माक्र्सवादी स्कुल सञ्चालन : समयसापेक्ष ?

prabhu basnetप्रभुनारायण बस्नेत

 

 

नेपालका कम्युनिस्ट पार्टीमा हिजोआज माक्र्सवाद अध्ययनप्रति निकै लगाव बढ्न थालेको छ । कसै–कसैले आफ्ना हजारौँ कार्यकर्तालाई माक्र्सवाद अध्ययन गराउने कुरा सार्वजनिक पनि गरिसकेका छन् । यसपछि यस्ता विषयमा सामान्य चर्चा परिचर्चा हुनु स्वाभाविक नै हो ।
कार्यकर्तालाई माक्र्सवाद पढाउँदा चुनाव जित्न सकिँदैन भन्ने मान्यताबाट अहिले पनि केही कम्युनिस्ट पार्टी विचलित भएको देखिँदैन । उनीहरू फिलिपिन्सको मार्कोस र पञ्चायतकालका मन्त्री हेमबहादुर मल्लको चुनाव जित्ने शूत्र अपनाएर पार्टीलाई दिग्विजयी गराउन चाहन्छ भन्ने कुराको दह्रो उदाहरण हो । उदाहरणका लागि २० वर्षअघि भएको स्थानीय निर्वाचनलाई पनि लिन सकिन्छ, त्यसबेला आधाजसो भागमा विपक्षीलाई उम्मेदवारी दर्ता गर्न नै दिएन, कतै सशक्त प्रतिपक्षी उम्मेदवारलाई अपहरण गर्ने, धम्की दिएर उम्मेदवारी छोड्न लगाउनेदेखि हत्या गर्नेसम्मका काम पनि भएकै हुन् ।
शास्त्रीय माक्र्सवाद अध्ययन अध्यापनले निर्वाचन जित्ने होइन, त्यसले बुथ कब्जा गर्ने एमाले–माओवादी शैलीको परिकल्पना गरेको छैन । बरु शक्ति प्रयोग गरेर सत्ता कब्जा गर्ने कुरा माक्र्सवादी कार्यक्रमको गुदी हो । माक्र्सको दुई सय वर्षको जन्मजयन्ती मनाउनेले आफ्नो पाठ्यक्रममा यी सवाललाई कसरी समावेश गरेका छन् ? कार्लमाक्र्सको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्तलाई नै शास्त्रीय माक्र्सवादको आधारस्तम्भ मानिएको छ तर अहिले चर्चामा आएका र लोकप्रिय बनेको माक्र्सवाद चाहिँ जीवित, प्रभावकारी र लोकप्रिय बनाइराख्ने आधार हो । अर्थात् माक्र्सवादको आत्मा मानिएको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद आजको दुनियाँमा चर्चा हुने साम्यवादको अङ्ग होइन । केही कर्मकाण्डी अध्येयता बाहेक संसारभरिका अधिकांश कम्युनिस्ट कार्यकर्तालाई त्यसको ज्ञान शून्य छ ।
इन्टरनेटको युगमा मान्छेले समाज विकास र परिवर्तनका झन्झटिला नियम कण्ठ गरेर बस्दैन । छिनछिनमा दुनियाँका सारा सूचना थाहा पाउन उत्सुक युवा पुस्तालाई माक्र्सवादी शिक्षा प्रदान गर्नु नराम्रो कुरा नहोला तर त्यो कष्टसाध्य कार्य भने अवश्य हो । माक्र्सवादले आज पनि दुनियाँको सबैभन्दा ठूलो सङ्ख्यामा रहेको पछौटेपना, शोषण–दमनजस्ता समस्याबाट मुक्त गर्न सक्छ भन्ने भ्रम अझै छ तर यथार्थ यसको ठीक विपरीत देखिन्छ । माक्र्सवाद अर्थात् साम्यवाद एउटा सुन्दर परिकल्पना मात्र बन्न पुगेको छ । साम्यवादको नाममा संसारमा जहाँ–जहाँ सत्ता कब्जा भयो र शासन सञ्चालन गरियो, त्यहाँ–त्यहाँ जनतालाई अधिकारविहीन बनाइयो, भेदभाव गरियो र शोषणको रूप बदलेर तीव्र पारियो । रुमानियाका कम्युनिस्ट शासक चाउचेस्कोको दर्दनाक पतनले आधुनिक माक्र्सवादीलाई एउटा राम्रो पाठ सिकाएको छ । बन्द समाजमा पक्षपाती रहेका कम्युनिस्ट सरकारले तिनको शासनका गुह्य कुरा त्यहीँ दबाएर राखे, सार्वजनिक हुन दिएनन् । जसले गर्दा तिनको बाहिरी आकर्षण सारा दुनियाँले थाहा पायो । यथार्थ, र विकृत कुराबाट संसार अनभिज्ञ नै रह्यो ।
ढिलाचाँडो सारा विश्वले वास्तविकता बुझे । परिणाम स्वरूप एक सय वर्षभन्दा अघि स्थापित कम्युनिस्ट सत्ता तासको घरझैँ गल्र्यामगुर्लुम ढल्यो । अहिले शास्त्रीय माक्र्सवादले परिकल्पना गरेको र लेनिनले प्रयोगमा ल्याएको साम्यवादी मोडलको व्यवस्था पूर्णतः पतन भएको छ । माक्र्सवाद पढाउने पण्डितले अबको पुस्तालाई त्यस सम्बन्धमा कस्तो शिक्षा दिन चाहेका हुन् ? सूचना, विज्ञान–प्रविधिले वर्ग सङ्घर्षको कुन चाहिँ परम्परागत शैली, ढाँचा र रूपलाई प्रयोग सहज बनाएको छ ? मध्ययुगिन सामन्तवादको युगमा माक्र्सवाद जन्मेकै थिएन । पुँजीवादी युगमा जन्मेको माक्र्सवादले समाजमा व्याप्त चरम शोषण, दमन, उत्पीडनबाट मुक्तिको कल्पना ग¥यो तर आजको युग न त सामन्तवादी न त माक्र्सले परिभाषा गरेजस्तो उत्पादित माल र श्रमको संयोजनबाट लाभ लिने पुँजीवादी युग नै हो । यो युगलाई अर्थशास्त्रीहरूले वित्तीय पुँजीवादी युगको रूपमा चित्रण गर्ने गरेका छन् तर अब वित्तीय पुँजीवादको आयु पनि लामो देखिँदैन । विज्ञानको चमत्कारको रूपमा विकसित प्रविधिले मानव जीवनलाई जति सहज बनाएको ठानिदैछ, त्यति नै जटिल गराउँदै लगेको प्रष्ट देखिदैछ । युग परिवर्तनसँगै पुराना दर्शन, वाद, सिद्धान्त पनि उपयोगिताविहीन हुँदै जान्छन् । माक्र्सवाद मात्र त्यसको अपवाद हुन सक्दैन ।
यस्तो अवस्थामा नेपालका दशतिर फर्किएका दश वटा कम्युनिस्ट नामधारी समूहले कार्यकर्तालाई काम दिन माक्र्स जयन्ती मनाउने, माक्र्सवाद अध्ययन गराउने भन्नु हास्यास्पद मात्र हुन्छ । भौतिकवादमा विश्वास गर्ने कम्युनिस्टले माक्र्स जयन्तीकै सन्दर्भ पारेर किन कार्यक्रम गर्नुप¥यो ? यस्ता कार्यक्रम अघिपछि पनि वर्षैभरि गरिरहे हुन्छ । कार्यकर्तालाई माक्र्सवाद पढाएर त्यसको प्रमाणपत्र कसले दिने र पढेपछि रोजगारी पाउनुपर्छ भनेर सिकाउनेले त्यसको समकक्षी मान्यता ‘इकोभ्यालेन्ट’ कहाँ गराउने र त्यो प्रमाणपत्र देखाएर जागिर पाउने ? जागिरे प्रवृत्तिको शिक्षाको बाहुल्यता रहेको आजको समाजमा पाउन लागेको रोजगारी पनि यस शिक्षाले खुस्किने सम्भावना बढाउन सक्छ । इन्डोनेसियामा एकताका कम्युनिस्ट भनेपछि सात पुस्तासम्मले जागिर नपाउने स्थिति थियो । पश्चिमा नजरमा खतरनाक रहेको यस्तो माक्र्सवाद कसले पढ्ने र कसले पढाउने ?
कतैबाट राम्रो बजेट आयो भने होटल–रिसोर्टमा गोष्ठी, सेमिनार गर्ने, मोजमस्ती गर्ने, भत्ता पचाउने हिसाबले कार्यपत्र तयार पार्ने, प्रस्तुत गर्नेसम्म स्वाभाविक भए पनि दश हजारलाई माक्र्सवादी शिक्षा दिने कुरा सहजै सम्भव हुँदैन । अहिले माक्र्सवादका अनेक भाष्य छन् । रुसका स्टालिनको माक्र्सवादसँग ट्रटस्कीको माक्र्सवाद नमिल्दा ट्रटस्की अमेरिका पुगेर मर्नुप¥यो । चीनका माओ, लिलिशान, छान्तेस्यु, चाङको थाओेको माक्र्सवादमा कतै एकरूपता छैन । भारतमा ज्योती वसु, नमुदरीपादको माक्र्सवादसँग सहमत हुन नसकेपछि चारु मजुम्दारले विद्रोहको झण्डा उठाए । चियाङचिङसँग सहमत हुने र नहुने थुप्रै पार्टी नेपालमा आज पनि अस्तित्वमा छन् । बबअबोकिनलाई सीआईएको एजेन्ट मान्ने र महान् कम्युनिस्ट मान्ने दुवैथरिको तर्क सुनेर धेरैका कान पाक्न लागिसके । अनवर होक्जाले ख्रुश्चेवलाई प्रतिक्रान्तिकारीभन्दा मत मिलेका माओ लामो समय एउटै बाटोमा यात्रा गर्न सकेनन् । हाम्रै सन्दर्भमा पनि पुष्पलाल र केशरजङ्गका दुई भिन्न स्कुलिङ थिए । मोहनविक्रमले गद्दार पुष्पलाल लेखेपछि अर्को विचारधारा पनि थपियो । माक्र्सले पेरिस कम्युनको घट्नापछि सर्वहारा वर्गको अधिनायकत्वको अनिवार्यताको पक्ष लिए । त्यो माक्र्सवादको अभिन्न अङ्ग हो । अहिले एमाले र माओवादी केन्द्रसमेतका पार्टी सर्वहारा अधिनायकत्वको पक्षमा छैनन् तर मोहनविक्रम, मोहन वैद्य विचारको हिसाबले त्यसैको पक्षमा छन् ।
माक्र्सवादभित्र संशोधनवाद, नवसंशोधनवाद, जडशूत्रवाद, उग्रवाद, अराजकतावाद जस्ता शाब्दिक भड्काव थुप्रै छन् । भड्कावमा फसेकाले त्यसैलाई माक्र्सवादको सही रूप ठाने पनि अरूको नजरमा त्यो भड्काव नै हुन्छ । भूसालको माक्र्सवादले सिंह, वैद्य र चन्दको माक्र्सवादलाई जडशूत्रवाद, उग्रवाद, अराजकतावाद मान्छ भने सिंह–वैद्यको माक्र्सवादले भूसालकोलाई दक्षिणपन्थी संशोधनवाद र बिसर्जनवाद देख्छ ।
अब माक्र्सवाद पढाउने गुरुहरूले कसको भाष्यमा आधारित रहेर शिक्षा दिने ? यो अत्यन्त अप्ठयारो र अन्योलको विषय हो । एमालेलगायतका पार्टीले अहिले पनि चीन, कोरिया, भियतनाम, क्युवालाई साम्यवादी शासन प्रणालीकै रूपमा मान्यता दिएका छन् । मसाललगायतका पार्टीले तिनलाई पुँजीवादी मानेका छन् । ख्रुश्चेवको शान्तिपूर्ण सङ्क्रमण र माओको सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने विपरीत दिशाका यात्री रहेका माक्र्सवादीहरू कसरी एकै थलोमा बसेर दीक्षित हुन सक्छन् ?
माक्र्सवादकै प्राधिकार दाबी गर्ने नेत्रविक्रम समूह र माक्र्सवादको गाइडलाइनमै चलेको दाबी गर्ने मानन्धर समूह एकै ठाउँमा बसेर पढ्ने र पढाउने कुरा कसरी सम्भव हुन्छ ? त्यसरी सञ्चालन गरेको पढाइको कुनै औचित्य पनि रहँदैन । औचित्यपूर्ण रूपमा कुरा गर्ने हो भने कुनै पनि दर्शनको अध्ययन कसैको रुचिभित्र पर्ने कुरा हो । रुचि भयो भने कसैले नपढाए पनि उसले त्यसलाई पढ्छ तर लाद्ने हिसाबले होइन । पढ्ने र पढाउने पक्षको बुझाइ व्याख्या–विश्लेषणमा पनि एकरूपता हुनुप¥यो । तब पढ्नु–पढाउनुले अर्थ राख्छ । बौद्धिक विलास र प्रचारबाजीको हिसाबले चलाइएको पठनपाठनको सन्दर्भ उठाउँदा पार्टीहरूले पटक–पटक विचार चाहिँ पु¥याउनैपर्छ ।

  प्रकाशित मिति: २०७४/६/९ 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना