बोलेरो दुर्घटनामा ६ को मृत्यु, पाँच जनाको सनाखत

धुलिखेल, असोज १० गते  । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । 

आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखरआम्बोटेको निगालेमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएका छ जनामध्ये पाँच जनाको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार मृत्यु हुनेमा महाभारत गाउँपालिका– २ का ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया म्हेन्दोमाया जिम्बा, २७ वर्षीया मनिषा मोक्तान, १९ वर्षीया कुमारी जिम्बा र अर्का एक जना पुरुषको सनाखत हुन बाँकी छ । 

एक वर्ष आठ महिनाकी कृष्टिना मोक्तान हराइरहेको जनाइएको छ । प्रहरीले घाइते अभिषेक तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँंमा उपचारका लागि लगिएको जनाएको छ । बाँकी घाइतेको उद्धार भइरहेको छ । 


काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना