उपत्यकाको दक्षिणका शिव र शक्ति

bijay kumar maharjanविजयकुमार महर्जन

 

 

भगवान् शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ । यिनको अर्धाङ्गिनी (शक्ति) को नाम पार्वती हो । भगवान् शिवलाई संहारको देवता भनिन्छ । भगवान् शिव सौम्य आकृति एवं रौद्ररूप दुवैका लागि विख्यात छन् । अन्य देवभन्दा शिवलाई भिन्न मानिएको छ । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन् । त्रिदेवमा भगवान् शिव संहारको देवता मानिन्छन् । यसरी नै जब–जब प्रकृतिमा उत्पात मच्चाउने दानवको जन्म भयो, तब–तब शक्ति अर्थात् माता पार्वतीले विभिन्न स्वरूप लिई ती दानवलाई संहार गरेको कुरा हामीले वेदमा पढ्न पाउँछौँ । शिव र शक्ति एकअर्काका परिपूरक हुन् । जब शिव र शक्तिको मिलन हुन्छ, तब सृष्टि हुन्छ । सृष्टिलाई जन्म दिँदा शिव शक्तिले धारण गरेको प्रयत्नको अवस्था व्रह्म रूप हो भने त्यसलाई जीवित राखी रहने प्रयत्नको अवस्था नारायण रूप हो ।
काठमाडौँ उपत्यकाको दक्षिणतर्फ माता दक्षिणकालीको प्रसिद्ध मन्दिर रहेको छ तर त्यही स्थान नजिक रहेको सबैभन्दा प्राचीन देवतामध्ये एक गोपालेश्वर मन्दिरबारे थाहा नहुन सक्छ । नेपालका देवदेवीको वर्णन गर्ने हिमवत्सखण्ड (स्कन्दपुराण) को १०६ अध्यायमा गोपालेश्वरको विशेष महात्म्य वर्णन गरिएको छ । स्कन्दपुराण हिमवत् खण्ड अध्याय १०६ अनुसार नेमुनि र विरुपाक्ष तीर्थयात्रा गर्दाको प्रसङ्गमा संवाद हुँदा गोपालेश्वर महादेवको उत्पत्ति बारेमा यस्तो वर्णन पाइन्छ ः हालको गोपालेश्वर सामुदायिक वन र गोपालेश्वर भएको स्थानको पौराणिक नाम मर्कटाचल पर्वत हो । सत्ययुगमा देवता र दैत्य एकआपसमा मिली समुद्र मन्थन गरेको बेलामा मन्थन गर्दा जे जति वस्तु प्राप्त हुन्छ, ती सबै बराबर भाग लगाउने निधो भएपछि समुद्रबाट जे जति राम्रा वस्तु र रत्न प्राप्त भयो, प्रायः सबै नै देवताले आफू–आफूमा भागबण्डा गरेको प्रसङ्ग पाइन्छ । यही क्रममा अमृत प्राप्त भयो देवताले दैत्यलाई खान दिएमा अजर र अमर हुन्छन् र देवतालाई दुःख दिन्छन् भनेर विष्णु भगवान्ले मोहिनी रूप धारण गरी दैत्यलाई मदिरा र देवतालाई अमृत खुवाएछन् । देव र दैत्यको पङ्क्ति (लहर) मा राहु दैत्य चन्द्रमा र सूर्यको बीचमा भेषबदली देवता भएर बसी अमृत खाएछन् । यो कुराको बोध भएपछि विष्णुद्वारा राहुको टाउको सुदर्शन चक्रद्वारा काटियो । अमृत पान गरेको कारणबाट राहुको मृत्यु भएन झन् उल्टो दुई ग्रह राहु र केतु भन्ने नवग्रह मध्येका भए । ठगिएका दैत्य र देवताबीच देवासुर सङ्ग्राम भयो । लडाइँमा भाग लिएका र लडाइँमा भाग नलिएका निरपराधी दैत्यलाई समेत विष्णुद्वारा मारिए । देवासुर सङ्ग्राम देवताले जिते ।
गोपालेश्वर मन्दिरभित्र प्राकृत स्थूल ठुलो
शिवलिङ्ग छ । यो
शिवलिङ्ग हालको हिमाञ्चल प्रदेशमा रहेको केदारनाथ लिङ्गको हुबहु रुप छ । केदारनाथ जान नसक्नेले यहाँ दर्शन गर्दा सोही फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
प्रसिद्ध दक्षिणकाली माईको उत्पत्तिका सम्बन्धमा भन्नु पर्दा ः फर्पिङको गोरखनाथ पादुका र बज्रयोगिनी मन्दिर रहेको डाँडा जसको उत्तरतिरको छेउमा चार नारायणमध्येका एक श्री शेषनारायण मन्दिरसमेत अवस्थित रहेको छ । उक्त डाँडा दक्षिणकाली उत्पत्तिस्थलले समेत परिचित छ । जसको पूर्वपट्टीको समथर स्थानमा फर्पिङ शहर रहेको छ । यस डाँडाको अघिल्तिर गोरखनाथ पादुका रहेको ठाउँ जुन असुरा गुफाले समेत परिचित रहेको छ । यसको वास्तविक नाम राक्षसी गुफा हो । असुर बस्ने गुफा भएकै कारण बुद्ध धर्मालम्बीमा यो स्थान असुरा केभका नामले प्रख्यात रहेको छ । यसकै माथि रहेको डाँडाको बीचको थुम्कामा पहिले दक्षिणकालीको पीठ थियो भन्ने स्थानीयबासीको भनाइ रहेको छ । जहाँ आफ्ना गणसहित दक्षिणकाली माई विचरण गर्थिन् र एकान्त जङ्गलमा मध्यरात्रितिर फर्पिङबासी देखापरेमा योगिनी भक्षण गर्थिन् भन्ने भनाइ पाइन्छ । फर्पिङ शहर उक्त डाँडाबाट छर्लङ्ग देखिन्छ । यसरी मान्छेको क्षति हुन थालेकाले त्यस बेलाका तान्त्रिकाचार्यले मन्त्र बलद्वारा देवीगणलाई स्तमन गरी उपासनाद्वारा रिझाइ फर्पिङ शहरभन्दा तल खोँचमा पर्ने दुई नदी उद्धारवती गङ्गा र पूर्णवती गङ्गाको दोभान र मसानघाटमा दक्षिणकाली माईलाई आफ्ना गणसहित आबास भूमि बनाउन बाध्य गरे उनीलाई बेला–बेलामा राँगा, हाँस, बोका, भेडा बलि गर्ने प्रतिज्ञा पनि गरे । त्यस बेलादेखि निर्जन, किनार जङ्गलभित्र दक्षिणकालीको पीठ स्थापना भएको हो र तत्पश्चात् मात्र त्यहाँका मानिस सुरक्षित रहे भन्ने कथन छ । देवमाला वंशावलीमा श्री दक्षिणकाली माईको मूर्ति दक्षिणपट्टी पूर्णवती गङ्गा र उत्तरपट्टी उद्धारवती गङ्गा सङ्गममा सहस्त्र बलि, नरबलि महापूजा कोट्याहुति यज्ञ गरेर प्रतिष्ठा कर्मको विधि पु¥याइ वैशाख शुक्ल तृतीया (अक्षय तृतीया) को दिन स्थापना गरेको कुरा उल्लेख पाइन्छ ।
श्री दक्षिणकाली मन्दिर पूजाका लागि जानु पूर्व श्री गोपालेश्वर अर्थात् शिवको दर्शनपश्चात् मात्र शक्तिको दर्शन गर्ने प्रचलन रहेकोमा हाल यातायातको सहजताका कारण दक्षिणकाली मन्दिरमा सिधै दर्शनार्थी जाने र सोही स्थानबाट फर्कने प्रचलन यथावत् छ । पहिला–पहिला राजपरिवारबाट माता दक्षिणकालीको दर्शनार्थ सवारी हुँदा पनि पहिले शिव अर्थात् भगवान् श्री गोपालेश्वर महादेव मन्दिरमा पूजाआजापश्चात् मात्र माता दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न जाने प्रचलन रहेको यहाँका स्थानीय वृद्धवृद्धा भन्ने गर्छन् । शिव अर्थात् श्री गोपालेश्वर मन्दिर भने गुम्बज शैलीमा रहेकोमा हाल नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातŒव विभागबाट करिब तीन करोड ७६ लाख रुपियाँको निकासासहित दुई वर्षभित्र १९९० सालको महाभूकम्पभन्दा अगाडिको तले शैली अर्थात् तीन तल्लाको बनाउनका लागि पुनःनिर्माण कार्यको थालनी भइरहेको छ ।

 प्रकाशित मिति: २०७४/६/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना