सवारी दुर्घटनामा सजगता

prem bdr thapaप्रेमबहादुर थापा

 

हामी आफ्नो अमूल्य जीवनलाई सुरक्षित राख्न चाहन्छौँ तैपनि दुर्घटनामा पर्न सक्छौँ । दुर्घटना आकस्मिक हुन्छ, जुन आफ्नो वा अरूको कारणबाट हुन्छ । यसै क्रममा परिस्थितिको अनविज्ञता, लापरबाही तथा विविध प्रतिकूलताले मानिस दुर्घटनामा पर्छ । दुर्घटना जुनसुकै समयमा र जहाँसुकै हुनसक्छ । त्यसैले जो–कोही हामी दुर्घटनाको संभावित खतराभित्र छौँ । विशेषतः चाडपर्वका बेला सवारी दुर्घटनाको संभावना बढी हुन्छ । यसमा ट्राफिक नियमको उल्लङ्घन, लामो दूरीमा एक्लो चालक, जीर्ण र साँघुरा सडकमा पनि हुँइक्याउने, अस्वस्थ प्रतिस्पर्धा, मोबाइलको प्रयोग लगायतका कमजोरी देखिन्छन् । त्यसैगरी अत्याधिक पुराना, रुग्ण र नियमित सर्भिसिङ नगरिएका सवारी साधन चलाउँदा दुर्घटना बढ्ने देखिन्छ । उचित शिक्षा, पर्याप्त तालिम नलिएका र कम उमेरका चालक, मादक पदार्थ सेवन, चाडबाडको बेला बढी यात्रु कोच्ने जस्ता प्रवृत्तिले पनि दुर्घटनाको सम्भावना बढाइरहेको छ । यी बाहेक सबैलाई गन्तव्यमा पुग्ने हतारो, स्कूल तथा बजार एरियामा पनि तीव्र गतिमा कुदाउने, यात्रुले फुत्त बाटो काट्ने, अत्याधिक खाल्डाखुल्डी, सडकको नियमित र व्यवस्थित मर्मत सम्भार हुन नसक्नु, कमजोर ट्राफिक व्यवस्थापन, आवश्यक ठाउँमा ट्राफिक सङ्केत नहुनु, फितलो कानुन तथा निरीक्षण व्यवस्थाजस्ता पक्षहरू दुर्घटना निम्ताउने थप कारक बनेका छन् ।
हामीकहाँ धेरैजसो सडक साँघुरा, सुरक्षा पर्खाल र सडकपेटी नभएका छन् । त्यसमाथि हरेक पल नयाँ सवारीको सङ्ख्या थपिँदै जान्छन् । नेपालीहरू सार्वजनिक यातायातभन्दा निजीमा यात्रा गर्न रुचाउँछौ । आफ्नै गाडी चढेर हुँइकिन पाएदेखि बडो आनन्द मान्ने । यसतर्फ मोह हुनेका लागि कम्तीमा पनि प्रति परिवार एउटा सवारी साधन आवश्यक पर्छ तर सार्वजनिक सवारीमा भने एउटा गाउँ वा नगरवासी लगायतका धेरै मानिसले यात्रा गर्न सक्थे । कम सवारी साधन चल्दा इन्धनको कम खपत हुन्थ्यो । वातावरणीय प्रदूषण कम हुन्छ । काठमाडौँ लगायतका ठूला शहर जहाँ अत्याधिक सवारी साधनको चापले हुने सडक जामको समस्या न्यूनीकरणमा समेत उचित टेवा पुग्ने थियो ।
नेपालमा राज्यको तर्फबाट सञ्चालित सार्वजनिक यातायातको सेवा नहुँदा निजी क्षेत्रको दबदबा छ । यस अर्थमा भन्नुपर्दा सार्वजनिक सवारी साधनहरूमा निजी क्षेत्रले मनोमानी रूपमा सिन्डिकेट व्यवस्था चलाइरहेका छन् र यसैकारण सरकारसँग कुनै किसिमका वार्तामा उनीहरूको हात सधँै नै माथि हुन्छ । चाडपर्वको बेला यात्रुहरू छत तथा ढोकामा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यसले पनि दुर्घटनाको संभावना बढाएको छ । फलस्वरूप नेपालमा हरेक वर्ष सवारी दुर्घटनाबाट १८ सयभन्दा बढी तथा १२ हजारभन्दा बढी मानिस घाइते हुने गरेको तथ्याङ्क छ । विश्वमा रोगव्याधिका कारणले भन्दा सडक दुर्घटनाका कारणले धेरै मानिसको ज्यान जाने गरेको तथ्याङ्कलाई न्यूनीकरण गर्न संयुक्त राष्ट्रसङ्घले सन् २०११ देखि २०२० सम्मलाई ‘विश्व सडक सुरक्षा दशक कार्ययोजना’ बनाई लागू गर्न आह्वान गरेको छ जसअनुसार नेपालले पनि ‘नेपाल सडक सुरक्षा कार्ययोजना सन् २०१३ देखि २०२०’ बनाई लागू गरेको छ । तैपनि योजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सडक दुर्घटना अपेक्षाकृत रूपमा न्यूनीकरण हुन सकेको छैन । ठूलो जनधनको क्षति हुनेगरी सवारी दुर्घटना हुँदा रोकथामका लागि चर्चा र बहस बन्छ तर ठोस कार्ययोजना अनुसार रोकथाममा प्रभावकारी कदम चाल्न नसक्दा धेरै नेपालीले अकालमा मृत्युवरण गर्नु परिरहेको कटु यथार्थ हो ।
सुरक्षित, भरपर्दाे र सहज रूपले गन्तव्यसम्म आवतजावत गर्न पाउनु सबैको अधिकार हो । सडक दुर्घटनालाई दिगो र प्रभावकारी रूपमा न्यूनीकरणमा भूमिका खेल्न सक्ने उपाय सुरक्षा शिक्षा हो । सुरक्षाको अर्थ कुनै पनि काम गर्नु पूर्व अपनाउनुपर्ने पूर्व सतर्कता हो, भने सो कार्यमा दुर्घटना हुन नदिनका लागि त्यसबारेमा प्रदान गरिने ज्ञान, सीप तथा अभिवृत्ति सुरक्षा शिक्षा हो । यो घाइतेको जीवन रक्षक हो, सबैको खुसीलाई दिगो र जीवन्त राख्ने कलात्मक उपाय हो । सुरक्षा शिक्षाले जेब्रा क्रसिङ, ट्राफिक नियम र पालना, संभावित दुर्घटना र यसबाट बच्ने उपायहरू जस्ता व्यवहारिक ज्ञान, सीप समेत प्रदान गर्छ । राज्यले यसतर्फ ध्यान दिएर उपयुक्त नीति निर्माणमार्फत् सुरक्षा शिक्षा र सुरक्षात्मक उपायहरू प्रदानको वातावरण सिर्जना गर्नुपर्छ । विद्यालय तहदेखि नै प्रभावकारी रूपमा सुरक्षात्मक शिक्षा दिने व्यवस्था गर्नुपर्छ ।
सडक दुर्घटनाको श्रृङखला दोहोरिन नदिन चालक तथा सहचालकलाई सुरक्षा शिक्षाको माध्यमबाट जागृत गराउनु पर्छ । सुरक्षा शिक्षाले उनीहरूलाई ट्राफिक नियमको पूर्ण पालनाका लागि इमानदार, अनुशासित र सभ्य बन्न सिकाउँछ । सुरक्षित यात्राको लागि मनोवैज्ञानिक रूपमा आत्मविश्वास वृद्धि गरेर जिम्मेवार बनाउँछ । यति हुँदाहुँदै पनि कहिलेकाहीँ आकस्मिक दुर्घटना पर्दा घटनास्थलमै उपलब्ध स्रोत र साधनलाई उपयोग गरेर जो कोहीलाई प्राथमिक उपचार गर्न आह्वान गर्छ । प्राथमिक उपचार दुर्घटनामा परेका व्यक्तिलाई सहयोग गर्न आफ्नो मानवीय दायित्व र नैतिकता ठानेर गरिने मानवतामा आधारित सहयोग हो । सुरक्षा शिक्षाले आफन्त वा विशेष नभनी सबैभन्दा गम्भीर घाइतेलाई पहिलो प्राथमिकता दिने सिद्धान्त अङ्गीकार गर्छ ।
नेपाली सडकमा भइरहेका सडक दुर्घटनालाई कम गराउन गर्न सकिने विविध उपायमध्ये सुरक्षा शिक्षा पनि एक हो । यस अन्तर्गत सुरक्षा शिक्षालाई चालकका लागि पूर्व सेवाकालीन तालिमको रूपमा विकास गरिनुपर्छ । सो तालिम उत्तीर्णले मात्र सवारी साधन अनुमतिपत्र आवेदन, अनि ट्रायल दिन पाउने व्यवस्था हुनुपर्छ । यसले सवारी चालक अनुमति पत्र वितरण प्रणालीलाई अझ वैज्ञानिक र व्यावहारिक बनाउँछ । साथै लाइसेन्स, ब्लूबुक चेकजाँच अनि जरिवानालाई अझ व्यवस्थित बनाइनुपर्छ । ट्राफिक प्रहरीले आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ भने सेवाग्राही वा सडक प्रयोगकर्ताले पनि उनीहरूलाई सहयोगी मित्रका रूपमा हेर्नुपर्छ । यसैगरी चालकले पनि सवारी साधन चलाउनुपूर्व ठीक अवस्थामा छ, छैन चेकजाँच गर्ने बानीको विकास गर्नुपर्छ । निकट भविष्यमै सबै प्रदेशमा एक दक्ष प्राविधिकसहितको ‘भेहिकल फिटनेस सेन्टर’ सञ्चालनमा ल्याइनुपर्छ । यसका अतिरिक्त मुलुकका सबै भागमा आफ्नो निजी सवारीभन्दा सार्वजनिक यातायातलाई प्राथमिकता दिने वातावरणको विकास सम्बद्र्धनका लागि राज्यले विशेष नीति तर्जुमा गर्नुपर्ने पनि देखिन्छ । यस्तै प्रत्येक वर्ष ‘राष्ट्रिय सुरक्षा शिक्षा दिवस’ जस्ता कार्यक्रम तथा प्रदर्शनीमार्फत् जनचेतना उजागर गर्नु पनि उपयोगी कदम हुनसक्छन् । यस्ता अभ्यासले चाडपर्वको बेलामात्र नभएर अघिपछिको सवारी यात्रालाई पनि सहज र प्रभावकारी बनाउँछ ।

 

 प्रकाशित मिति: २०७४/६/१७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना