिएका छन् । अमेरिका र कोरियाबीचको किचोलो आजको होइन । सन् १९५० देखि उनीहरू युद्धरत छन्, निरन्तर । युद्धविराम पनि हुँदैन, निरन्तर हानाहान पनि भइरहेको छैन तर बितेको ६४ वर्षमा अमेरिका र उत्तर कोरियाबीचको शत्रुता कहिल्यै घटेको छैन । बरु बढेको बढ्यै छ । कोरियाको विभाजनपछि उत्तर कोरिया अमेरिकाको सबैभन्दा ठूलो दुश्मन भएको छ भने कोरियाले पनि ‘अमेरिकी साम्राज्यवाद’ लाई आफ्नो सबैभन्दा ठूलो शत्रु मानेको छ । गएको सप्ताहन्तमा जनगणतन्त्र कोरियाका नेता किम जुंग उनले ठोकेरै भने, ‘हाम्रो अन्तिम लक्ष भनेको संयुक्त राज्य अमेरिका बराबरको सैन्य शक्ति निर्माण गर्नु हो, ता कि अमेरिकाले हामीलाई बारम्बार धम्की दिने काम रोकोस् । ’
कोरियाली सञ्चार सेवाद्धारा प्रसारित किम जुंग उनको यो भनाइले, अर्घेल्याइँ अमेरिकाकै देखाउँछ । आणविक अस्त्रको भण्डार अमेरिकापक्षीय मुलुकसँग मात्र हुनु पर्छ, अमेरिकी राष्ट्रपतिलाई मन नपर्ने मुलुकसँग आणविक शक्ति हुनु हुँदैन भन्ने कुरो संयुक्त राष्ट्रसङ्घका बैठकहरूमा जजसले जे जे भने पनि कुनै पनि स्वतन्त्र राष्ट्रका लागि मान्य हुँदैन । कि सम्पूर्ण निशस्त्रीकरण हुनुप¥यो, होइन भने विश्वका कुनै पनि मुलुकलाई हतियार बनाउने अधिकार दिनु पर्छ । निशस्त्रीकरण कि शस्त्रीकरण । यी दुई मध्ये एउटा छान्नैपर्छ । यद्यपि, तर जस्ता विकल्पहरू यी दुईको बीचमा हुन सक्दैनन् ।
अहिले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद, सम्पूर्णतामै अमेरिकाको एजेण्डामा सहमत भएको छ । चीन र रुसले प्रतिबन्धबाट कोरियाली प्रायद्वीपको समस्या समाधान हुँदैन, राजनीतिक पहलकदमी र वार्तालाई अगाडि बढाउनु पर्छ भन्ने विचार राखे पनि तिनको बोली खासै बिकेन । संयुक्त राष्ट्रसङ्घको आदर्श रक्षा गर्ने होे भने बिक्नु पथ्र्यो यिनै दुई मुलुकको मत । पश्चिमी आँखामा उत्तर कोरिया जति एक्लो देखिन्छ यथार्थमा त्यो त्यति एक्लो छैन । रुसी राष्ट्रपति पुटिनले भनेकै छन्, ‘उत्तर कोरियाली जनता घाँस खाएर बाँच्न तयार छन्, तर उनीहरू परमाणु शस्त्र विकासको कामलाई रोक्दैनन्’ । चिनियाँ प्रतिनिधिले पनि भनेका छन् ‘जनगणतन्त्र कोरियाविरुद्धको नाकाबन्दी, कोरियाली प्रायद्वीपको समस्याको समाधान हुनै सक्दैन । सबैले यसलाई राजनीतिक रूपमा लिनु पर्छ र वार्ताद्धारा समाधान खोजिनु पर्छ । यी त मुखर रूपमा बोले । नबोल्ने पनि पचासौँ छन् । जहाँ जहाँ उत्तर कोरियाली दूतावास छन्, अन्तिम निष्कर्षमा ती सबै कोरियाली प्रायद्वीपमा शान्ति चाहन्छन्, कोरियाको एकीकरण चाहन्छन् । अमेरिकाको मिचाहापनबाट वाक्क भएका राष्ट्रहरूको स्वभाविक सहानुभूति उत्तर कोरियातिर जान्छ ।
मान्छे बोल्न डराउँछन् र केही कालका लागि ठूलाबडाले गरेका अपराधहरू लुक्छन् । मध्यपूर्वको आन्तरिक लडाइँ हुर्किनुमा सबैभन्दा ठूलो हात अमेरिकाकै छ । त्यस क्षेत्रमा सोभियत सङ्घ प्रभावी भयो भनेर अमेरिकाले नै सद्दाम हुसेनलाई जन्माएको हो । अफगानिस्तानबाट सोभियत सङ्घलाई खेद्न अमेरिकाले तालिवान र अलकायदा बनायो, हुर्कायो र चलायो । आफ्नो इसारामा नाचुन्जेल अमेरिकाले तिनलाई पालनपोषण ग¥यो । अलिकति दायाँ बायाँ लाग्ने बित्तिकै अमेरिका स्वयंले ती दुवै शक्तिलाई तहसनहस पा¥यो । सोझो हिसाबले हेर्नेका लागि लाग्ला यो त अलिक आग्रहपूर्ण सोचाइ भयो । अमेरिकाले नै अलकायदालाई जन्माएको भए, अल कायदाले किन ट्वीन टावरमा जहाज फाल्थ्यो । तर सन् १९४० देखि अहिलेसम्मको अवस्थालाई नियालेर हेर्दा अमेरिका आफ्नो अहम्तुष्टिका लागि एउटा त के पाँच पाँच ट्वीन टावर पनि भत्काउन तयार हुन्छ ।
किन टाउको दुख्छ अमेरिकाको अरु कुनै पनि देशले स्वतन्त्र निर्णय गरेर खाएको देख्ता ! बिग्रहकारी काममा अमेरिका सबैतिर सफल भएको पनि छैन । अहिले पनि वासिङ्टन डिसीको कुनै मैदानमा भियतनाम युद्धमा मारिएका ६८ हजार अमेरिकी सैनिकहरूको नामावली पढ्न पाइन्छ । चिताइनसक्नुको यो बलिदानले पनि अमेरिकालाई कुनै उपलब्धि दिएन । भियतनाम युद्धमा अमेरिका झण्डै झण्डै एक्लियो र पराजित भएर वासिङ्टन फर्कियो ।
किम जोंग उन, सद्दाम हुसेन होइनन् । उनी, ओसामा बीन लादेन पनि होइनन् । किम जाेंग उन भित्र ‘अमेरिकी साम्राज्यवाद’ विरोधी रगत तीन पुस्तादेखि बगिरहेको छ । पछिल्लो समयमा उत्तर कोरिया घुमेर आउने एक दर्जन नेपाली भेटेको छु मैले । अनिवार्य सैनिक शिक्षाका कारण, त्यहाँका उमेर पुगेका सबै नागरिक सैनिक हुन्छन् । बमले युद्ध जितिन्न । बमले नरसंहार गर्न सकिन्छ । तर युद्ध जितिन्न । भियतनाममा, अमेरिकाले दोस्रो विश्व युद्धमा खसालिए भन्दा बढी बम खसालेको थियो । तर नागरिकको एकताबद्ध प्रतिरोधका सामू ६८ हजार सैनिक गुमाएर अमेरिकाले भियतनाम छोड्नु प¥यो । उत्तर कोरियासँग जनशक्ति छ । जनशक्तिमा अमेरिकाले आपूmलाई पराजित गर्न सक्तैन भन्ने जानकारी पनि किम जोंग उनसँग छ । त्यसैले उत्तर कोरियाली शासकहरू अहिले शस्त्र अस्त्रमा अमेरिका बराबर हुन चाहन्छन् । यति सामान्य ज्ञान, आँखा चिम्लिएर संयुक्त राष्ट्रसङ्घमा अमेरिकालाई पछ्याउने मुलुकहरूले थाहा पाउनु पर्छ ।
युद्ध कुनै पनि समस्याको समाधान होइन । यो पहिलो र अन्तिम सत्य हो । बम र बन्दुकले मृत्युको उपहार मात्र दिन्छन् । एउटा युद्ध जित्नु पनि समस्याको समाधान होइन । अफगानिस्तानबाट ओसामा बिन लादेनहरूले सोभियत सङ्घलाई डाँडा कटाइदिएकै थिए तर सोभियत सेना अफगानिस्तानबाट खेदिएपछि पनि अफगानिस्तानमा शान्ति आउन सकेन । इराकमा सद्दाम मारिएर समस्याको समाधान भएन । बरु त्यो त झन् चर्कियो । ओरेन्ज रिभोल्युसन नाम राखिएको मध्यपूर्वको आक्रामक हिंसाले त्यो क्षेत्रलाई अन्तहीन युद्धमा फसाइदियो ।
कोरियाली प्रायद्वीपको समस्या भनेको एउटा कोरियालाई दुईटा बनाउनु हो । यो विभाजनलाई रोक्ने भनेको कोरियाली जनताले नै हो । कोरियाली जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दल, सरकार र सेनाले नै हो । ‘उत्तर कोरियालाई ठेगान लगाउन चीनलाई जिम्मा दिनु पर्छ’ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइले कोरियाली प्रायद्वीपको समस्या समाधान गर्दैन । वार्ता तेस्रो मुलुकमा गरियोस् । पानमुनजोममै वार्ता गर्नुपर्छ भन्नु पनि जरुरी छैन । वर्तमान उत्तर कोरियाली नेता किम जुंग उन स्वीट्जरल्याण्डमा पढेका हुन् । आफ्नो तटस्थताका लागि स्वीट्जरल्याण्ड विश्वमा चिनिएको छ । त्यही स्वीटजरल्याण्डलाई वार्तास्थल बनाउँदा पनि हुन्छ । चीनको दुवै कोरियासँग राम्रो सम्बन्ध छ । चीनलाई नै वार्तास्थल बनाउँदा पनि हुन्छ । दुई कोरियाका नागरिक, सङ्घसंस्था, छुट्टिएका परिवारका सदस्यका प्रतिनिधि, हरूबाट वार्ता आरम्भ गरेर संसद् र सरकारको तहमा वार्ता पु¥याउँदा पनि हुन्छ ।
राष्ट्रसङ्घ आफैंले एकपछि अर्को प्रतिबन्ध लगाएर उत्तर कोरियालाई निचोरी रहेको वर्तमान सन्दर्भमा कोरियाली प्रायद्वीपको निशस्त्रीकरण न्यूयोर्कबाट सम्भव छैन भन्ने सत्य सबैलाई थाहा हुनुपर्छ, वास्तविकता यही हो । त्यसैले राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भन्दा दुवै कोरियाले साथीको रूपमा विश्वास गरेको चीनले वार्ताको व्यवस्थापन गर्दा उपलब्धिमूलक परिणाम हासिल हुनेमा विश्वस्त हुन सकिन्छ । कसैले पनि द्विपक्षीय वार्तामा हस्तक्षेप नगरुन् । वर्तमानको विश्व शान्ति यसैमा छ ।

 प्रकाशित मिति: २०७४/६/५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना