संसारकै पहिलो भूगर्भविद् महर्षि संवर्त

kamal rijalकमल रिजाल

 


वैदिक वैज्ञानिकमा महर्षि संवर्त बिर्सनै नसकिने नाम हो । खासगरी उनको चिन्तन भूगर्भ तथा प्रकृति विज्ञानसित सम्बन्धित देखिन्छ । वेदमा मन्त्रद्रष्टा ऋषिहरूको सङ्ख्या ४०३ उल्लेख छ । तिनमा एकाकी (मन्त्रको प्रकटीकरणमा एक्लै प्रयत्न गर्ने) ऋषिहरूको सङ्ख्या ८८ पाइएको छ भने पारिवारिक (मन्त्र दर्शनको पावन प्रयत्नमा परिवारको समेत साथ र सहयोग रहेको) ऋषिको सङ्ख्या ३१५ देखिएको छ । वेद र वेदान्त निष्णात महर्षि संवर्त यिनै पारिवारिक ऋषिको समूहमा पर्छन् । उनका बाबु मात्र होइन, दाजु, पत्नी र छोरा समेत विशिष्ट मन्त्रद्रष्टा ऋषि मानिएका छन् ।
वैदिक ग्रन्थमा उल्लेख भएअनुसार विद्या, बुद्धि र तपस्याका जीवन्त धरोहर मानिएका महर्षि संवर्त ब्रह्माजीका पौत्र र महर्षि अङ्गिराका पुत्र हुन् । अध्यात्मज्ञान, योगबल, तपः साधना एवं मन्त्रशक्तिका कारण स्वयं अग्निदेवभन्दा पनि प्रखर तेजस्वी मानिएका महर्षि अङ्गिराका दुई भाइ छोरामध्ये उनी कान्छामा पर्छन् । उनको आमाको नाम दक्षप्रजापतिकी छोरी स्मृति (कतै कतै श्रद्धा पनि उल्लेख भेटिन्छ) हो भने दाजुको नाम वृहस्पति, श्रीमतीको नाम ममता र छोराको नाम दीर्घतमा हो, जुन एकसे एक वैदिक मन्त्रद्रष्टा ऋषि मानिएका छन् । इतिहास र पुराणादि ग्रन्थमा कतै उतथ्य, कतै उचत र कतै उक्थ पनि भन्ने गरिएका पाइका संवर्त कतिपय प्रसङ्गमा स्वयं वृहस्पतिभन्दा पनि तेज देखिएका छन् ।
उनका ज्ञान, गुण, क्षमता तथा विशेषताका सम्बन्धमा महाभारतमा व्यासजीले उल्लेख गरेका छन् । व्यासजीका अनुसार उनका दाजु वृहस्पतिले विद्या, बुद्धि र मेधाशक्तिमा जुन उचाई छोएका थिए उनी पनि त्यो भन्दा कत्ति कम थिएनन् । तैपनि आफूभन्दा कान्छो भएकाले वृहस्पति उनलाई सदैव आफ्नो नियन्त्रणमा राख्न चाहन्थे । उता उनी भने त्यसलाई पचाउन सक्दैन थिए र बरोबर दाजुसँग टक्कर लिरहन्थे । महर्षि अङ्गिरा तत्कालीन भूगोलका सम्राट मरुत्तका कुलगुरु रहँदै आएका थिए, जसले गर्दा उनको पनि सानैदेखि राजा मरुत्तको दरबारमा आवतजावत चल्दै आएको मात्र थिएन विद्वात्मण्डलीमा राम्रै स्थान बनाइ सकेका पनि थिए । तथापि बाबुको शेषपछि जेठा भएका नाताले गुरुको आधिकारिक स्थान भने दाजु वृहस्पतिले नै पाए । यसमा उनले प्रत्यक्ष विरोध त गरेका थिएनन् तर दाजुको नियन्त्रण घेराभित्र अट्न भने सकेनन् र विद्रोह गरी तपः साधनाका लागि जङ्गलतिर लागे ।
समय बित्दै गयो । राजा मरुत्तको ख्याति फैलिँदै स्वर्गसम्म पुग्यो, जसलाई देवराज इन्द्रले पचाउन सकेनन् र ईष्र्या गर्न थाले । राजा मरुत्तको ख्यातिको मूल कारण उनको आफ्नै क्षमताभन्दा पनि गुरु वृहस्पतिको कुशल मार्गनिर्देशन नै हो भन्ने कुरो देवराज इन्द्रजस्ता राजनीतिका माहिर खेलाडीलाई थाहा नहुने प्रश्नै थिएन । त्यसैले एकदिन इन्द्रले कूटनीतिक चातुर्य देखाउँदै एकान्तमा आएर वृहस्पतिसमक्ष देवगुरु पदको प्रलोभनको पाशा फ्याँके । देवराज इन्द्र आफैँ आएर देवगुरूपदको प्रस्ताव राखेपछि वृहस्पतिले पनि आफूलाई नियन्त्रणमा राख्न सकेनन् । उनी तत्कालै आफ्नो हैसियत र दायित्वलाई लत्याउँदै इन्द्रको पछि लागे । आफूलाई एकाएक छाडेर गुरु वृहस्पति इन्द्रतिर लाप्सेपछि राजा मरुत्त निकै छटपटिन थाले । उनलाई आफ्नो स्वाभिमान बचाउनकै लागि पनि वृहस्पतिकै काँटको गुरुको आवश्यकता थियो तर तत्काल त्यो सम्भव भने देखिरहेका थिएनन् । यस्तैमा एकदिन उनको देवर्षि नारदसँग भेट भयो । उनको बेचेनी थाहा पाएपछि नारदले उनै संवर्तलार्ई बेलाएर गुरु बनाउन सुझाएका थिए भने राजा मरुत्तले पनि उनलाई तत्कालै बोलाएर कुलगुरु पदमा नियुक्त गरेका थिए ।
महर्षि संवर्त यसै पनि प्रकाण्ड विद्वान् र प्रखर तेजले युक्त थिए । त्यसमाथि पछिल्लो तपस्याले आफूलाई यति बढी खारेका थिए कि उनका अगाडि केही पनि टिक्न सक्दैन थिए । उनले चाडै नै राजा मरुत्तलाई यति बढी शक्तिशाली बनाए कि अश्वमेध यज्ञकै आयोजना गराइदिए । उनको ख्याति देखेर देवराज इन्द्र पुनः छटपटिन थाले । त्यति मात्र होइन यसलाई तत्कालै कुनै उपायद्वारा रोक्न गुरु वृहस्पतिलाई कडा दबाब नै दिँदै आएका थिए । राजा मरुत्तको ख्याति वृहस्पतिकै लागि पनि ठूलै चुनौतीको कुरा थियो । त्यसैले उनले यज्ञ विध्न गर्न अग्निदेवलाई खटाका पनि थिए तर यज्ञ भस्म पार्न गएका अग्निदेव संवर्तका तेजका अगाडि आफैँ झण्डै भस्म भएका थिए । अन्ततः देवराज इन्द्र आफैँ आएर यज्ञलाई पूर्ण पार्न बाध्य भएका थिए । यतिबेला संवर्तको याज्ञिक कौशलताबाट सन्तुष्ट भएका भगवान् शिवले यज्ञमा यति बढी सम्पत्तिले ओइराइदिए कि जति नै खर्च खर्दा पनि सकिएन । अन्त्यमा उनै संवर्तको आग्रहअनुसार बचेका सबै खजानालाई भूगर्भमै समाधिस्थ गरी मरुत्त स्वर्गतिर लागेका थिए । पछि पण्डवहरूले अश्वमेध यज्ञ गर्दा सोही धन उत्खनन गरी ल्याएका थिए ।
निसन्देह कतिलाई संवर्तका जीवनकथासित सम्बन्धित प्रसङ्ग विशुद्ध मिथकजस्तो लाग्न पनि सक्छ तर ऋषिमुनि सही हुन् र उनीहरूका वाक्य पनि सही हो भने संवर्तको जीवन कहानी एउटा त्यस्तो विज्ञान हो, जसले भौगर्भिक खजानातर्पm सङ्केत गरेको छ । यस अर्थमा हाल संसारमा जति पनि भौगर्भिक रत्नहरू प्राप्त हुँदै आएका छन् तिनका स्रोतलाई सर्वप्रथम देखाउने वा तत्सम्बन्धी समग्र पक्षलाई बोध गराउने पहिलो व्यक्ति भनौँ वा स्रोत संवर्त नै हुन् भन्ने कुरा स्वतः अनुमान लगाउन सकिन्छ । यसबाहेक महर्षि संवर्तलाई प्रकृति वैज्ञानिकको रूपमा समेत लिन सकिन्छ । उनी प्रकृति प्रेमी छन्, सोच प्रकृति संरक्षणको छ । उनको वैदिक सूक्त आफैँ प्रकृतिपूजाको नजिक छ ।
ऋग्वेद दसौँ मण्डलको १७२ औँ सूक्त उनै महर्षि संवर्तद्वारा साक्षात्कार भएका मन्त्रको सँगालो हो । उषा देवीको प्रशस्ती वर्णन भएको यस सूक्तमा कुल चारवटा मन्त्र छन् । यद्यपि मन्त्रसङ्ख्याको हिसाबले प्रस्तुत सूक्त त्यति ठूलो छैन तर महìवको हिसाबले भन्ने हो भने अन्य कुनै पनि सूक्तभन्दा कम छ भन्न मिल्दैन । खासगरी उनले आफ्ना मन्त्रमा उषादेवी अर्थात् प्रकाश र समयसित सम्बन्धित शक्तिको विवेचन गरेका छन् । जस्तो हामीलाई थाहा छ उषा भनेको काल अर्थात् समयको नाम हो, जुन समय सूर्योदयको लगत्तै पूर्व वा आसपाससित सम्बन्धित छ । यसले एकैसाथ समय निर्धारण गर्ने काम पनि गर्दै आएको छ र सूर्य किरण व्यवस्थापनको दायित्व निर्वाह गर्ने काम पनि गरिरहेको हुन्छ । संसारमा उषालाई साथ नलिइकन वा उषालाई नमन नगरीकन न सूर्यको किरणले विस्तारित हुने अवसर पाउन सक्छ न सृष्टि प्रक्रिया नै अघि बढ्न सक्छ । उषा, सूर्यकिरण र सिङ्गो सृष्टिप्रक्रिया एकआपसमा यति बढी अन्तर निर्भर छन्, एकले अर्कोलाई चलाएको छ बोलाएको छ । महर्षि संवर्तका उषा सूक्तमा यिनै कुराको सूक्ष्म झलक पाइन्छन् ।
संसारमा प्रकृतिमाथि कसैले पनि विजय पाउन सक्दैनन्, सकेका छैनन् । स्वयं देवी देवता समेत उसको अधीनमा छन् । अरू त अरू स्वयं देवाधिदेव महादेवसमेत साथमा पार्वतीलाई बोकेर हिँड्ने गर्छन् तर महर्षि संवर्तको विज्ञानमा भने त्यो पनि सम्भव देखिएको छ । उनले आफ्ना सूक्तमा उषादेवीलाई जसरी बोलाउने र खेलाउने काम गरेका छन् त्यसैलाई यसको प्रमाणको रूपमा लिन सकिन्छ । निसन्देह हाल महर्षि संवर्तलाई हामीले देखेका छैनौँ तर उनको भूगर्भ र प्रकृति विज्ञानसित सम्बन्धित देनको भने अहिले पनि नमन मात्र होइन प्रयोग नै गरिरहेका छौँ ।

 

प्रकाशित मिति: २०७४/६/८

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना