सार्वजनिक क्षेत्रमा आध्यात्मिकता

Gopinath-mainali-npcगोपीनाथ मैनाली

 

आध्यात्मिकता आत्मचेतना र आत्मअनुशासनको माध्यम हो । समाजमा झाँगिदै गएको स्वार्थ, भोगविलास, लालसा, तृष्णा, लोभ जस्तापक्षले जीवनको महìवलाई नै चुनौती दिइरहेकोले सामाजिक जीवनका सबै क्षेत्रमा अध्यात्मवादी सोचको आवश्यकता बढ्दै गएको छ । आध्यात्मिकताले जीवनका शास्वत मूल्यको खोजी गरी जीवनलाई सुखी बनाउँछ । वैयक्तिक स्वार्थलाई सामूहिक स्वार्थमा समर्पण गरिन्छ । यी विषय भन्न सजिलो भए पनि व्यवहारमा अपनाउन निकै असजिलो छ । यसैका लागि आत्मचेतना र आत्मअनुशासन जरुरी भएको हो ।
अहिले सार्वजनिक संस्था सार्वजनिक व्यवस्थापनका मूल्य सिद्ध गर्ने व्यापक दबाबमा छन्, किनकी आफ्ना सेवाग्राहीको चाहना अनुरूपको सेवा वस्तु दिन सकिएको छैन । चाहनाअनुरूपको व्यवहार गर्न सकिएको छैन । दिइएका सेवामा स्वच्छता, शीघ्रता र मितव्ययीता छैन । अर्थ, क्रियाशीलता, आयतन, मूल्य सबै आयाममा सेवाप्रदायक सेवाग्राहीको मन जित्न सकिरहेका छैनन् । त्यसैले सुशासन छैन । सुशासनका लागि सार्वजनिक जीवनमा नैतिकता र सदाचारको आवश्यकता छ । तर कार्यावस्था जीवन्त गतिशील देखिएको छैन । पात्रमा क्रियाशीलता र आत्मउत्साह देखिएको छैन । सङ्गठनमा समूह भावना र सहयोगको शृङ्खला टुटेको छ । सुधारका नाममा भएका प्रयासहरू पनि कि औपचारिक छन् वा आंशिक मात्र । सङ्गठन पुनसंरचना, व्यवस्थापन सुधार, सेवावस्तुको बजारीकरण, सूचना प्रविधिको प्रयोग, लगायतका समसामयिक प्रयासहरू सार्वजनिक क्षेत्रको प्रशासनलाई जीवन्त होइन, यान्त्रिकरण गर्नमा उद्यत देखिएका छन् । समाजमा विकास भएको अनुशासनहीनता, स्वार्थीपन, पद पैसा र प्रतिष्ठाको प्रतिस्पर्धाले सदाचार र नैतिकतामा स्खलन आएको छ । यी यावत कारणले सार्वजनिक संस्था आत्महीन देखिएका छन्् । त्यसैले समाजमा आध्यात्मिकताको आवश्यकता बढेको छ ।
सामाजिक जीवनमा किन नैतिक आचरण पातलिए, मानव मूल्य किन संस्थागत भएनन्, दुराचारले किन बढवा पायो भन्ने कुराको कारण र उत्तर हुन सक्दैन । समाजले आफूभित्र अपनाउँदै आएको व्यवहारबाट सिर्जित नकारात्मक मूल्यवृत्तिका परिणाम नै धर्म, नैतिकता, सदाचार र निष्ठामा स्खलन आएको हो, जसको प्रभाव घरपरिवार, समाज, सङ्गठन हुदै राज्य प्रणालीसम्म विस्तार भएको छ । परम्परागत सङ्गठनहरू करार सम्बन्धमा रहँदै आएका छन् । करारको सामान्य सिद्धान्त पक्षहरूबीच ‘तिमी यो देउ म यो गर्छु’ भन्नेमा रहन्छ । त्यसैले सङ्गठनभित्र तिमीले यो दिए म यसो गर्छु भन्ने भावना विकास हुन गएको हो, जसले पात्रहरूबीच सौदावाजी र माखेसाङ्गलो सम्बन्धको विकृति देखिएको छ् । यो क्रम बढ्दै जाँदा सार्वजनिक व्यवस्थापन आत्महीन, मूल्यहीन र अनैतिक बन्नपुग्छ । सिद्धान्ततः सार्वजनिक संस्था नैतिक मूल्यका धरोहर हुन् राज्य सञ्चालनका सिद्धान्तले राज्यका संयन्त्रलाई नैतिक संरचनाका रूपमा लिन्छ, तिनीहरू जनताका आशा र भरोसाका स्तम्भ हुनुपर्दछ । सार्वजनिक संस्थालाई नैतिक संस्था अनि त्यहाँ संलग्न ब्यक्ति (कर्मचारी) लाई नैतिक पात्र बनाउन सकिएमा मानव सभ्यता संस्थागत बन्ने गर्दछ । अनि मात्र सङ्गठनलाई जीवन्त बनाउन सकिन्छ । यसैका लागि सार्वजनिक व्यवस्थापनमा आध्यात्मिक सोच प्रवेश गराउन परेको हो । तर
कसरी ? विषय निकै पेचिलो छ ।
सार्वजनिक जीवन अरुका लागि कार्य गर्ने वा सेवा र निष्ठा अपनाउनुपर्ने क्षेत्र हो । सार्वजनिक जीवनका सिद्धान्त र मूल्य मान्यताको अवलम्बनपछि मात्र सार्वजनिक व्यवस्थापनलाई सर्वसाधारणको
मनमस्तिष्कसम्म पु¥याउन सकिन्छ । कर्म, सेवा र समर्पण त्यसका आधार हुन् । अध्यात्मिक सोच त्यसको दर्शन हो । सार्वजनिक व्यवस्थापनका क्षेत्रमा आध्यात्मिकता विस्तार गर्ने सामान्य तŒवका रूपमा असल सम्बन्ध, सदाचार, माया, महŒववोध र आदर्श ब्यवहार हुन् ।
असल सम्बन्ध मानव जीवनको आधार हो, जसको विस्तृतीकरण मात्र सङ्गठन संरचनामा हुने हो । कामलाई जीवन्त बनाउन आपसी सम्बन्ध चाहिन्छ । सार्वजनिक अङ्गमा समूह भावनाअनुरूप कार्य गरिने भएकाले सो भावना विकास गर्न समूह सदस्यबीच असल सम्बन्ध चाहिन्छ । समूहको एक सदस्य दुःखी हुँदा समूहमाथि नै असर पर्छ । कुनै एक सदस्य खुसी हँुदा समूहका सबै नै आनन्दको अनुभूति गर्छन् । त्यसैले आध्यात्मिक हुनु भनेको एक अर्कोबीच असल सम्बन्ध बनाउनु हो । प्रत्येक प्रत्येकप्रति जवाफदेही बन्नु हो । यसका लागि समूह यान्त्रिक तवरले होइन, मानवीय सम्बन्धले चलाउनु पर्छ ।
सङ्गठनभित्र आध्यात्मिक भावना भित्र्याउने अर्को तìव सदाचार हो । सदाचारका धेरै आयाम र अर्थ होलान्, कार्य परिवेशमा यसका तीन आयाम छन् भने पुग्छ । पहिलो, कुन कुरा सही र कुन चाहिँ गलत हो, सो को बोध, दोस्रो व्यक्तिगत हानि भए पनि सही कार्यको अवलम्बन र तेस्रो आफूले गरेको सही कार्यको अन्तरबोध । सदाचारी व्यक्ति सही सोच्छन्, सही बोल्छन् र सही नै गर्छन्, त्यसबाट आउने जोखिम वा परिणामको ख्याल राख्दैनन्् । कार्यावस्थामा उचित (सही) मात्र गरिन्छ, गलत गरिँदैन भन्ने विश्वास सिर्जना गर्नु सदाचारको मर्म हो । सबै मानिसको अन्तरात्मामा असल भावना हुन्छ, व्यक्तिगत स्वार्थ र अज्ञानताले किचेमा मात्र कुकर्म हुने हो । सदाचारको ज्ञानले व्यक्ति मानव बन्छ । महान व्यक्ति सदाचारी कर्मले नै महान् बनेका हुन् ।
कामको महìव बुझ्ने, अर्थ खोज्ने प्रवृत्तिले व्यक्ति, काम र सङ्गठनलाई समान अनुभूतिमा पु¥याउँछ । सार्वजनिक निकायमा व्यक्ति पदीय अहम्मा रहन पुगे भने आफू त्यस काममा किन छु भन्ने विषय बोधबाट टाढिन्छन् । भगवान् श्रीकृष्णले गीतामा अर्जुनलाई दिएको उपदेश यसैमा केन्द्रित थियो । काम छ, त्यसकारणले म छु, मलाई पत्याइएको छ, त्यसकारण मैले गर्नुपर्छ भन्ने अन्तरबोध नभई कुनै पनि कामको अर्थ सिद्ध हुँदैन । अर्थ सिद्ध नभएको कामप्रति व्यक्तिको अपनत्व पनि रहँदैन । व्यक्तिले आफ्नै अन्तरात्मालाई प्रश्न गर्नुपर्छ कार्य परिवेशलाई अर्थपूर्ण बनाउन । त्यसो भएमा हरेक प्रश्नको उत्तर र हरेक समस्याको समाधान सहज हुन्छ । यस प्रकारको कार्यवृत्तिले सिर्जना र अग्रसरतालाई आमन्त्रण गर्छ ।
आदर्श वा उदाहरणीयताको भावनाले ब्यक्तिलाई आफ्नो कार्यआचरण सामान्य अवस्थाभन्दा राम्रो बनाउने आग्रह गर्दछ । सार्वजनिक जीवनका अनुयायीहरू आफूबाट सम्पादित काम पूर्ण र आदर्श होस् भन्ने भावनामा रहनुपर्छ । कार्यवृत्ति व्यक्ति, अन्तरव्यक्ति, समुदाय, राष्ट्र र सम्पूर्ण मानव जगतको परिवर्तनका लागि भलोसोचमा रहनुपर्छ । यस भावनाले मानिसमा काम नै मोक्ष हो, सेवा नै धर्म हो भन्ने बोध गराउँछ । कर्म नै व्यक्तिलाई पूर्णतातर्फ डो¥याउने आधार हो । यस प्रकारको बोध भएपछि व्यक्ति काममा रमाउँछ, काम नै मनोरञ्जन बन्छ र कामप्रति लगातार निष्ठा राख्छ । भागवत गीताको सार पनि कर्म नै जीवन हो भन्नेमा छ ।
समकालीन प्रवृत्तिबाट नेपाल अपवाद रहन सक्दैन । अझ यहाँ लोकतन्त्र कलिलो छ, राज्यप्रणाली नरम छ । सुशासन राष्ट्रिय कार्यसूची हो तर वास्तविक कर्ममा देखाउन सकिएको छैन । जनता नतिजाका लागि अधीर छन् । उनीहरूमा चेतना र चाख बढेको छ । यसले सार्वजनिक निकायलाई सुशासन प्रत्याभूत गर्न निरन्तर दबाब बढाएको छ । तर सार्वजनिक निकाय संस्थागत रूप लिन सकिरहेका छैनन् । जो जहाँ जुन जिम्मेवारीमा छन् उनीहरू सार्वजनिक जीवनका आचरणमा छैनन् । जो सीमित छन् उनीहरू छायामा छन् । जोबाट उच्च नैतिक चरित्रको अपेक्षा गरिएको छ, उनीहरूमा त्यही चाहिँ नितान्त अभाव छ । कर्मचारीमा अतिवृत्तिवादी सोच छ, राजनीतिज्ञ सेवाभावबाट व्यवसायतिर लहसिएका छन् । पदलाई जिम्मेवारीभन्दा अवसर र ओहदालाई सेवाभन्दा वृत्तिका अर्थमा लिइएको छ । परिणामत ः कामबाट आनन्दको अनुभूति छैन । शासकीय सूचकमा अपेक्षित सुधार ल्याउन सकिएको छैन । आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको धेरै टाढाको विषय बनेको छ । सार्वजनिक सङ्गठन जीवन्त संस्था बनेका छैनन्, मानवीय मूल्य र नैतिक आचरणमा स्खलन छ । व्यर्थको उछिनापछिन छ । यस अवस्थामा समग्र प्रणाली सुधार गर्न आत्म शुद्धीकरण, आत्मिक अन्वेषण र आध्यात्मिकता नै अचूक अश्त्र बन्न सक्छ ।

 

प्रकाशित मिति: २०७४/६/८

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना