दलित आन्दोलनका हस्ती प्रतापराम

tc wagleत्रिभुवनचन्द्र वाग्ले

      
  

 

प्रतापराम लोहारले नेपाली दलित आन्दोलनलाई सङ्गठित गरी गैरसरकारी संस्थामार्फत दलित उत्थानमा विशिष्ट योगदान दिनुभएको छ । त्यसैले समाज सेवा र राजनीतिमा सक्रिय लोहार समाज सेवाकै क्षेत्रमा बढी परिचित हुनुहुन्छ । नेपाली दलित आन्दोलनको सङ्गठित इतिहास भगत सर्वजित विश्वकर्माको नेतृत्वमा बागलुङमा ‘विश्व सर्वजन सङ्घ’ (२००३÷२००४ साल), काठमाडौँंमा सहर्षनाथ कपाली अध्यक्षताको ‘टेलर युनियन’ र धरानमा जदुवीर विश्वकर्मा (पण्डित), हीरालाल तथा टी. आर विश्वकर्माको सक्रियतामा गठित ‘नेपाल समाज सुधार सङ्घ’ (२००४) बाट सुरु हुन्छ । यी संस्था राजनीतिक प्रकृतिका थिए । त्यस्ता संस्था दर्ता गर्ने प्रचलन थिएन । नेपाली दलित आन्दोलनका तीन प्रकारका संस्थागत प्रकृति देखिन्छ । पहिलो राजनीतिक दलित आन्दोलन, दोस्रो दलित सामाजिक प्रतिरोधात्मक अभियान र तेस्रो दलित गैरसरकारी सामाजिक सङ्घ संस्था परिचालन । यीमध्ये प्रतापराम लोहारले दलित गैरसरकारी सामाजिक सङ्घसंस्था परिचालनलाई प्रमुख महìव दिनुभए पनि राजनीतिक र सामाजिक दुवै आन्दोलनमा उहाँको योगदान छ ।
वि.सं. २०३४ मा “नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” लाई सामाजिक सेवा समन्वय परिषद् (हालको समाज कल्याण परिषद्मा) दर्ता गराउने प्रसङ्गमा परिषद्ले समाजमा नयाँ मुलुकी ऐन (२०२०) लागू भइसकेको अवस्थामा कसैले पनि आफूलाई सानो÷ठूलो जातिको सम्झन हँुदैन भन्दै ‘दलित’ शब्द नहटाएसम्म ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद्’ लाई सामाजिक सेवा समन्वय परिषद्मा दर्ता गर्न दिइएन ।
वरिष्ठ दलित नेता तथा पूर्व सहायक मन्त्री प्रतापराम लोहारका अनुसार उहाँहरूको लामो प्रयासपछि २०३९ सालमा राजदरबारका तत्कालीन प्रमुखसचिव रञ्जनराज खनालले एक दिन नेता लोहारलाई फोन गरी एक घण्टाभित्र उहाँको अध्यक्षतामा सिद्धबहादुर खड्गी, हीरालाल विश्वकर्मा र टि.आर विश्वकर्मा सदस्य रहने गरी नामै तोकेर सङ्गठन दर्ता गर्न लिखित निवेदन दिन सूचित गर्नुभयो । सो समितिमा प्रतापराम लोहारले हीरालाल कपाली (न्यूरोडका) र चन्द्र कपालीको नाम पनि समावेश गरी दरबारमा निवेदन बुझाएपछि दरबारका मुख्यसचिवको तोक आदेशअनुसार नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ नामक संस्था जिल्ला प्रशासन कायलय काठमाडौँमा दर्ता भयो । सङ्घ संस्था दर्ता ऐन २०३४अनुसार काठमाडौँ जिल्ला प्रशासनमा २०३९ भदौ २९ गते दर्ता नं. ६ । ०३९।४० मा दर्ता भएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घलाई जिप्रका काठमाडौँँको मिति २०५० साउन १० को निर्णयअनुसार संस्थाको नाममा ‘दलित’ शब्द थप गरी ‘नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ’ नामाकरण गरिएको हो ।
यसरी दलित सामाजिक संस्था आधिकारिक रूपमा दर्ता गर्न प्रतापराम लोहारको योगदान रह्यो । पछिल्लो जानकारीअनुसार, हाल यस सङ्घका ७२ जिल्ला शाखा छन् । यस संस्थाले अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोगमा विभिन्न जिल्लामा नेपाल छात्रवृत्ति कार्यक्रम, पाँच जिल्लामा आधारभूत शिक्षा परियोजना र अन्य केही जिल्लामा आयमूलक तथा शिक्षामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घबाट छात्रवृत्ति पाएका विद्यार्थी चिकित्सक, इन्जिनियरदेखि सांसद् र मन्त्री बनेका छन् भने ठूलो सङ्ख्यामा नर्स र मध्यमस्तरका स्वास्थ्यकर्मी उत्पादन भएका छन् । सङ्घले अमेरिकन, युरोयिनलगायतका परियोजनाको साझेदारीमा कृषिमूलक, आम्दानी र स्वरोजगारका कार्यक्रम सञ्चालन गरेको छ । यसको श्रीगणेश गर्ने श्रेय प्रतापराम लोहारलाई नै जान्छ ।
वि.सं. २००१ भदौ २४ गते महाकाली अञ्चलको दार्चुलास्थित छापरी, मलेरामा जन्मनु भएका प्रतापराम लोहारमा रहेको प्रजातन्त्रप्रतिको आस्थाले भित्रीरूपमा नेपाल राष्ट्रिय दलित समाज कल्याणलाई नेपाली काँग्रेसकै मातृसस्ंथाका रूपमा स्थापित गर्नुभयो । अहिले नेपाली काँग्रेसमा रहेका अधिकांश दलित नेता कुनै न कुनै कालखण्डमा उक्त सङ्घमा आबद्ध थिए र यसबाट ठूलो आर्थिक र राजनीतिक संरक्षण पाएका थिए । पञ्चायतविरुद्ध कुनै कार्यक्रम गर्न नपाइने बेलामा सो सङ्घमा आबद्ध भएर विभिन्न मञ्चमा अधिकारका कुरा उठाएको वरिष्ठ दलित नेता (स्व) पदमसिंह विश्वकर्माले बताउनु भएको सन्दर्भ यहाँ उल्लेखनीय हुनेछ । यसरी नै आर्थिक संरक्षण दलित नेताले पाएका थिए । खासगरी काँग्रेसले ।
यसका साथै लोहारले जन्म जिल्ला दार्चुलाको तत्कालीन धारी गाउँ पञ्चायतमा स्थानीय बासिन्दाबाट विद्यालयका लागि करिब १२० रोपनी जग्गा प्राप्त गरी श्री बहुउद्देश्यीय निम्न माध्यमिक विद्यालय बारबाँजको नाममा दर्ता गराई १६ कोठे विद्यालय भवन निर्माण गराउने कामको नेतृत्व गर्नुभएको थियो । उहाँको नेतृत्वमा सो जग्गामा श्रमदान जुटाएर चारैतिर पर्खालले घेरी खेती गर्ने उद्देश्यले कुलो निर्माण गरिएको थियो । उहाँले श्री बहुद्देश्यीय जनविकास निम्न माध्यमिक विद्यालय बारबाँज संस्थापक अध्यक्ष तथा जिल्ला शिक्षा समितिको सदस्य पदमा रहेर १२ वर्ष काम गर्नुभएको थियो । वि.संं. २०२२ देखि २०३४ सम्म दार्चुला जिल्लाका विभिन्न दुर्गम स्थानमा उहाँले विकास निर्माणका काम अगाडि बढाउनु भएको थियो ।
वि.सं. २०३४ मा गाउँफर्क अभियानको महाकाली अञ्चल सदस्य–सचिव हुनुभएका उहाँ बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनः स्थापनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) को केन्द्रीय सदस्य हुनुभयो । राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उहाँ सहायकमन्त्री बनाइनुभयो । यसपछि प्रतापराम लोहार काँग्रेसमा प्रवेश गर्नुभयो । यसअघि केही कालखण्डमा बाहेक उहाँ काँग्रेस नै हुनुहुन्थ्यो । पुनः प्रवेशपछि उहाँलाई तत्कालीन पार्टी सभापति सुशील कोइरालाले नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो ।
समाजसेवातर्फ उहाँले नेपाल रेडक्रस सोसाइटी जिल्ला समिति दार्चुलाको सचिव, विद्यालय सञ्चालक समितिका सदस्यलगायत विभिन्न सामाजिक सङ्घसंस्थाका विभिन्न पदमा रहेर सामाजिक कार्य गर्नुभएको थियो । सामाजिक सेवा भावनाको कदर गर्दै उहाँलाई तत्कालीन राजाबाट २०३२ सालमा आदर–पत्र बक्स भएको थियो । नेपालका दलित समुदायको सेवा गरेबापत वि.सं.२०५३ मा भारतीय दलित एकेडेमीले डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित गरेको छ । उहाँले नेपालका करिब ७० जिल्लाका साथै भारत, बङ्गलादेश, हङकङ, थाइल्याण्ड, जापान, फ्रान्सको भ्रमण गर्नुभएको थियो ।

  प्रकाशित मिति: २०७४/६/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना