संसद् र प्रदेशसभाका लागि ३३७ प्रकारका मतपत्र छापिने

काठमाडौँ, असोज १७ गते । निर्वाचन आयोगले २०७४ मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ सात गरी ३३७ प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले असोज १७ अर्थात्  मङ्गलबारबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको जनाएको छ । 

आयोगका प्रवक्ता नवराज ढकालले भन्नुभयो, “समानुपातिकतर्फको मतपत्र छपाइको तयारी पूरा भएको छ, मतपत्रको ढाँचालाई आयोगले स्वीकृत गरिसकेको छ र मतपत्रको छपाइ कार्य नेपाली सेनाको सुरक्षामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा हुनेछ । ”
एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभा सदस्य र तल्लो खण्डमा प्रदेशसभा सदस्यको मतपत्र रहनेछ । समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छपाइ गरिनेछ ।
मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटै मतपत्रमा दुई ठाउँमा मतदान गर्नेछ । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा ११० र प्रदेशसभा सदस्यमा सात प्रदेशमा गरी २२० जनाको चयन हुनेछ । Election-Commission-Nepal-768x411
प्रतिनिधिसभा सदस्यका लागि देशभरिलाई एउटै निर्वाचन क्षेत्र मानी ७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रका मतदाताले मन परेको एउटा राजनीतिक दललाई मतदान गर्नेछन् । त्यस्तै प्रदेशसभाको हकमा सम्बन्धित प्रदेशलाई एउटै निर्वाचन क्षेत्र मानी सात प्रदेशको समानुपातिक प्रणालीका लागि आफूलाई मन परेको दललाई मतदान गर्न सातवटा मतपत्रको ढाँचा तयार गरिएको छ ।
सोमबार जनक शिक्षा सामग्री केन्द्र पुग्नुभएका आयोगका उपसचिव देशबन्धु अधिकारीले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले समानुपातिकतर्फको मतपत्र हल्का रातो रङमा छापिने उहाँले बताउनुभयो ।
निर्वाचन चिह्न रहने कोठाहरू प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८८ र प्रदेशका लागि सम्बन्धित प्रदेशमा भाग लिएको दलहरूको सङ्ख्याअनुसार रहनेछ । निर्वाचन चिह्न राख्दा दुवै खण्ड (माथि र तल)को मतपत्रको बायाँबाट दायाँतर्फ क्रमशः १० वटा र माथिबाट तलतर्फ निर्वाचनमा भाग लिने सबै दलको निर्वाचन चिह्न अटाउने गरी निर्वाचन चिह्नहरू रहनेछन् ।
दलका निर्वाचन चिह्नहरू राख्दा निर्वाचन चिह्नहरूको क्रम प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ ले निर्दिष्ट गरेअनुसार हुनेछ । जसअनुसार अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलले संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा मतपत्रमा दलका चुनाव चिह्न क्रमशः रहनेछन् ।
समानुपातिक निर्वाचन प्रणालीका लागि झण्डै एक करोड ८० लाखको हाराहारीमा मतपत्र छापिनेछ । आयोगले मतदाताको सङ्ख्या केही दिनभित्रै यकिन हुने जनाएको छ । समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्द सूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशित भइसकेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश एकमा ८७, प्रदेश दुईमा ८६, प्रदेश तीनमा ८६, प्रदेश चारमा ८२, प्रदेश पाँचमा ८४, प्रदेश छमा ८२ र प्रदेश सातमा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने जानकारी आयोगलाई दिएका छन् ।
प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागिताअनुसार आयोगले सात प्रकारका मतपत्रको व्यवस्थापन गर्नेछ । समानुपातिकतर्फको मतपत्र आगामी कात्तिक ८ गतेभित्र छपाइ कार्य पूरा हुनेछ भने त्यसको लगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छपाइको काम सुरु गर्ने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि सोही आधारमा तयार गरिनेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रलाई आधार मानी मतपत्र तयार गरिने प्रवक्ता ढकालले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना