एनआरएनएको आसन्न विश्व सम्मेलन

Junar_babuजुनारबाबु बस्नेत

 

बडादशैँको चहलपहलले नेपाली परिवेशलाई ह्वात्तै छोपेको छ । महापर्वको अवसरमा सरकारी कार्यालय एक साता बन्दै हुन्छन् । यो पर्वको वातावरण भने दुई साता अघि नै आरम्भ भइसक्छ अहिले मध्य भइसकेको छ । बजार चहलपहल तीव्र बढ्दैछ । सरकारी र सम्बद्ध क्षेत्रमा काम गर्नेले एक महिनाको तलब दशैँ खर्च बराबर पाउने हुँदा त्यसले बजार तताउने नै भयो । निजी क्षेत्रमा पनि धेरथोर दशैँ खर्च पाउने हुँदा बजार बढाउन सहयोग गर्छ । यसले दशैँ अर्थतन्त्रै निर्माण गर्छ । राजधानी काठमाडौँबाट बाहिरिनेको चाप निरन्तर बढ्न थाल्छ । फूलपातीको भोलिपल्टसम्म त झण्डै २२ लाखले राजधानी छोडिसक्ने अनुमानसँगै चहलपहल सुस्त हुँदै जान्छ तर यसैबीचमा यताका केही वर्षदेखि एउटा नयाँ चहलपहलले ठाउँ पाउन थालेको छ । देश बाहिर रहेका नेपालीहरू दशैँकै अवसरमा स्वदेश आउँछन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को सम्मेलन र भेलाको चहलपहलले काठमाडौँलाई दशैँ लगत्तै बाँकी विश्वसँग जोड्छ ।
सङ्घको आठौँ सम्मलेन यसै महिना अर्थात् असोजको २८ देखि ३० सम्म राजधानीमा सम्पन्न हुँदैछ । विश्वका कम्तीमा ७३ मुलुकमा छरिएका नेपाली जमघट हुने अवसर हो यो । त्यसैले यसलाई विश्वसम्मेलन पनि भनिन्छ । गत असोज १ गते बसेको मन्त्री परिषद्को बैठकले सङ्घको आसन्न आठौँ सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने निर्णय पनि गरिसकेको छ । यताको केही वर्षदेखि सङ्घलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । एक दशक अघि नै गैरआवासीय नेपालीका लागि संसद्ले ऐन बनाएपछि सरकारको प्राथमिकतामा परेको हो तर अझै कतिपय विषय सुल्झिन बाँकी रहेको एनआरएनएले संस्थागत रूपमै र नेतृत्वहरूले अलग अलग ढङ्गले उठाउँदै आएका छन् । त्यसमा दोहोरो नागरिकता लगायतका विषय पनि छन् ।
गैर आवासीय नेपालीसम्बन्धी ऐन, २०६४ का अनुसार अनुसार “गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक
सम्झनुपर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ । नेपाली मूलको विदेशी नागरिकको पनि स्पष्ट परिभाषा गरिएको छ जसअनुसार नेपाली मूलको विदेशी नागरिक भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनुपर्छ भनिएको छ । सार्क मुलुकमा बसोबास गर्ने नेपालीलाई गैर आसासीय नेपालीका रूपमा लिइएको छैन । सार्क बाहेकका मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली मूलका विदेशमा बस्ने नेपाली सङ्घमा आबद्ध हुन सक्ने छन् तर त्यसमा ऐनले विदेशमा बस्नेलाई थप स्पष्ट पार्दै भनेको छ, “विदेशमा बस्ने नेपाली नागरिक” भन्नाले सार्कको सदस्य मुलुकमा बसोवास गरेको, नेपाल सरकारबाट खटीई विदेशस्थित कूटनीतिक नियोग वा महावाणिज्य दूतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिकबाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिक सम्झनुपर्छ ।
पेशा, व्यवसाय र रोजगारीलाई प्रमुख प्राथमिकता दिई गैर आवासीय नेपालीको सङ्गठनलाई प्राथमिकता दिइएको छ । त्यसो त ऐन आउनुभन्दा चार अघि नै २०६० सालमा गैरआवासीय नेपाली सङ्घको स्थापना भई गतिविधि अगाडि बढ्न थालेको हो । यो १४ वर्षको अवधिमा सार्क क्षेत्रबाहेक झण्डै ७३ मुुलुकमा रहेका झण्डै एक लाख नेपाली गैरआवासीय सङ्घमा समावेश भइसकेका छन् । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ आरम्भ भएको एनआरएनए महाअभियान अहिले नयाँ नेतृत्व र नीतिका लागि तातेको छ । अघिल्लो सातामात्र सङ्घका वर्तमान उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि नयाँ गति आएको छ । दुई दशकदेखि जापानमा रहेर उद्यमीको अन्तर्राष्ट्रिय परिचय र नेपालमा लगानी बढाउनुभएका भट्ट सङ्घको उच्च नेतृत्वको एक्लो दाबेदारहो वा प्रतिस्पर्धा हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
एनआरएनएमा मौजुदा अध्यक्ष शेष घलेले दुई कार्यकाल पूरा गरिसक्नुभएको छ । अष्टे«लियामा उद्यम गरेर अर्बपतिको आय र सम्मान पाउनुएका घलेले दुई कार्यकाल नेतृत्व गरे पनि आफूले अगाडि सारेका नीति र कार्यक्रम चाहेअनुरूपले पूरा हुुन नसेको प्रति उहाँको असन्तोष रहेको चर्चा यतिबेला चुलिएको छ । सङ्घको कार्यकारिणीको हालै जर्मनीमा भएको बैठकमा भिजन २०२० र त्यसपछि भन्ने कार्यक्रम उहाँले अप्रत्यासित रूपमा अगाडि सार्नुभएको छ । ती कार्यसूची आफूले चार वर्ष कार्यकालमा पूरा हुन नसकेको र त्यसका लागि त्यसै अनुरूपको भिजन भएको नेतृत्व चाहिने अर्थका रूपमा कतिपयले बुझेका छन् । त्यसका लागि घले पत्नी अर्थात् महिला उद्यमी जमुना घलेको नाम नयाँ नेतृत्वका लागि अगाडि सार्न थालिएको छ । तर त्यसबारे घले दम्पतीले हालसम्म सार्वजनिक रूपमा केही प्रष्ट्याएका छैनन् ।
हुन पनि यतिबेला झण्डै ४० लाखभन्दा बढी नेपाली देशबाहिर रहेका छन् । नेपाली अर्थतन्त्र विप्रेषणको भरथेगले नै चलेको छ, विश्व बैङ्क (२०१६) का अनुसार विप्रेषणले अर्थतन्त्र थेग्ने मुलुकमध्ये नेपाल विश्वमा तेस्रो स्थानमा पर्छ । कूल गार्हस्थ उत्पादनमा विप्रेषण अंश ३० प्रतिशत रहेको छ । यो अंश कृषिको योगदान बराबरकै अंश हो । कृषि प्रधान देश नेपाल अब विस्तारै विप्रेषणप्रधान देश हुँदैछ । नेपालमा विभिन्न ३५ मुलुकबाट संस्थागतरूपमा विप्रेषण आउने गरेको छ र अनौपचारिक हुण्डीका त हिसाब किताब नै छैन । गैर आवासीय ऐनले विदेशका पेशा, व्यवसाय र रोजगारी गर्ने नेपालीलाई गैरआवासीय नेपाली भनेको छ र त्यसैले पनि गैर आवासीय नेपालीको मातृभूमिमा लगानी र योगदान असाध्य महìवपूर्ण रहने निश्चित छ । त्यतिमात्र होइन, विप्रेषणबाट गरिबी निर्वारणमा पनि महìवपूर्ण योगदान रहने गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विप्रेषण १० प्रतिशतले बढ्दा गरिबी ३ प्रतिशतले घट्ने देखिएको छ । आर्थिक वर्ष २०५२÷५३ मा ४२ प्रतिशत रहेका गरिबी २० वर्षपछि आर्थिक वर्ष २०७२÷७३ मा २१.७ प्रतिशतमा झरेको छ । देशभित्र उद्योगधन्दा खस्कँदो अवस्थामा रहँदा पनि गरिबी घट्नुमा विदेशमा रहने नेपालीको श्रम र मिहनेतको ठूलो योगदान, महìव र अर्थ छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालीको ५८ प्रतिशत परिवारले कुनै न कुनै रूपमा विप्रेषण प्राप्त गर्ने गरेका छन् । अहिले औपचािरक माध्यमबाट मात्र वार्षिक सात खर्ब रुपियाँ विप्रेषण प्राप्त हुने गरेको छ । त्यसैले हुनुपर्छ, अध्यक्षका प्रत्यासी भवन भट्टले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने बीमा, सीप विकासलगायतका अनेक उपाय अगाडि सार्दैै नेपालमा लगानी बढाउने कार्यसूचीलाई सङ्घको नेतृत्वको मूल मुद्दा बनाउनुभएको छ । सङ्घका अर्का उपाध्यक्ष कुमार पन्तले पनि नेतृत्वमा दाबी गर्ने भनिए पनि अझै कुनै घोषणा बाहिर आएको छैन । पन्तले भट्टलाई नै सहयोग गर्ने समाचार आए पनि पुष्टि भएको छैन ।
विदेशमा श्रम र सीपलाई राष्ट्र निर्माणमा धेरै मुलुकले उपयोग गरेका उदाहरण छन् र गर्दैछन् । दक्षिण कोरियाले सन् १९७० को दशकमा करिब सात हजार दक्ष नर्सलाई जर्मनी पठाइ त्यहाँबाट आएको विप्रेषणले बण्ड सिर्जना गरी संस्थागत लगानी गर्न थालेको हो । त्यतिबेला कोरिया र नेपालको अवस्था उस्तै थियो । आज दक्षिण कोरिया विकसित र औद्योगिक राष्ट्रका रूपमा उदाएको छ । नेपालीका लागि त अब्बल रोजगारी गन्तव्य भएको छ । भारत र चीनको अर्थतन्त्रमा पनि विदेशमा बस्ने त्यहाँका नागरिकको ठूलो योगदान छ । झण्डै ३० लाख अर्थात् नेपालको जनसङ्ख्याभन्दा बढी भारत बाहिर बस्ने भारतीयहरू गैरआवासीय भारतीयमार्फत् राष्ट्रिय विकासमा जोडिएका छन् । लगानी र बहुराष्ट्रिय कम्पनीलाई देशभित्र ल्याउन वर्तमान नरेन्द्र मोदीको सरकार क्रियाशील छ । चीन बाहिर बस्ने चिनियाँको धन र ज्ञान अहिलेको चीन निर्माणको अब्बल पुँजी हो ।
भूमण्डलीकरणले विश्वभर अवसर सिर्जना गरेको छ । पुँजी, श्रम, ज्ञान, सीप र सूचनालाई भूगोलको सीमाभित्र सीमित गर्न खोज्नु मूर्खता मात्रै हुन्छ । विश्वभर फैलिएको पूँजी, श्रम, ज्ञान,सीप र सूचना आफ्नो मुलुकभित्र लगानीका रूपमा ल्याई आर्थिक र सामाजिक विकास गर्नु जरुरी हुन्छ । नेपाल निर्वाचनको मध्यान्तरमा छ । स्थानीय तहमा स्थायित्वसँगै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले राजनीतिक सङ्क्रमण पार लगाउने मार्गतर्फ छ । यसैबेला गैर आवासीय नेपाली सङ्घको विश्वसम्मेलनमा कम्तीमा एक हजार पाँच सय गैर आवासीय नेपाली यहाँ भेला हुँदै छन् । ऊर्जा पर्याप्तता हुँदै गइरहेको सन्दर्भमा लगानीको वातावरण क्रमशः बन्दैछ । त्यसका लागि सबैखाले अवरोध छिचोल्दै गैरआवासीय नेपालीमार्फत् लगानी, पर्यटन विकाससँगै आर्थिक समृद्धिको आधार खडा गर्नु अहिलेको मुख्य राष्ट्रिय कार्यसूची हो । सङ्घ, यसको नीति र नेतृत्वले पनि मातृभूमिको विकासमा अगाडि बढ्नु वान्छनीय छ ।

  प्रकाशित मिति: २०७४/६/९ 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना