प्रदेश दुईका मतदाताको अभिव्यक्ति

dharmendra jhaधर्मेन्द्र झा

 


विगतमा दुई चरणमा सम्पन्न भएको अन्य प्रदेशको निर्वाचनपछि प्रदेश नम्बर दुईको निर्वाचन बहुप्रतीक्षित थियो । तेस्रो चरणअन्तर्गत यही असोज २ गते यस प्रदेशको निर्वाचन सम्पन्न भएको छ । यो आलेख तयार पारुन्जेल विभिन्न स्थानीय तहका मतपरिणामहरू सार्वजनिक हुन प्रारम्भ भएका छन् । प्रारम्भिक गणनाअनुसार नेपाली काङ्ग्रेसको अग्रता देखिएको छ तर काङ्ग्रेसजन यस परिणामबाट सन्तुष्ट छैनन् । अर्कोतर्फ आशा गरिएअनुरूप नै मधेशी दलहरूको गतिलो उपस्थिति अनुभूत गरिएको छ । निर्वाचन परिणामको अहिले नै पूर्ण आँकलनको प्रयास अनुपयुक्त हुन्छ । मतगणनाको प्रारम्भिक अवस्थामै कुनै निष्कर्ष निकाल्न सम्भव हुँदैन तर मतदाताको मतदान प्रवृत्तिका आधारमा यस प्रदेशको भावी दिनहरू प्रभावित वा निर्णित हुने आँकलन गरिनु अस्वाभाविक हुँदैन । यस प्रदेशको निर्वाचनका सन्दर्भमा अनभूत केही सन्दर्भहरूलाई यसरी पनि औँल्याउन सकिन्छ ।
लोकतन्त्रको विजय सम्पन्न निर्वाचनको परिणामलाई लोकतन्त्रको विजयसँग जोडेर हेरिनुपर्छ । आवधिक निर्वाचन लोकतन्त्रको महìवपूर्ण अवयव हो र यसले लोकतन्त्रलाई निर्देशित गर्दछ । यस अर्थमा यस प्रदेशका जनताले मतदानमार्फत लोकतन्त्रलाई संस्थागत गर्ने र निर्देशित गर्ने मत अभिव्यक्ति गरेका छन््, जो निकै महìवपूर्ण छ । जनतामा मतदानप्रति देखिएको अतुलनीय उत्साह यसैको परिणाम हो । मतदाता यतिसम्म सचेत देखिए कि अन्य प्रदेशको तुलनामा यहाँ बदर मतको संख्या हालसम्म तुलनात्मक रूपमा न्यून छ । यति मात्र होइन यस प्रदेशमा पहिलोपटक यति शान्तिपूर्ण र सुरक्षित अवस्थामा निर्वाचन सम्पन्न भएको छ । स्थानीय मतदाता शान्तिपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराउन दृढसंकल्पित थिए र कुनै पनि हालतमा आफ्नो मत व्यक्त गरी निर्वाचनप्रतिको प्रतिबद्धता सार्वजनिक गर्न चाहन्थे । साक्षरता र शिक्षाका दृष्टिले पछि परेको यो प्रदेशमा मत बदर कम हुनुले यहाँको जनताको राजनीतिक चेतनाको स्तर, निर्वाचनप्रतिको संवेदनशीलता र लोकतन्त्रप्रतिको समर्पणबारे सहजै बुझ्न सकिन्छ ।
नयाँ मतदाता, नयाँ दृष्टि
विगतको स्थानीय निर्वाचनका लागि भएको मतदान र यसपटकको मतदानका बीचमा एक ताìिवक अन्तर छ, त्यो हो मतदाताको प्रकृति र प्रवृत्तिको । यसपटक थुप्रै नयाँ मतदाता थपिएका छन् भने पुराना मतदाताहरूको संख्या घटेको छ । यस अर्थमा समयसँगै मतदाताको व्यवहारमा परिवर्तन आएको यथार्थलाई स्वीकारिनुपर्छ । त्यसो त यसअघि सम्पन्न अन्य प्रदेशअन्तर्गतका स्थानीय तहको निर्वाचनमा पनि नयाँ मतदाताको संख्या वृद्धि भएको पाइएको हो । एक अनौपचारिक तथ्यांकअनुसार यस प्रदेशमा नयाँ मतदाताको संख्या अन्य प्रदेशको तुलनामा बढी छ । यसको एक कारण हो, जनसाख्यिकी परिवर्तन (डेमोग्राफिक चेन्ज) मा तिव्रता । विगतको मधेशलगायतका अन्य आन्दोलनका कारण यहाँका धेरैजसो रैथाने मतदाता स्थानान्तरित भएर अन्यत्र गए भने थुप्रै मतदाता अन्यत्रबाट यहाँ आए । मतदाताको संरचनामा आएको परिवर्तनले स्थानीय स्तरमा नयाँ दृष्टि विकसित भयो । यसबारे यहाँका पारम्परिक (मुख्य राष्ट्रिय राजनीतिक) दलले विश्लेषण गर्न नसक्दा यससम्बन्धी उचित व्यवस्थापनको रणनीति तय गर्न सकेनन् । उनीहरू दुई दशकपहिलेकै मतदाताको बनोटका आधारमा आफ्ना पक्षमा अनुकूलताको खोजी गरिरहेका थिए ।
मधेशको यथार्थ, काठमाडाँैको दृष्टि
यहाँको निर्वाचनले काठमाडौलाई मधेशका बारेमा नयाँ ढंगले सोच्न प्रेरित गरेको छ । मधेशको गुनासो सँधै नै रह्यो, काठमाडौँले हामीलाई हेरेन । मधेशका जनता यससम्बन्धमा आफ्नो मत व्यक्त गर्न कुनै वैधानिक र औपचारिक उपायको खोजीमा थिए । यसका लागि उनीहरूका सामु निर्वाचनभन्दा अर्को उत्तम उपाय के हुन सक्थ्यो ? उनीहरूले यसको उपयोग गरे । यस प्रदेशको प्रारम्भिक मत परिणामले कम्तीमा यही प्रमाणित गरेको छ । दलहरूले मधेशको यो मनःस्थितिको आँकलन राम्रैसँग गरेका थिए । यसैले पनि होला यसपटक मधेशमा सम्भवतः इतिहासमा पहिलोपटक सबैजसो दलका शीर्ष नेतृत्वको बाक्लो उपस्थिति अनुभव गरियो । यो मधेशाटनले पक्कै पनि शीर्ष नेतृत्वलाई मधेश बुझ्न र आफूहरूमा निहित पूर्वधारणालाई सच्याउन मद्दत पुगेको हुनुपर्छ ।
जनता परिवर्तनका पक्षमा
निर्वाचनको पूर्व सन्ध्यासम्म ठूला भनिने राजनीतिक दलले मधेशमा आफूहरूले राम्रो परिणाम ल्याउने दाबी गरिरहेका थिए तर क्रमशः निर्वाचनको परिणाम सार्वजनिक हुन लाग्दा सबैका दाबी धूलधुसरित हुने छाँट देखिएको छ । कतिपय स्थानीय तहमा पूर्णतः अनपेक्षित परिणाम आएको चर्चा छ । यसो भनेर अपमान गर्ने धृष्टता कहिँ कसैबाट हुनुहुँदैन । बरु जसले यस्ता धारणा व्यक्त गर्दछन् तिनले जनतालाई मसिनो गरी अध्ययन गर्न नसकेको भन्न सकिन्छ । अहिलेसम्मको मतरुझानको अवस्था विश्लेषण गर्ने हो भने स्थानीय जनताले परिवर्तनका पक्षमा मत व्यक्त गरेको मान्न सकिन्छ । ७७ प्रतिशत मतदानको पृष्ठभूमिमा मधेशकेन्द्रित दलहरू र माओवादी केन्द्रले प्राप्त गरेको मत संख्या जोड्ने हो भने जनता परिवर्तनका पक्षमा रहेको बुझ्न असहज हुँदैन । यति मात्र होइन मतपत्रमा लगाइएको छापका आधारमा चिरफारको प्रयत्न गर्ने हो भने स्थानीय जनताले संविधान संशोधनका पक्षमा मतदान गरेको स्पष्ट भन्न सकिन्छ । यस्तै त्यसपछि मतदाताले सहजकर्ताको भूमिकामा रहँदै मध्यस्थकर्ता बन्ने प्रयास गरेको नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकलाई होस पु¥याउन सन्देश प्रवाह गरेका छन् ।
आधार गुमाउँदै समस्याग्रस्त काङ्ग्रेस
हालसम्मको मत परिणामको विश्लेषण गर्ने हो भने सबैभन्दा सकसमा नेपाली काङ्ग्रेस पर्ने देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल काङ्ग्रेस यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा दोस्रोमा सीमित हुनपुगेको पृष्ठभूमिमा काङ्ग्रेसले त्यसको पूर्ति प्रदेश नम्बर दुईबाट गर्ने उद्घोष गरेको थियो तर त्यो उद्घोष भाषणमा मात्र सीमित रहन पुगेको यथार्थ यतिखेर स्पष्ट भएको छ । त्यसो त अहिलेसम्मको मतगणनाको प्रवृत्तिअनुसार काङ्ग्रेस पहिलो अवस्थामै रहने संकेत देखापरेको छ तर यो परिणाम उसले आँकलन गरेको भन्दा निकै निराशाजनक हो । यो परिणामले मधेशमै पनि उसका लागि संकुचनको अवस्था सिर्जना गरेको निष्कर्ष निकाल्ने प्रयत्न गरियो भने त्यसलाई असान्दर्भिक मान्न मिल्दैन । मधेशलाई आफ्नो जन्मस्थान र आधार क्षेत्रका रूपमा परिभाषित गर्दै आएको काङ्ग्रेसका लागि यसपटकको प्रदर्शनले एकैपटक धेरै कुरातर्फ सोच्न बाध्य बनाएको छ । काङ्ग्रेस अवस्था अनुकूल छ भन्ने आत्मरतिमा लीन हुनु, विपक्षीको रणनीतिबारे अनभिज्ञ रहनु, मतदाताको मनोदशाको अध्ययन गर्न नसक्नु, मधेश मानसिकतालाई कम आँकलन गर्नु, चुनावी रणनीति तयार गर्न नसक्नु, चुनावी नेतृत्व स्पष्ट ढंंगले कसैले नगर्नु, मुद्दाविहीन झैँ प्रस्तुत हुनुजस्ता केही यस्ता कारण थिए जसका आधारमा काङ्ग्रेसले अपेक्षित प्रदर्शन गर्न सकेन । यसका अतिरिक्त काङ्ग्रेसको स्थानीय नेतृत्व पनि सशक्त र इमानदार ढंगले प्रस्तुत हुन नसकेको आरोप छ । यति मात्र होइन कतिपय सन्दर्भमा आर्थिक लेनदेनका आधारमा उम्मेदवार तय गरिएको चर्चा व्यापक छ । स्थानीय नेतृत्वका नजिकका आफन्त र नातेदारलाई उम्मेदवार बनाइएको आरोप पनि लागेको छ । यी केही यस्ता गम्भीर आरोप हुन्, जसको प्रतिकार गर्न नसक्दा काङ्ग्रेसको अवस्था अनुमान गरिएअनुसारको सुदृढ हुन सकेन । यस अवस्थामा काङ्ग्रेसले आफ्नाबारेमा सोच्नु अपरिहार्य छ । मुलुकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो लोकतन्त्रवादी दल आफ्नै आधार क्षेत्रमा खुम्चिनुपर्ने अवस्था आउनु निश्चय पनि अप्रियकर अवस्था हो । काङ्ग्रेस शीर्ष नेतृत्वले यी सबै आरोपलाई स्मृतिमा राखेर अनुसन्धान थाल्नु जरुरी छ र दोषीलाई अनुशासनात्मक कारबाहीको दायरामा ल्याउनु जरुरी छ । यसपछि मात्र प्रदेशसभा र संसद्को निर्वाचनमा औपचारिक रूपले जुट्दा केही सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ ।
यी सन्दर्भहरूको सम्बन्ध स्थानीय तहको निर्वाचनसम्म मात्र सीमित छैन । यसको सम्बन्ध आगामी मङ्सिरमा हुने प्रदेशसभा र केन्द्रीय संसद्को निर्वाचनसँग पनि छ । यी निर्वाचनका लागि अब समय धेरै छैन र यी विषयहरू आसन्न निर्वाचनका सन्दर्भमा पनि कुनै न कुनै रूपले प्रभावी हुने निश्चित छ । मधेशलाई यथोचित सम्बोधनको रणनीतिमा जुट्न दलहरूले अब ढिला गर्नु हुँदैन । यस पृष्ठभूमिमा दलहरूले आगामी दिनका लागि नयाँ ढंगले रणनीति तय गर्नु आवश्यक छ । स्थानीय तहको हालसम्मको मत परिणामका आधारमा भन्नुपर्दा आगामी दिनमा नयाँ ढंगले राजनीतिक समीकरण विकसित भई नयाँ धु्रवीकरण हुने संकेत पनि देखापरेको छ ।

 प्रकाशित मिति: २०७४/६/६

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना